अपाङ्गता परिचयपत्र वितरणका लागि महालक्ष्मी नगरपालिकाको घर दैलो अभियान (भिडियो)

नगर उपप्रमुख लक्ष्मी महर्जन अवस्था अवलोकनका लागि वडा नं १० मा
बुधबार, असोज २४, २०८०

लाँकुरी भञ्ज्याङग(ललितपुर) । ललितपुरको महालक्ष्मी नगरपालिकाले वास्तविक तवरको अपाङगता परिचय पत्र वितरणका लागि घर दैलो अभियान थालेको छ ।  नगर उपप्रमुख लक्ष्मी महर्जनले सोही प्रयोजनका लागि नगरपालिकाको वडा नं १० का अपाङ्गता भएका ४ जना व्यक्तिहरूलाई उनीहरूकै वासस्थानमा गएर अवस्था अवलोकन गर्नु भएको छ ।
उपप्रमुख महर्जनले हिरालाल तामाङ (शारीरिक अशक्त), इन्द्रबहादुर तामाङ (देब्रे खुट्टामा समस्या), दीपक तामाङ (बौद्धिक अपाङ्गता) तथा ज्योतिमाया तामाङ (शारीरिक अशक्त)लाई उनीहरूकै निवासमा गई अवस्था अवलोकन गर्नु भएको हाे ।

apnang 31696997759.jpg
अपाङगता भएका व्यक्तिहरूको अवस्था अवलोकनका लागि नगर उपप्रमुख लक्ष्मी महजर्नसहित वडा नं १० का वडाअध्यक्ष विजय लामा, वडासदस्य बीरमान तामाङ, राजेन्द्र बिष्ट, नगरपालिकाको सामाजिक विकास शाखाकी ताराकुमारी केसी, विनिता शर्मा, लुभु प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.महेन्द्र पाण्डेसहितको टोली वडा नं १० गएको थियाे ।
अपाङगता भएका व्यक्तिहरूलाई परिचयपत्र दिनका लागि गरिएको परीक्षणमा चिकित्सकले धेरैको एकै खाले  प्रमाणपत्र दिएको तर अवस्था फरक रहेको सूचना आएपछि वास्तविकता पहिचानका लागि कार्य स्थलमै (घर दैलो) मै आएर अवलोकन गरेको नगर उपप्रमुख लक्ष्मी महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो ।

apanga 21696997790.jpg
चिकित्सकसहितको टोली तथा आफू स्वयम् पनि अवलोकनमा आउँदा अवस्था फरक पाएपछि उहाँहरुलाई वास्तविक परिचयपत्र उपलव्ध गराउँदै राज्यबाट दिने सेवा सुविधा सहज ढंगले उपलव्ध हुने वातावरण सिर्जना गर्ने उपप्रमुख महर्जनले बताउनुभयो ।
स्थलगत अवलोकनमा सहभागी १० नं. वडाका वडाअध्यक्ष विजय लामाले सबै अपाङगता भएका व्यक्तिलाई एकै पटक परीक्षण गराउँदा एकै खाले प्रमाणपत्र दिइएकाले उनीहरूको अवस्था परिक्षणका लागि नगरउपप्रमुखकाे नेतृत्वमा टोली आएको जानकारी दिनु भयाे । स्थलगत अवलोकनमा सहभागी वडा नं १० का वडा सदस्य बीरमान तामाङ तथा राजेन्द्र विष्टले अपाङगता भएका व्यक्तिहरूको अवलोकन–परीक्षण सहजीकरण गर्दै नगरउप्रमुखसहितको टोलीले स्थिति अवलोकन गरेपछि वास्तविक पक्ष पहिचान भइ वडावासीलाई सेवा दिन आफूहरूलाई सहज हुने प्रतिक्रिया दिनुभयो ।

apang 61696997685.jpg
स्थलगत अवलोकनका क्रममा नगर उपप्रमुख महर्जनले अपाङगता भएका व्यक्तिहरूसँग शारीरिक सवलता तथा दुर्बलताका बारेमा जिज्ञासा राख्नुका साथै अवस्था अनुसारकै परिचय पत्र प्राप्त हुने आश्वसन दिनु भएको थियो ।  त्यसक्रममा अपाङगता भएका व्यक्तिहरूको बहुपक्षिय दृष्टिकोणबाट अध्ययन अवलोकन गरिएको थियो । अवस्था एकिनका लागि चिकित्सकले शारीरिक कसरत समेत गराउनु भएको थियो ।
महालक्ष्मी नगरपालिकाले अपाङगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ जारी गरी सोही कार्यविधि अनुसार काम गर्दै आएको सामाजिक विकास शाखाकी ताराकुमारी केसीले बताउनुभयो ।

apanga1696997599.jpg
कार्यविधिले अपाङ्गता परिचय पत्र वितरण अघि उनीहरूको शारीरिक परीक्षण तथा अवलोकन गर्ने गरिन्छ । सरकारी चिकित्सकले दिने प्रमाणपत्रका आधारमा अपाङगता भएका व्यक्तिहरूलाई परिचय पत्र उपलव्ध गराउने कार्यविधिले किटानी गरेको छ ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अवस्था हेरेर चार प्रकारका परिचयपत्र उपलव्ध गराउँदै आएको छ । पूर्ण अशक्त व्यक्तिलाई क वर्गका राखेर रातो कार्ड दिँदै मासिक ३९९० भत्ता्, सहयोगीको सहायतामा दैनिक जीवन यापन गर्न सक्ने ख बर्गका निलो कार्ड प्राप्त अपाङगता भएका व्यक्तिलाई २१२८ रुपैयाँ भत्ता दिइने गरिन्छ । मध्यम स्तर ग बर्गको अपाङगता भएका व्यक्तिलाई पहेँलो कार्ड दिने गरिएको छ । उनीहरूलाई राज्यका मासिक भत्ता रकम उपलव्ध नगराए पनि सरकारी सेवा सुविधा निश्चित प्रतिशतमा छुटको व्यवस्था गरेको छ । यस्तै दैनिक काम आफैं गर्न सक्ने अपाङगता भएका व्यक्तिलाई सेता कार्ड (सामान्य घ वर्ग) उपलव्ध गराउँदै आएको छ । यो कार्ड वाहक अपाङगता भएका व्यक्तिलाई मासिक भत्ताको व्यवस्था नभए पनि सरकारी सेवा सुविधा उपभोग तथा  छात्रवृत्तिको सुविधासहित सहुलिय उपलव्ध हुनेछ । सोही वर्गकाले लोक सेवा आयोगबाट लिने अपाङगता कोटामा भिड्न पाउनेछन् । 
महालक्ष्मी नगरपालिका सामाजिक विकास शाखाकी विनिता शर्माका अनुसार नगरपालिका भित्र १५५ जना अपाङगता भएका व्यक्तिहरू सूचीकृत भएको जानकारी दिनुभयो ।
‘क’ बर्गमा ४० जना (२१ पुरुष–१९ महिला), ‘ख’ बर्गमा ७९ जना (३२ महिला–४७ पुरुष), ‘ग’ बर्गमा २८ जना (११ महिला–१७ पुरुष) तथा ‘घ’ बर्गमा १८ जना (८ महिला–१० पुरुष) रहेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार