चित्राको मूख्य भूमिकामा सन्तोष अधिकारी, पुस २७ गते रिलिज 

सोमबार, मंसिर ११, २०८०

पोखरा । पाँच वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा लगानी गर्दै आएका सन्तोष अधिकारी अभिनय मार्फत आउने भएका छन् । आमा, घर लगायतका सिनेमामा निर्माताको भूमिकामा काम गरिसकेका अधिकारी अभिनित सिनेमा “चित्रा” आगामी पुस २७ गते रिलिज हुँदैछ । सिनेमाको छायाँकन सकेर सम्पादनको काम भइरहेको अधिकारीले जानकारी गराएका छन् । 
चित्रा बाबुछोरीको कथा हो । पछिल्लो समय राजनीतिक विषयवस्तु नेपाली सिनेमामा हाबी भइरहँदा पारिवारिक विषयवस्तु समेटिएको चित्रा दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी देखिन्छ । एक्सन, ड्रामा र सामाजिक कथामा आधारित सिनेमा हर घरको कथा भएको अधिकारी बताउँछन् । अभिनयमा रुची भएकाले पनि आफु सिनेमाको पर्दा मार्फत आउन लागेको उनले बताए । 
“सिनेमामा अभिनय गर्ने रुची मेरो पहिले देखिको नै हो । व्यवसायिक व्यस्तताका कारण विगतमा मिलेन । निर्माता भएर विस्तारै यो क्षेत्रमा हात हाले । अब अभिनय मार्फत आउँदैछु । सबैको माया पाउनेमा विश्वस्त छु ।”, उनले भने । 
चित्राको मूख्य भूमिकामा नै सन्तोष छन् । जसका लागि आफुले धेरै मेहेनत गरेको उनले सुनाए । 
निर्देशक घनश्याम लामिछानेले चित्रा चल्ने प्रमुख आधार भनेकै कन्टेन्ट भएको बताए । बुबा छोरीको कथालाई दर्शकले रुचाउनेमा उनी आशावादी देखिन्छन् । आफुले निर्देशन गरेका यसअघिका सिनेमा भन्दा मेकिङका हिसाबले पनि चित्रा फरक बनेको उनले उल्लेख गरे । सन्तोष अधिकारीको अभिनयलाई लामिछानेले तारिफ गरेका छन् । पोखराबाट पनि काठमाडौंलाई टक्कर दिन सक्ने सिनेमा बनाउन सकिन्छ भन्ने विषयको गतिलो उदाहरण चित्रा बन्ने दाबी लामिछानेको छ । 
कास्कीको घाहचोक र पोखरामा छायाँकन गरिएको चित्रामा अधिकारी सँगै मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरल लगायतका कलाकारको अभिनय छ । 
आशिष थापा मगर चित्राका निर्माता हुन् । सन्तोष अधिकारी आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको सिनेमामा राजनराज शिवाकोटीको संगीत छ भने स्वरमा उनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् । चित्राको एक गीत “नगर है तानातान, नजरैको हानाहान...” सार्वजनिक भइसकेको छ । महेश पौडेलले छायाँकन गरेको सिनेमामा सम्पादनको भूमिकामा सन्देश शाह रहेका छन् । 
सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुली (श्री कृष्ण फिल्म्स) ले लिएका छन् । सिनेमाको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरलाई सुम्पिएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार