इजरायलमा मृत्यु भएका नेपालीको शव चाँडो ल्याउन सरकारको ध्यानाकर्षण

मंगलबार, असोज ३०, २०८०

काठमाडौं । प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले इजरायलमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । आज समितिको बैठकमा सभापति भानुभक्त जोशीले मृत्यु भएकाको परिवारलाई आवश्यक राहत दिने, बाँकी नेपालीलाई नेपाल फिर्ता ल्याउने र बझाङ्मा गएको भूकम्पप्रति ध्यानाकर्षण गराउने निर्णय भएको जनाए ।

Photo (3) (8)1697540663.jpg

उनले भने, ‘इजरायलमा मृत्यु भएका १० जना नेपालीको शव चाँडोभन्दा चाँडो नेपाल ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गराउने र परिवारलाई राहत दिने र त्यहाँ रहेका नेपालीहरू नेपाल छिटो फर्किन चाहन्छन् । उनीहरुलाई फर्काउन सरकारको ध्यानाकर्षण गराउने र बझाङ्मा गएको भूकम्पप्रति ध्यानाकर्षण गराउे निर्णय भएको छ ।’
यस्तै, उनले आन्दोलनरत बीबीएसका विद्यार्थीहरूको बारेमा सचिवालयले केही गृहकार्य गर्नुपर्ने भन्दै यसका लागि एउटा अध्ययन कार्य दल बनाएर विषयको अध्ययन पनि गर्नुपर्ने बताए । 

Photo (1) (11)1697540683.jpg

उनले भने, ‘डाक्टरमाथि हात उठाउन कोही कसरी बाध्य भयो, यसमा प्रशासनको गल्ती छ कि, यो बारेमा अध्ययन गर्नुपर्छ । समस्या कहाँबाट सुरु भयो त्यसको पनि अध्ययन गर्नुपर्छ । यस्ता घटनाहरु भएपछि डाक्टरहरुले देशव्यापी रुपमा ४–५ दिन सेवा बन्द गर्ने हो भने त्यसको असर कस्तो पर्छ होला ? यसमा एउटा एजेण्डा नै बनाएर छलफल गरेर अध्ययन कार्यदल बनाएर अगाडि बढ्नु पर्छ । त्यो अध्ययन कार्यदलले घटना कहाँबाट सुरु भयो र किन भयो भन्ने विषयको अध्ययन पनि गर्नुपर्छ ।’


युवा र खेलकुद क्षेत्रमा पछिल्लो समय प्रगति भए पनि सरकारको तर्फबाट र बजेटको हिसाबमा ओझेलमा परेको भन्दै यसमा सबैको धारणा समेटेर कार्ययोजना बनाउन पर्ने उनको भनाई छ । 


त्यस्तै, समिति सदस्य सुमना श्रेष्ठले आन्दोलित विद्यार्थीहरुको कुरा उठाउँदै विद्यार्थीहरुको समस्याको दिगो समाधानका लागि एउटा कार्यदल बनाएर स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्ने सुझाव दिएकी छन् । 
उनले भनिन्, ‘यहाँ बोलाएर छलफल त गरेका थियौ तर त्यसको दिगो व्यवस्थापन हुन सकेको छैन । त्यसका लागि पनि एउटा कार्यदल बनाएर स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयलाई निर्देशन दिने हो कि, त्यसको दिगो समाधानको लागि हामीले नै पहल गर्नुपर्छ ।’

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार