भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति हुँदैन : उपराष्ट्रपति

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति हुन नसक्ने बताएका छन् । भ्रष्टाचारविरुद्ध अभियानको २७औं वार्षिकोत्सव तथा अभियन्ता भरत जङ्गमको ७७औं जन्मोत्सव अवसरमा आयोजित सम्मान समारोह तथा युगपुरुष महाकाव्य सार्वजनिकीकरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशबाट गरिबी, बेरोजगारी र पछौटेपन हटाउन जरुरी रहेको भन्दै यादवले शिक्षाको माध्यमबाट जीवनको मूल्य पहिचान गराएर मानिसलाई नैतिकवान, चरित्रवान र व्यावहारिक आदर्शवान बनाउनुपर्नेमा जोड दिए ।
रिपोर्टिङ गर्ने कुरा सरल भए भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने उल्लेख गर्दै उनले भने, ‘यसका लागि बद्नियत सोच राख्नेहरुविरुद्ध बिना डर र त्रास जोकोहीलाई पनि सम्बन्धित निकायमा रिपोर्ट गर्न सक्ने अधिकार हुनु पर्छ । यसले भ्रष्टाचारलाई धेरै हदसम्म नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।’
भ्रष्टाचार मुलुककै लागि कलंक भएको भन्दै उपराष्ट्रपति यादवले यसलाई नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति, उन्नति र विकास कठिन हुने बताए । 
‘प्रत्येक व्यक्तिले भ्रष्टाचारको विरुद्धको कामलाई आफ्नो कर्तव्य ठान्न जरुरी छ’ उनले भने ‘सबैले आत्म समीक्षा गर्दै भ्रष्टाचारलाई जरैदेखि फाल्न आवश्यक छ । भ्रष्टाचारमुक्त समाज र देश निमार्णका लागि सुशासन, सदाचार र व्यवहारको प्रवर्द्धन गर्नु आजको प्रमुख आवश्यकता हो ।’

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार