युनेस्कोको ‘रचनात्मक सहर सञ्जाल’ मा जोडियो काठमाडौं

बुधबार, कात्तिक १५, २०८०

काठमाडौं । चलचित्र विधाबाट काठमाडौं युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क) मा जोडिएको छ ।  आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाले उक्त जानकारी दिएको हो । अन्तरक्रियामा महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प भएको भन्दै यसलाई छनोट गरेको बताइन् । 

Photo (13)1698852828.jpg
उनले भनिन्, ‘काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प रहेको हुँदा हामीले यसलाई छनोट गरेका हौं । हामी गीतमा पनि काम गर्छौ । हामीले काठमाडौंमा भएका मूर्त, अमूर्त सम्पदाहरुमा काम गरिरहेका छौं ।’
उनले युनेस्कोमा आवद्ध भएपश्चात फिल्मसँग सम्बन्धित उद्योगको संरक्षण गर्ने, सञ्चालन गर्ने र प्रवर्द्र्धन गर्ने योजनाहरु रहेको भन्दै यसबाट देशको आर्थिक अवस्था सुधारमा पनि सहयोग पुग्ने बताइन् । 


उनले भनिन्, ‘हामीले बनाएका योजनाहरुका लागि बजेट पनि छुट्याएका छौ । योसँग सम्बन्धित उद्योगको संरक्षण गर्ने, सञ्चालन गर्ने र अझ प्रवर्द्र्धन कसरी गर्ने भन्ने विषयमा पनि योजनाहरु बनाएका छौं । यसबाट नेपाललाई चिनाउने मौका पनि पाइन्छ, न्याशनल जिटिपिमा पनि यसको भूमिका र प्रभाव रहोस भन्ने पनि लक्ष्य लिएका छौं । रोजगारी सिर्जनाको लागि पनि यसले काम गर्ने विश्वास गरेका छौ ।’


रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौं महानगरपालिकाले चलचित्र विधा छानेको थियो । सीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी खानाका परिकार, मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधा छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो ।


सयभन्दा धेरै देशका ३५० सहर रचनात्मक सहर सञ्जालमा आवद्ध छन् । यसपटक ५५ वटा सहर थपिएका हुन् ।
रचनात्मक सहरमा आवद्ध हुन निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको थियो । सरोकारवालाबीच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पत्तिको नक्साङ्कनसहितका काम भइसकेका छन् । 

जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौंलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ । जात्रा, पर्व, मौलिक भेषभुषा, खानपान काठमाडौंसँग जोडिएर आउने बिम्ब हुन्। सहर भन्नेवित्तिकै मनमा आउने पहिलो चित्र यही हो ।
फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्नभिन्न सहरलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा हो । एउटा रचनात्मक सहरमा समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सदभाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुने पनि विश्वास गरिएको छ ।


चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षितवर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिनेछ ।
ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला सम्वर्द्धन, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ । 
चलचित्र स्टूडियो, पोस्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरु, उद्योगका विधागत सीप र सिकाइहरुलाई सञ्जालमा आवद्ध गरेर प्रवर्द्धन गरिनेछ । अभिलेख, पुस्तकालय र संग्रहालयको विकास हुनेछ । 
स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यमआकारका उद्यम सञ्चालन गर्न सहयोग गरिने साथै तथ्य तथ्याङ्क निर्माण गरिने जनाइएको छ । व्यन्जनकला र शिल्प, हस्तकला उद्योगको प्रवर्द्धन र मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिने जनाइएको छ ।
यसैगरी, अन्तरर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो जस्ता कार्यक्रम सञ्चालन गरिनेछ । यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नेछ । 

यसबाट अन्तर्राष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन् । सदस्य अन्तर्राष्ट्रिय नगरहरूमा विद्यार्थी कलाकार, अनुसन्धानकर्ता र साझेदारबीच ज्ञान, सिप र अनुभव आदानप्रदानको वातावरण प्रदान गरिने जनाइएको छ ।
युनेस्को क्रियटिभ सिटीज नेटवर्क (यूसीसीएन) कार्यान्वयनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार