१९ वर्षमुनिको एसिया कपमा आज नेपालले बलियो पाकिस्तानको सामना गर्ने 

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं । नेपाली युवा टोलीले एसिसी यू–१९ एसिया कपमा आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा सुरुहुनेछ । नेपालको कप्तान देव खनाल र पाकिस्तानको साद बेगले गर्नेछन् ।

नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन् । देवले पनि नेपालबाट १० ओडिआई खेल खेलेका छन् । देव र गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । गुलशन पछिल्लो एक वर्षदेखी टोलीमा निरन्तर छन् । एसिया कपमा भारत, पाकिस्तान साथै विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशविरुद्ध खेली सकेका छन् ।

Aakash_Tripathi_and_Dev_Khanal_against1697114283.png

पाकिस्तानविरुद्ध एसिया कपमा बाबर आजम, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह जस्ता विश्वस्तरिय खेलाडीविरुद्ध खेलेका थिए । त्यसैले आजको खेलमा नेपाल गुलशनबाट धेरै अपेक्षा गरेको छ । उनी पाँचौं नम्बरमा खेल्नुको साथै प्रमुख बलरको रुपमा खेल्नेछन् । गुलशनले जिम्मेवारी लिनुपर्ने हुन्छ ।

कप्तान देवले पछिल्लो ९ महिनामा नेपाली यू१९ टोलीमा तीन शतक हानेका छन् । नेपालबाट यू१९ मा तीन शतक हान्ने पहिलो खेलाडी हुन् । नेपाली ब्याटिङका भविष्य मानिएका देवले कप्तानी इनिङ खेल्नुपर्छ । अर्जुन कुमाल अर्का आशालाग्दा ब्याटर हुन् । यू१९ टोलीमा उनले पनि दुई शतक हानेका छन् । यू१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध १ सय ४३ रन बनाएका थिए ।

Gulsan jha1687419188.jpg

उता पाकिस्तानका अरफत मिन्हासले तीन टि२० आई खेल खेलेका छन् । उनी तल्लोक्रममा राम्रो ब्याटिङको साथै स्पिन बलिङ गर्ने गर्दछन् । बायाँ हाते खेलाडी उनले ठूला सर्टको क्षमता राख्छन् । त्यस्तै तीव्र गतिका बलर मोहम्मद जिशान र अरफत पाकिस्तानको टेस्ट टोलीमा परि सकेका छन् ।

गतवर्ष यी दुई खेलाडीले पाकिस्तानको टेस्ट टोलीमा स्थान बनाएका थिए । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न आजको खेलमा पाकिस्तानलाई हराउनु पर्ने हुन्छ । आज हारेको खण्डमा बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपालले उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ ।

नेपालको बलिङ आक्रामणमा गुलशन, आकाश चन्द र हेमन्त धामी तीव्र गतिका बलर हुनेछन् । स्पिनरमा दीपेश कँडेल र सुभाष भण्डारी हुनेछन् । पाकिस्तान श्रीलंकासँग पाँच एकदिवसीय खेल खेलेर आएको हो ।

नेपाल सिनियर टोलीसँग चार खेल खेलेर गएको छ । आइसिसी एकेडेमी ओभल तीव्र गतिका बलरलाई बढी सहयोग मिल्छ । हरियो दुबे बढी हुँदा बिहान पहिला ब्याटिङ गर्दा सम्हाल्लेर खेल्नुपर्ने हुन्छ ।
नेपालविरुद्ध खेल्ने पाकिस्तानको यू–१९ टोलीमा एक सिनियर टोलीबाट खेलेका खेलाडी 

नेपालको टोलीमा कप्तान देव खनाल र गुलशन झाले सिनियर टोलीबाट खेलेका छन् । पाकिस्तानको टोलीमा पनि एक खेलाडीले सिनियर टोलीबाट खेली सकेका छन् । १८ वर्षीय युवा स्पिन अलराउन्डर अरफत मिन्हासले पाकिस्तानबाट तीन टि२० आई खेल खेलेका छन् ।

दुई महिला अघि १९ औं एसियाली खेलकुदको क्रममा पाकिस्तानले दोस्रो रोजाईको टोली चीन पठाउँदा उनले खेल्ने मौका पाएका थिए । डेब्यू खेलमा हङकङविरुद्ध १६ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाउनुको साथै २ विकेट लिएका थिए । अफगानिस्तानविरुद्ध १३ रन बनाउँदा २ विकेट लिएका थिए ।

पाकिस्तानबाट उनले १० लिष्ट ए पनि खेली सकेका छन् । पाकिस्तानले श्रीलंकासँग पाँच यू१९ एकदिवसीय खेल खेलेको थियो । उक्त सिरिजमा अरफतले ८४, ९५, ३४, २ र ५७ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । उनले तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् ।

घरेलु क्रिकेटमा राम्रो छाप छाडेका छन् । आगामी दिनमा पाकिस्तानको स्पिन अलराउन्डरको रुपमा उनलाई हेरिएको छ ।
स्पिनर अली अस्फान्द र मोहम्मद जिशानले सिनियर घरेलु क्रिकेट खेलेका छन् । अलीले २ प्रथम श्रेणी, ११ लिष्ट ए र १० टि२० क्रिकेट खेलेका छन् । जिशान पाकिस्तानमा ठूलो सम्भावना बोकेका तीव्र गतिका बलर हुन् ।

अन्य कुनैपनि पाकिस्तानी यू१९ खेलाडीले सिनियर स्तरको क्रिकेट खेलेका छैनन् । पाकिस्तानले श्रीलंकासँग सिरिजको खेलसँगै नेशनल क्रिकेट एकेडेमी कराँची र ट्यालेन्ट हन्ट गरेर खेलाडी लिएर आएको छ । अफरत र जिशान पाकिस्तानको टेस्ट टोलीमा परि सकेका छन् । गत वर्ष तत्कालिन मुख्य छनोटकर्ता शाहिद अफ्रिदीले उनलाई टेस्ट टोलीमा मौका दिएका थिए ।

पाकिस्तानको यू१९ टोलीको मुख्य प्रशिक्षकमा पूर्व कप्तान तथा सफल ब्याटर मोहम्मद युसुफ छन् । पाकिस्तानका एक सर्वाधिक सफल ब्याटर युसुफले ९० टेस्ट र २ सय ८८ ओडिआई खेल खेलेका थिए । टेस्टमा २४ शतकका साथ ७ हजार ५ सय ३० रन बनाएका थिए । ओडिआईमा १५ शतकका साथ ९ हजार ७ सय २० रन बनाएका थिए ।

पाकिस्तानको कप्तानी साद बेगले गर्नेछन् । नेपालसँग खेल्नुअघि पाकिस्तान र दुबईको कन्डिसन धेरै मिल्ने उनी बताउँछन् ।

‘हामी खेलेर आएको र यहाँ कन्डिसन धेरै मिल्छ । धेरै मिहिनेतका साथ आएका छौं । त्यसलाई निरन्तरता दिने छौं । राम्रो नतिजा आउनेमा आशा छ । हरेक खेल महत्वपूर्ण छन् । आक्रामक क्रिकेट खेल्ने सोच हुनेछ । युसुफको नाम विश्वलाई थाहा छ । उनी हाम्रो ड्रेसिङ रुममा हुनु गर्वको कुरा हो’, नेपालसँग खेल्नुअघि पाकिस्तानी युवा कप्तान बेगले भनेका छन् ।

नेपालको टोली :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

पाकिस्तानको टोली :

साद बेग (कप्तान), अहमद हुसेन, अली अस्फन्द, अमिर हसन, अरफत मिन्हास (उपकप्तान), आजन अविस, खुबैब खलिल, नजिब खान, नविद अहमद खान, मोहम्मद हियाजउल्लाह, मोहम्मद तयाब आरिफ, मोहम्मद जिशान, शाहजैब खान, उबैद शाह र शामिल हुसेन ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार