गोरखपुर (भारत) । ललितपुर महानगर प्रमुख चिरीबाबुले रातो मछिन्द्रनाथको जात्रा हेर्न गोरखपुरका मेयरलाई निम्ता दिदैं सहकार्य र अनुभव अदान प्रदान गरेर अघि बढ्ने बताएका छन् ।
गोरखपुरले फोहोर व्यवस्थापन, सडक सुरक्षा लगायतका विषयमा गरेको काम देख्दा आफू लोभिएको बताए ।
ललितपुर महानगर कला नगर भएको बताउँदै विश्वकला परिषद्ले विश्वको ३५ औं कला नगरीको रुपमा ललितपुरलाई घोषणा गरेको बताए । ललितपुर महानगर प्रमुख महर्जनले भने, ‘ एकपटक ललितपुर आउनुस्, हाम्रोमा भएको विकास सँगै बसेर हेरौंला । ’
गोरखपुरका मेयर डा.मंगलेश श्रीवास्तावले भारतलाई विश्वमा चिनाउने प्रख्यात व्यक्तित्व जन्माउने भूमि गोरखपुरमा ललितपुरका मेयरलाई स्वागत गर्न पाउँदा आफू हर्षित भएको बताए ।

उनले भने,‘ गोरखपुरमा घुम्ने थुप्रै ठाउँ छन्, तर एकदमै छोटो समय लिएर आउनुभयो, मलाई मन दुखेको छ । ’
ललितपुर प्रमुख महर्जनले गोरखपुरमा भएका धेरै काम ललितपुरका लागि अनुकरण योग्य भएको बताउँदै छिट्टै आउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने ‘ केही दिन बसेर धेरै विषय बुझ्ने मन थियो तर तिहार पर्व ढोकैमा आएकाले बसाई लामो बनाउन सकिएन ।’ गोरखपुर म्युनिसिपल कर्पोरेसनका म्युनिसिपल कमिस्नर गौरव सिंह सोग्रवालल फोहोर व्यवस्थापन, टा«फिक लाइट, ट्राफिक व्यवस्थापन लगायतका विषयमा कर्पोरेसनले गरेका कामहरु बारे जानकारी दिएका थिए ।
गोरखपुरमा धेरैवटा अस्पताल भएकाले अस्पतालबाट उत्पादन हुने फोहोर व्यवस्थापन राम्रोसँग गरेको बताए । उनका अनुसार निर्माण साम्रगीजन्य फोहोरहरुको व्यवस्थापन समेत राम्रो काम गरेको छ । सहरलाई सुन्दर बनाउन सुरु गरेका ६० वटा परियोजना मध्ये अधिकाशं सम्पन्न भइसकेको उनले जानकारी दिए ।

उनले भने, ‘ फोहोरको व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गइरहेको छ, वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्न हामीले क्यूआर कोर्डं मार्फत फोहोर संकलनको व्यवस्था गरेका छौं’ ललितपुर महानगरका प्रमुखको नेतृत्वमा गोरखपुर पुुगेको टिमलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रमुख लगायत शाखा, महाशाखाका पदाधिकारीहरुको सहभागी थियो ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन भारतका विभिन्न सहरहरुले गरेका असल अभ्यास, फोहोर व्यवस्थापन, स्मार्ट सिटीका अन्य अवयवहरुको बारेमा बुझ्न कात्तिक १५ गते भारत आएका हुन् । वडा नं. १४ का वडा अध्यक्ष अमृत जंग महत , पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठलगायत उनीसँग भारत भ्रमणमा छन् ।