४५ दिनमा अमेरिकाका १२ सहरमा अस्मिताको कन्सर्ट

सोमबार, मंसिर १८, २०८०

टेक्सस (अमेरिका) । चर्चित गायिका अस्मिता अधिकारीले अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । 'यूएसए फर्स्ट म्युजिकल यात्रा–भोल्युम वन’ नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सियाटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो ।
नेपालीको मुख्य पर्वहरुमध्ये दसैँ र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरु भएको कन्सर्ट नोभेम्बर २५ मा भर्जिनियामा समापन भएको थियो । 

अधिकारीले पहिलो पटक अमेरिकामा आफ्नो प्रस्तुति दिएकी हुन् । एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभएट प्रेजेन्स, प्लानेट थ्रीफिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेशनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए ।

आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्टहरू सम्पन्न भएका छन् । छोटो समयमा धेरै स्थानमा र विश्वस्तरीय कन्सर्ट स्थलहरूमा कार्यक्रम आयोजना भएका थिए । हरेक विकेन्डमा आयोजित कन्सर्टमा  नेपालीभाषी डायस्पोरा समुदाय, दोस्रो पुस्ताका नेपालीहरू र केही विदेशी नागरिकहरूको पनि सहभागिता थियो । 

अस्मिताको अमेरिका यात्रा अत्यधिक सफल र उत्कृष्ट रहेको प्रतिक्रिया प्राप्त गरेको आयोजकमध्ये एक शरद युवराज सिंहले बताए ।

‘यस क्षेत्रमा काम गरेको डेढ दशकभन्दा लामो अवधिको अनुभवमा हामीले गायिका अस्मितालाई कोमल आत्मा भएकी, मिलनसार, राम्रो संस्कारी र नेपाली डायस्पोरा समुदायलाई राम्रोसँग बुझ्ने व्यक्तिको रूपमा पायौं’, सिंहले भने ।

उनको कन्सर्ट आयोजना गर्न पाउँदा गर्व अनुभव गरेको उल्लेख गर्दै सिंहले नेपाललाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अझ नजिक्याउन अस्मिताले मद्दत गरेको विश्वास लिएको बताए ।

अस्मिताले पछिल्लो समयको चर्चित गीत ’काले केटाले’ सहित ‘टाढा भए पनि’, ‘मेसो मिलाएर’, ‘रमरम मरौटी’, ‘उता परेली झिमझिम भो’, ‘फूलै फूल दिन्छौ कि’ लगायत दर्जनौँ गीतहरूले दर्शक झुमाएकी थिइन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार