ह्वाट अ स्प्लेन्डिड म्यानेजमेन्ट

ह्वाट अ स्प्लेन्डिड म्यानेजमेन्ट : भारतमा फोहोर मोहोर बन्दै

तीन 'प्र' अर्थात प्रतिबद्धता, प्रविधि र प्रणाली 
मंगलबार, मंसिर ५, २०८०

ललितपुर । यात्रा मित्र राष्ट्र भारतका विभिन्न पाँचवटा सहरहरूको थियो । ती सहरहरूको असल अभ्यासअन्तर्गत फोहोर व्यवस्थापनलगायत स्मार्ट सिटीका अन्य अवयवहरूको अवलोकन र सिकाइ हाम्रो यात्राको मुख्य उद्देश्य थियो । 
भारत सरकारको निमन्त्रणामा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा पाँच सदस्यीय टोली भारत गएको थियो । टोलीमा वडा नंं. १४ का वडाअध्यक्ष अमृतजंग महत र नगर प्रमुुखका पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ हुनुहुन्थ्यो । 

viber_image_2023-11-20_14-05-07-6431700555753.jpg
दिल्ली, अहमदावाद, इन्दौर, पुने र गोरखपुरले आफ्नो सहरलाई स्मार्ट बनाउन गरेका धेरैवटा कामको अवलोकन गरे पनि यो टोलीको ध्यान फोहोर व्यवस्थापनमा नै केन्द्रित भएको थियो ।
नेपालमा सधैं चिन्ता र सुल्झाउन नसकिएको विषय बनेको फोहोरलाई भारतका ती सहरहरू (माथि उल्लेखित) ले कसरी व्यवस्थापन गरेका रहेछन् भन्ने विषयमा केन्द्रित भएर केही लेख्ने जमर्को गरेको छु । 

viber_image_2023-11-20_14-05-07-2871700555748.jpg
सहरका असल अभ्यास हेर्ने कार्यक्रमअन्तर्गत भारत गए लगत्तै  हामी दिल्लीको फोहोर प्रशोधन केन्द्र पुग्यौं । केन्द्रमा पुग्ने बित्तिकै त्यहाँका कर्मचारीले हामीलाई मास्क र टोपी दिए । मास्क र टोपी लगाएर फोहोर प्रशोधन केन्द्रको कुना काप्चामा पुग्दा हामीले एकै स्वरमा भन्यौं, ‘नेपालमा पनि यो संभव छ ।’
पब्लिक प्राइभेट मोडालिटीमा सञ्चालन भएको ‘आरइ सस्टेनिबीलिटी’ लिमिटेडले  सञ्चालन गरेको यो प्रशोधन केन्द्रबाट २४ मेगावाट बिजुली समेत उत्पादन भइरहेको रहेछ ।  यो केन्द्रले प्रशोधन गरेको फोहोरबाट कम्पोष्ट मल बनाइन्छ । प्लाष्टिकका सामान बनाउन आवश्यक कच्चा पदार्थ समेत यो प्रशोधन केन्द्रबाट उत्पादन हुन्छ । 

viber_image_2023-11-20_14-02-44-5971700555730.jpg
‘आरइ सस्टेनिबीलिटी’ लिमिटेडका उपाध्यक्ष डिपी सिंहका अनुसार वार्षिक २० हजार मेट्रिक टन कम्पोष्ट मल यो प्लान्टबाट उत्पादन हुन्छ । ५० किलोको मललाई २ सय ५० (भारु) पर्छ । फोहोरबाट बग्ने झोल ( लिचेत) को समेत केन्द्रमा प्रशोधन गरिएको छ । उक्त झोलबाट प्रशोधित भएर बनेको पानी बोटविरुवाका लागि प्रयोग गरिएको छ । दिल्लीको फोहोर प्रशोधन केन्द्र देखेर उत्साहित भएका हामी अहमदाबाद पिराना डम्पिङ साइट पुग्दा छक्क प¥यौं । चोभारको डाँडो जस्तै फोहोरको थुप्रो देखेपछि हामी सबैको मुखबाट एकैपटक निस्केको शब्द हो–ओहो । यो ५० वर्ष पुरानो डम्पिङ साइट हो । यो साइटमा फोहोरलाई फिल्टर गरी छुट्याइएको कच्चा पदार्थ सडक निर्माणका लागि प्रयोग भइरहेको छ । पिराना डम्पिङ साइटका प्रतिनिधिका अनुसार सिमेन्ट फ्याक्ट्रीका लागि आवश्यक पर्ने कच्चा पदार्थ समेत यो डम्पिङ साइटले उपलब्ध गराएको छ । त्यति मात्रै होइन, अहमदावादमा रहेको समरवती नदीको किनार ल्याडफिल गर्न समेत यहाँको माटो प्रयोग भएको छ । ८४ याक्टर लगभग अर्थात ६ सय रोपनी मध्ये ३५ याक्टरमा डम्पिङ भएको फोहोरको व्यवस्थापन भएको छ । अबको दुई वर्षभित्र यो डम्पिङ साइट खाली गरी विरुवा रोपेर अर्बान फरेस्टको रुपमा यो ठाउँलाई विकास गर्ने योजना रहेको छ । 
इन्दौर भारतको सफा सहर भन्ने विषय हल्काफुल्का रुपमा जानकारी थियो । सफा सहरको फोहोर कस्तो होला ? त्यहाँको फोहोर व्यवस्था कसरी भएको होला ? मनमा खुल्दुली त थियो नै । इन्दौर पुगेर फोहोर व्यवस्थापनमा भएको काम देख्दा भन्न मन लाग्यो—‘ह्वाट अ स्प्लेन्डिड म्यानेजमेन्ट ।’ 
इन्दौरमा फोहोरको बर्र्गीकरण जुन ठाउँमा फोहोर उत्पादन हुन्छ, त्यहाँबाट नै गरिन्छ । फोहोरलाई सुख्खा, चिसो प्लाष्टिकजन्य, इलेक्ट्रिक वेस्ट, मेडिकल वेस्ट गरी  ६ प्रकारमा छुट्याइन्छ । वर्गीकरण गरिएको फोहोरलाई वर्गीकरण गरे अनुसार नै छुट्टाछुट्टै संकलन गरिन्छ । अर्थात मिसाइँदैन ।

viber_image_2023-11-20_14-00-58-7441700555727.jpgतस्वीरमा देखाइएको जस्तै छुट्टाछुट्टै कन्टेनरसहितको छरितो साधन फोहोर संकलनको लागि पुग्छ । यसरी संकलन गरेको फोहोर डम्पिङ सेन्टरमा पनि छुटछुट्टै डम्प गरिँदो रहेछ । इन्दौर सहरलाई १० वटा क्षेत्रमा विभाजन गरी १० वटै कलेक्सन सेन्टर राखिएको छ । यी सेन्टरमा वर्गीकरण गरिएका फोहोर संकलन गरिन्छ । हामी पुगेको सेन्टरमा एकातिर पुराना जुत्ताको थुप्रो थियो, अर्कोतिर प्लाष्टिकका बोतल । यो सेन्टरमा फोहोर वर्गीकरण अझैं मिहिन तरिकाले भइरहेको थियो । त्यसपछि हामी इन्दौरमा रहेको भारतकै ठूलो बायो सिएनजी प्लान्ट गयौं । यहाँ पुग्दा फोहोरलाई साँच्चै मोहोर बनाएको प्रष्ट भयो । यो प्लान्टले फोहोरबाट ग्याँस उत्पादन गरेको छ । गाडी चलाउन र खाना पकाउन यो प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्याँस प्रयोग भएको त्यहाँका कर्मचारीले हामीलाई बताए । इन्दौर भारतकै सफा सहर बन्नुको मुख्य कारण फोहोरको वर्गीकरण फोहोरको स्रोत मै गर्नु हो । इन्दौरकै आरआरआर सेन्टर अर्थात रिड्युस, रियुज,र रिसाइकल सेन्टरमा पुग्दा फरक अनुभूति भयो । यो सेन्टरको मुख्य उद्देश्य आफूलाई काम नलाग्ने सामान अरुको प्रयोगका लागि उपलब्ध गराउनु रहेछ । यो सेन्टरबाट धेरै लाभान्वित भएको हामीले जानकारी पायौं । 
इन्दौरपछि हाम्रो यात्रा पुनेको थियो । पुनेमा हामीले २७ वर्ष अघिदेखि फोहोर थुपारिएको साइट, ‘ड्राइ बट मिक्स वेस्ट सेग्रिगेसन सेन्टर’ र पुने नगर बायो ग्याँस प्लान्टको अवलोकन ग¥यौं । पुनेको फोहोर व्यवस्थापन इन्दौरको भन्दा केही फरक थियो । हामी पुगेको डम्पिङ साइट र सेग्रिगेसन सेन्टर पुग्दा यो कुरा थाहा भयो । 

viber_image_2023-11-20_14-02-48-7181700555732.jpg
२७ वर्षअघिदेखि थुपारिएको २५ लाख टन फोहोर प्रोसेस गरेर त्यो ठाउँ खाली बनाउँदै लगिएको रहेछ । खाली हुँदै गएको ठाउँमा धूपीको विरुवा रोपिएको थियो । फोहोर थुपारिएको ठाउँ पार्कको रुपमा विकसित हुँदै गएको थियो । त्यहाँका एक कर्मचारीका अनुसार त्यस स्थानमा चहलपहल बढ्दै गएको छ । ‘ड्राइ बट मिक्स वेस्ट सेग्रिगेसन सेन्टर’ पुनेमा हामी पुगेको अर्को सेन्टर हो । यो सेन्टरमा सुख्खा तर मिसिएको फोहोरको वर्गीकरण गरिँदो रहेछ । म्याग्नेटिक, एयर र ग्रायाभिटी सेग्रिगेसनबाट मिसिएको फोहोरको वर्गीकरण गरिएको थियो । यसरी छुट्याइएको फोहोरमध्ये रिसाइकल गर्न मिल्नेलाई रिसाइकल सेन्टर पठाउने र अन्यलाई कम्पोष्ट बनाउने त्यहाँका कर्मचारीले बताए । यसपछि हामी पुने नगर बायोग्यास प्लान्ट पुग्यौं । यो प्लान्ट धेरै ठूलो प्लान्ट होइन तर यसको परिणाम निकै महत्वपूर्ण रहेछ । खानेकुराजन्य फोहोर (फ्ँयाकिएका खानेकुरा) को प्रयोगबाट निकालिएको बायो ग्यास नजिकैको मानसिक अस्पतालको भान्सामा खाना पकाउन लागि प्रयोग भएको रहेछ । यही प्लान्टबाट उत्पादन भएको ग्याँसबाट सडक बत्ती समेत बलेको थियो । मध्याह्नमा त्यो प्लान्ट हेर्न पुगेका हामीलाई सडक बत्ती बालेर त्यहाँका कर्मचारीले देखाए । त्यो बत्ती रातमा अझै चहकिलो बल्ने सुनेपछि मेरो मानसपटलमा राति अबेर काठमाडौंबाट बागमती पुल क्रस गरेर ललितपुर भित्रिएको क्षण निरन्तर आइरह्यो ।

viber_image_2023-11-20_14-00-55-7401700555730.jpgललितपुरलाई सम्झँदै गर्दै हाम्रो यात्राको पुग्नुपर्ने अर्को सहर गोरखपुर कस्तो होला ? यो प्रश्न मनमा मडारिरहेको थियो । व्यक्त नगरे पनि हामी सबै ‘फेस्टिब मुड’मा थियौं । गोरखपुर आइपुग्दा झमक्कै साँझ परेको थियो । गोरखपुरका सडकमा त्यहाँको बस्ती उत्रिएको थियो । अर्थात धन्तेश्वरका लागि किनमेल गर्न घरका सबै परिवार सडकको बजारमा थियो । साँझ छिप्पिएपछि ललितपुर महानगर प्रमुखले नेतृत्व गर्नु भएको हाम्रो टोली गोरखपुर म्युनिसिपल कर्पोरेसन (गोरखपुर नगरपालिका) पुग्यो । गोरखपुर नगरपालिका ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनको स्वागतको तीब्र प्रतिक्षामा रहेको त्यहाँको तयारीले व्यक्त गथ्र्यो । स्वागत कार्यक्रमसँगसँगै गोरखपुर म्युनिसिपल कमिस्नर गौरव सिंहले फोहोर व्यवस्थापनमा गरेको कामको फेरहिस्त लगाउँदा हामी सबै फेरि अर्को पटक छक्क प¥यौं । गोरखपुर मेडिकल हब हो । त्यसैले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि छुट्टै प्लान्टको व्यवस्था गरिएको रहेछ । त्यतिमात्रै होइन, पूर्वाधार निर्माणसँग  सम्बन्धित वेस्ट म्यानेजमेन्टका लागि पनि छुट्टै प्लान्टको व्यवस्था गरेको म्युनिसिपल कमिस्नर गौरवले जानकारी दिनुभयो ।  

viber_image_2023-11-20_14-03-26-7381700555743.jpg
यस पटकका लागि भारतको पाँचवटा सहरहरूको असल अभ्यास हेर्ने र सिक्ने कार्यक्रम गोरखपुर पुगेर समाप्त भएको थियो । पाँचै सहरले फोहोरलाई कुनै न कुनै रुपमा अर्थ अर्थात आम्दानीसँग जोडेका छन् । रोजगारीसँग जोडेका छन् । ‘फोहोर भनेको काम नलाग्ने कुरा हो’ भन्नेमा यी सहरहरु अल्झेका छैनन ।  फोहोरलाई कुनै न कुनै रुपमा पुन प्रयोग गरिएको छ । काठमाडौं उपत्यकाको लागि सधैं ‘टाउको दुखाई’को विषय बनेको फोहोर व्यवस्थापनका लागि काम गर्न पक्कै सकिन्छ । त्यसका लागि आवश्यक छ—सबै क्षेत्रको प्रतिबद्धताको । 

viber_image_2023-11-20_14-05-06-9441700555741.jpg
गोरखपुरबाट सुनौली हुँदै भैरहवा विमानस्थल आइपुग्दा मेरो मनको निक्र्यौल थियो—सरकारको प्रतिबद्धता, प्रविधि र प्रणाली अर्थात तीन ‘प्र’ का कारण भारतका यी सहरमा फोहोरको व्यवस्थापन शानदार तरिकाले भएको हो । विमानस्थल आइपुग्दा झमक्कै साँझ परिसकेको थियो । ११ दिनको अनवरत यात्राले शरीर थाकेको त थियो नै । धेरै दिन टाढा भएका प्रियजनसँग हुने मिलनको क्षणको प्रतिक्षामा मन रोमाञ्चित पनि त्यत्तिकै थियो । 
थकित शरीर र रोमाञ्चित मनसहित सुनौलीतिर फर्किएर मैले मनमनै भनेँ —‘ह्वाट अ  स्प्लेन्डिड म्यानेजमेन्ट ।’ 

viber_image_2023-11-20_14-05-07-0271700555744.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार