भूकम्पप्रतिरोधी सम्पदा निर्माण गर्न निर्माणकर्मीलाई महानगरको तालिम 

नवप्रवेशीदेखि पाकासम्म सहभागी 
मंगलबार, मंसिर १९, २०८०

ललितपुर । गौतम महर्जनका बा पाटन दरबार क्षेत्रमा अवस्थित भीमसेन मन्दिर पुनर्निर्माण हुँदै गर्दा डकर्मीको रुपमा काम गर्न आएका थिए । त्यतिबेला, बासँगै आएका थिए, गौतम पनि । बासँगै काम गर्न आएका गौतमले अलि अलि काम गरे । काम गर्दा गर्दै के नपुगे जस्तो, के नपुगे जस्तो भएको रहेछ उनलाई त्यतिबेला । मन तुल्बुल तुल्बुल भई रहेकै बेला ललितपुर महानगरले भूकम्प प्रतिरोधी सम्पदा निर्माण गर्न इच्छुकलाई तालिम दिन लागेको थाहा पाए उनले । तालिम लिन आवश्यक प्रक्रिया पूरा गरेर आएका उनी सोमबार खुशी देखिन्थे । ललितपुर महानगरले निर्माणकर्मीहरुका लागि आयोजना गरेको भूकम्प—प्रतिरोधी सम्पदामैत्री भवन निर्माणका लागि आयोजना गरेको तालिमको एक सहभागी थिए उनी । ह्याबिटाट्स क्रिएसन्स प्रा.लिले सहजिकरण गरेको सात दिने तालिममा ३० जना निर्माणकर्मीहरुले तालिम लिइरहेका छन् । तालिममा आफूले जान्न खोजेको कुरा निर्धक्कसँग सिक्ने योजना बनाएका छन् गौतमले । भन्छन्, ‘यस्तो तालिमले क्षमता बढाउन सहयोग गर्छ, सिकेको कुरा व्यवहारमा उतार्छु ।’

WhatsApp Image 2023-12-05 at 06.18.541701747308.jpeg
ललितपुर महानगर वडा नं.११ का अनिश सिंह पनि निर्माणकर्मको ज्ञान लिन आएका हुन् । भन्छन्, ‘तालिमले यो क्षेत्रलाई पेशा नै बनाउन सहयोग गर्छ ।’ 
३० वर्षदेखि निर्माणकर्मीको रुपमा कार्यरत वडा नंं.१७ का सानु महर्जन पनि तालिमका सहभागी हुन् ।  अनुभवले खारिएका उनी नयाँ कुरा सिक्न र आफूले जानेको कुरा सिकाउन आएका हुन् । 
तालिममा निर्माणकर्ममा ४० वर्ष बिताएकादेखि नवप्रवेशी समेत सहभागी छन् । 
महानगर प्रमुख चिरीबाबु महर्जनले तालिमको उद्घाटन गर्दै भने, ‘महानगरले आयोजना गरेको तालिम मध्ये यो सतप्रतिशत उपयोगी तालिम हो ।’ यो तालिम अत्यन्तै महत्वपूर्ण भएको बताउँदै उनले झिँगटी छाउने तालिम पनि महानगरले छिट्टै आयोजना गर्ने बताए ।  तालिमका सहभागीलाई प्रेरित गर्दै उत्कृष्ट हुनेलाई प्रमाणपत्र सहित नगद पुरस्कार दिने पनि उनले बताए । 

WhatsApp Image 2023-12-05 at 06.17.401701747305.jpeg
सम्पदाविज्ञ तथा महानगर प्रमुखका सम्पदा सल्लाहकार डा.रोहित रञ्तिकारले यो तालिम सम्भवत नेपालमा पहिलो भएको दाबी गरे । उनले भने, ‘भूकम्प प्रतिरोधी भन्ने सुनिएको थियो, सम्पदालाई पनि जोडेर तालिम दिइएको थिएन ।’ घर निर्माणकर्तालाई भूकम्प प्रतिरोधी संरचनाका बारेमा बुझाउन निर्माणकर्मीको भूमिका महत्वपूर्ण हुने बताउँदै तालिमबाट सक्दो लाभान्वित हुन सुझाव दिए ।
शहरी योजना व्यवस्थापन समितिका संयोजक तथा वडा नंं.१३का वडाअध्यक्ष गणेश केसीले तालिम महत्वपूर्ण भएको बताए । ललितपुरभित्रका सम्पदा महानगरभित्रकै जनशक्तिबाट निर्माण गराउन अब सकिने उनको धारण छ । उनले भने, ‘यो तालिमले दक्ष जनशक्ति उत्पादन हुन्छन् , उहाँहरुबाटै महानगरको सम्पदा निर्माण हुन्छ अब ।’ उनले दत्तचित भएर तालिममा सहभागी हुन प्रशिक्षार्थीहरुलाई अनुरोध गरे । 
ललितपुर महानगर शहरी विकास योजना महाशाखाका प्रमुख हरिशचन्द्र लामिछानेले तालिममा नयाँ र अनुभवी गरी दुबै खालका जनशक्ति सहभागी भएको बताए । उनले भने, ‘तालिममा प्राविधिक विषयमा ज्ञान दिइन्छ, प्रयोगात्मक कक्षाको पनि व्यवस्था हुन्छ ।’ दुई चरणमा दिइने तालिम भूकम्प प्रतिरोधी सम्पदा निर्माण गर्न सहायकसिद्ध हुने लामिछानेको भनाई थियो । 
ह्याबिटाट्स क्रिएसन्स प्रा.लिका आर्किटेक इन्जिनियर पद्म सुन्दर महर्जनले तालिम सिक्ने सिकाउने थलो भएको बताए । 
अनुभवबाट खारिएका निर्माणकर्मीबाट धेरै सिक्ने सकिने उनको भनाई थियो । तालिममा प्राविधिक ज्ञान दिइने बताउँदै अनुभवबाट सिकेका कुरा आदानप्रदान गर्न प्रशिक्षार्थीलाई सुझाव दिए । उनले भने, ‘सानो जस्तो लाग्ने विषयलाई ध्यान दिएर गर्नुपर्छ । एकदम राम्रोसँग नाप्न देखि, निर्माण सामग्रीको मिश्रण बनाउनसमेत ध्यान दिनुपर्छ सावधानी अपनाउनुपर्छ ।’ ह्याबिटाट्स क्रिएसन्स प्रा.लिका आर्किटेक इन्जिनियरकी सविना तण्डुकारले अनुभव महत्वपूर्ण भएको बताइन् । तालिमले प्राविधिक विषयमा ज्ञान दिने बताउँदै अनुभव आदानप्रदानले तालिमलाई स्मरणयोग्य बनाउने प्रष्ट पारिन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार