आरती साहको विषयमा प्रभावकारी निर्णय गर्न जोड

बुधबार, कात्तिक १५, २०८०

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिकी सदस्य हर्कमाया विश्वकर्माले आरती साहको विषयमा समितिले संवेदनशील भएर सरकारलाई दबाब दिने हिसाबको निर्णय गर्नुपर्ने बताएकी छन् ।

आज बसेको समितिको बैठकमा उनले यस विषयलाई दबाबपूर्ण तरिकाले टुङ्गो लगाउने हो भने बैठक मात्रै बसेर केही नहुने भन्दै आन्दोलनमा रहेका परिवारमाथि दमन गर्ने प्रहरीहरुलाई निलम्बित गर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताइन् ।  

उनले भनिन्, ‘आरती साहको विषयमा महिला समिति एकदमै संवेदनशील छ र यो विषयमा सरकारलाई दबाब दिने हिसाबको ठोस निर्णय भयो प्रभावकारी हुनेछ । दमन गर्ने प्रहरीहरुलाई निलम्बित गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

यस्तै, उनले यो विषयलाई मन्त्रालयमा लिएर जाँदा पनि केही समाधान नभएको भन्दै समस्याको तत्कालै समाधान गर्नुपर्ने बताइन् ।

समिति सदस्य चन्दा चौधरीले यो विषयलाई सरोकारवालहरु र प्रधानमन्त्रीलाई पनि राखेर छलफल गरेर कार्यान्वयनमा जानुपर्ने बताइन् ।

उनले भनिन्, ‘आरती साहको केश महिनौं भइसकेको छ, यस्तो तरिकाले कुनै आन्दोलन भएको छ जस्तो लाग्दैन । प्रशासनको व्यवहार पनि राम्रो छैन । सबै सरोकारवालहरुलाई राखेर प्रधानमन्त्री पनि सँगै बसेर के गर्न सकिन्छ, दोषीलाई किन कारबाही नभएको भन्ने विषयमा छलफल गरेर छिनोफानो गर्नुपर्छ । दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनु पर्छ ।’

धनुषाको नगराइन ८ खिरखिरयाकी २५ वर्षीया आरती साहको हत्या भएको थियो । उनको माइती पक्षले दाइजोको कारण परिवारबाटै हत्या भएको जनाउँदै आएको छ । दोषीमाथि कारबाही गर्न उनका परिवारका सदस्य झण्डै तीन महिनादेखि आन्दोलनरत छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार