मुस्ताङ यात्रा 

'मेयरज्यू हामी साँच्चै डराएनौँ, हामी त साहसी पो रहेछौं' 

मंगलबार, असोज २३, २०८०

ललितपुर । मुस्ताङ यात्राको बारेमा छलफल गर्नु थियो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनज्यूको कार्यकक्षमा छलफलका लागि वडा नंं २८ का वडाअध्यक्ष वीरेन्द्र दाइ र म गएका थियौं । नगर प्रमुखलाई भेट्न आउने जानेको क्रम निरन्तर चलिरहेको थियो । सबै भेटघाटलाई थाँती राखेर हामीसँग कुरा थाल्नु भएका नगर प्रमुखसँग हामीले भन्यौँ, ‘हामी त प्लेनमा नजाने, चार पाङग्रेमा जाने ।’ हाम्रो यो वाक्य टुङ्गिएकै थिएन । उहाँले भन्नुभयो, ‘डराएर हुन्छ र !, प्लेनमा जानुस्, सजिलो हुन्छ ।’

WhatsApp Image 2023-10-09 at 21.39.171696901392.jpegहामीले चार पाङग्रेमै जाने हाम्रो योजनालाई पूरा गर्न उहाँसँग थप कुराकानी ग¥यौं । हाम्रो कुरा र तर्क गम्भीरतापूर्वक सुनेपछि उहाँले भन्नुभयो, ‘त्यसो भए त ठीक छ ।’ आफैंले सवारीसाधन लिएर जानुको मुख्य उद्देश्य ठाउँ हेर्दैहेर्दै, बस्दैबस्दै जानु नै थियो । यात्रा, त्योे पनि हिमाली जिल्ला मुस्ताङको, हामी कम उत्साहित थिएनौं । यो पटकको मुस्ताङ यात्रा हामी सबैका लागि फरक थियो । हामी अतिथि भएर त्यहाँ पुग्दै थियौं । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनज्यूलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले प्रशासकीय भवन उद्घाटन र ‘कृषि तथा  पर्यटन महोत्सव—२०८०’ कार्यक्रममा विशिष्ट अतिथिको रुपमा निमन्त्रणा गरेको थियो । तर, छ महिना अघि नै कोरियाबाट आएको निम्तामा ‘टाइम बुक’ भइसकेकाले यो पटक नगर प्रमुखलाई मुस्ताङ जान मिलेन । वीरेन्द्र दाइ नगर प्रमुखको प्रतिनिधित्व गर्दै त्यहाँ जाँदै हुनुुहुन्थ्यो । यो अर्थमा मुस्ताङ यात्रा हाम्रो लागि विशेष र फरक थियो । 

स्कोरपियो इमान्दार, मौसम बेइमान 
मंगलबार(असोज १६) बिहान ११ बजे मुस्ताङको यात्रा तय गर्दै गुडेको स्कोरपियो निकै इमान्दार देखियो यात्राभर । मात्रै बैगुनी भयो, मौसम, सडक र पहिरो । करीब ३५ घण्टा गुड्दाको यात्रामा हामीलाई हाम्रो चार पाङग्रेले कहिँकतै धोका दिएन । नौबिसे सुरुङमार्ग नजिकै बन्दै गरेको सडकका कारण दुई घण्टा हाम्रो यात्रा अबरुद्ध भयो । धेरै नबोल्ने, बोल्दा विचार गरेर मात्रै बोल्ने वीरेन्द्र दाइसँग ‘बोलिरहनुपर्ने’ मलाई विषयहरूमा प्रवेश गर्न एक त धक लागिरहेको थियो भने अर्कोतर्फ पालिकाको कार्यक्रममा निर्वाह गर्नुपर्ने जिम्मेवारीबोध भइरहेको थियो ।

WhatsApp Image 2023-10-09 at 21.12.591696901446.jpegदुई घण्टे पट्यार लाग्दो ‘ब्रेक’लाई मुस्ताङ, पालिका, देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका बारेमा कुरा गरेर जसोतसो बितायौं । समय घड्की सकेकाले हाम्रो योजना बाटोमा धेरैपटक नरोकिने थियो । निरन्तर गुडिरहँदा र सडक अबरुद्ध भएर रोकिदाँ भने मेरो मनासपटलमा नगर प्रमुखले भन्नुभएको ‘डराएर हुन्छ, प्लेनमा जानुस्, सजिलो हुन्छ ।’ गुन्जिरहेको थियो । चार पाङग्रेमै गुड्ने टिमको निर्णयप्रति भने मनमा खेद थिएन । त्यो दिनका लागि हाम्रो मिसन पोखरा थियो । दुई घण्टे नौबिसेको जामले उज्यालोमै पोखरा पुग्ने हाम्रो लक्ष्यलाई चुनौती दिइसकेको थियो । चारपाङग्रे निरन्तर गुडिरहेको थियो, हिन्दी सदाबहार गीतले यात्रालाई संगीतमय बनाइरहेको थियो । दर्के झरीले मनमा धेरै पटक बाटो अबरुद्ध हुने त होइन भन्ने शंका उब्जाइरहेको थियो । मेरो मनमा उठेको यो शंका झरीले मंगलबार नै पूरा गर्न भने सकेन । बुधबार बेनी कटेपछि भने झरीले शंकालाई यथार्थमा परिणत गरिदियो ।

WhatsApp Image 2023-10-09 at 21.11.121696901462.jpeg
मुग्लिन पुगेपछि हामीलाई भोक लागेको महसुस भयो । एकैछिन रोकिने निधोमा पुगेका हामी सडक छेउकै चियाखाजा पसलमा पस्यौं । पसलमा सन्नाटा थियो । दुई चारवटा समोसा, पकौडा, चप फिजाएर राखिएको थियो । कामदार मोवाइल चलाइरहेका थिए । ती मध्येका एकजना सुकेको खुर्सानीलाई भाँचेर मसिनो बनाउँदै थिए । हामीले रोटी तरकारी खाने बताएपछि शायद साहुजी नै हुनुपर्छ उनी आफैैं तम्सिए रोटी पकाउन । रोटी पकाउँदै गरेकासँग मैले प्रश्नको पोको फुकाउँदै सोधेँ, ‘अचेल होटेलमा खाजा खान आउने छैनन् कि क्या हो ?’ ती साहुजीले बेलीबिस्तार लगाए । महिनौंदेखि होटेल जेनतेन चलिरहेको सुनाए । उनको होटेलमा एक हजारको खुद्रा पैसा समेत रहेनछ । पैसा साट्न तीनचार वटा पसल धाउनु परेको थियो । वरपरको होटेलमा पनि यसो आँखा डुलाएँ । सबैतिर उस्तै सन्नाटा थियो । होटेलका मेच टेबल खाली खाली थिए । त्यहाँका कामदार, मालिक मोवाइलमा व्यस्त देखिन्थे । आर्थिक मन्दीले बेस्करी गाँजेको अनुभव हुन्थ्यो । सरकारले मुलुकको खस्किएको अर्थतन्त्र लयमा फर्कँदैछ भनेपनि मान्छेसँग खर्च गर्न पैसा छैन भन्ने कुरा पुष्टि हुन्थ्यो । आगोमा फुक्क फुलाएको रोटी र चनाआलुको तरकारी हाम्रो खाजा बन्यो त्यो दिनको लागि । भनिन्छ नि, ‘फस्ट इम्प्रेसन इद द लास्ट’ हाम्रो यात्राको पहिलो खाजा नै गज्जबको भएकाले यात्राभरको खाना र खाजाले हामीलाई दुख दिएन । झट्टै बोली नहाल्ने वीरेन्द्र दाइलाई म बेलाबखत जबरजस्ती बोल्न बाध्य पार्थँे । यात्राका अन्य दुई सहयात्री दाइहरू रविन्द्र र श्रीराममध्ये, श्रीराम दाइ त झन पटक्कै बोल्नु हुन्न थियो । उहाँको त बोली फुटाउनै गाह्रो क्या । रविन्द्र दाइले बेला बेलामा गर्ने तर्कमा वडाअध्यक्षज्यूको खण्डनले यात्रालाई रमाइलो बनाएको थियो । पोखरासम्मको यात्राले एकअर्कामा सामान्य परिचित हामीलाई घनिष्ठ हुन सहयोग ग¥यो । पोखरा त्यसैपनि पानी पर्ने ठाउँ । देशैभर वर्षा भइरहँदा त्यहाँ नहुने कुरै भएन । झमझम पानी परिरहेको थियो । हामी लेकसाइड पुग्दा रातिको आठ बजेको रहेछ ।

घाँसापछि ‘फिलिली’ 
पोखरासम्मको यात्रा त हामी सबैका लागि सामान्य नै थियो । पोखराबाट बेनी हुँदै मुस्ताङ तर्फको यात्राले हामी रोमाञ्चित थियौं । त्यसो त जोमसोम– मुस्ताङको यो यात्रा हामी सबैका लागि पहिलो थिएन । दुईमहिना अघि त्यहाँ पुग्नेदेखि १५ वर्षअघि मुस्ताङ गएकासम्म हाम्रो टोलीमा थियौं । रातभरको पानीले हाम्रो मुस्ताङ यात्रा प्रभावित होला कि भन्ने संशय हामी सबैमा थियो । तर सबै संशयहरूलाई एकतिर थुपारेर बुधबार बिहान दर्के झरीमा हामी पोखराबाट बेनी हुँदै मुस्ताङतर्फ हानियाैँ । पानी दर्की रहेको थियो । आकाश खुल्ने छाँटकाँट थिएन ।

WhatsApp Image 2023-10-09 at 21.07.341696901596.jpegआशावादी र सकारात्मक हुँदै मुस्ताङ पुग्ने मिसन पूरा गर्न गुड्दै गयौं । श्रीराम दाइ पटक्कै बिचल्लित हुन हुन्थेन । वीरेन्द्र दाइको अनुहारमा भने मुस्ताङ पुगि हाल्न पाए हुन्थ्यो जस्तो हुटहुटी सजिलै पढ्न सकिन्थ्यो । बेनी पुगेपछि स्कोरपियोभित्रका हामी सबैले ‘बेनीको बजार जता माया उतै छ नजर’ बोलको गीत त सम्झियौं । तर यो गीत गुन्गुनाउने ‘मुड’ कसैको भएन । त्यसको कारण एउटै थियो निरन्तरको वर्षा, वर्षाको कारण जाने पहिरोले हुनसक्ने बाटो अवरोधका कारण यात्रामा पुग्ने बाधा । ‘पानी पर्न रोकिन्छ, पहिरो गएको छैन, मुस्ताङ हामी समयमै पुग्छौं’ सान्त्वनासहितको यी भाव मिसिएको वाक्यलाई मन्त्रै जस्तै बनाएर हामी अघि बढ्दै थियौं । बेनीबाट त्यस्तै १५ किलोमिटर अगाडि (मुस्ताङतर्फ) बढेपछि हाम्रो चारपाङग्रेमा पाँच घण्टाको लागि बे्रक लाग्यो । धैर्य र संयमता बाहेक हाम्रो लागि अरु कुनै विकल्प थिएन । चारपाङग्रे रोकिएको ठाउँ नजिकै लेदो पहिरो झरेका कारण सवारीसाधनको आवागमन रोकिएको रहेछ । पट्यार लाग्दा ती पाँच घण्टा हाम्रो लागि विषयवस्तुमा छलफल गर्न महत्वपूर्ण अवसर बन्यो । फेरि पनि बन्यो हाम्रो भोकको साहरा रोटी तरकारी र चिया । फूलबुट्टे कपको चिया कम्ती मिठो थिएन । भोक मिठो कि भोजन भन्छन् नि, रोटी र तरकारी मिठो हुनुको कारण यो पनि हो । बिहान पानी मात्रै पिएर हिँडेका हामीलाई ११ बजेतिर खाएको त्यो रोटी तरकारी बेलुका १० बजेसम्मका लागि बलियो तरान बन्यो । प्याजका टुक्रा र अकबरे खुर्सानीले झन स्वादिलो बनाएको थियो, त्या तरकारीेको झोललाई । एक प्रहरी जवानलाई चिया पसलको पिँडीमा उक्लिएको देख्ने बित्तिकै मैले सोधेँ, ‘सर जाम कतिबेला खुल्छ ?’ ती प्रहरीे जवानले दिएको उत्तरले यात्रा प्रभावित हुने संकेत पाएँ । ती जवानले भनेका थिए, ‘पानी दर्किरहेको छ, पानी पर्न नरोकिएसम्म पहिरो पन्छाउन मिल्दैन, ४–५ बज्ला जस्तो छ ।’ ती प्रहरी जवान त ‘ज्योतिष’ जस्तै रहेछन् । ठ्याक्कै ३ बजेर ४० मिनेटमा हाम्रो चारपाङग्रे गुड्यो ।

WhatsApp Image 2023-10-09 at 21.38.081696901399.jpeg जब गाडी गुड्यो, त्यसपछि मेरो मानसपटलमा १५ वर्ष अघिको मुस्ताङ पुग्ने बाटोको झल्झल्ती याद आयो । एकातिर कालीगण्डकीको खोँच, अर्कोतिर अजंगका फुस्रा पहाड, अनि साँघुरो बाटो । हाम्रो चारपाङग्रे गुडेको १५ मिनेट पनि भएको थिएन, हामीभन्दा केही मिटर अघि रहेको स्यान्ट्रो हिलोमा फसेको रहेछ । हामी फेरि रोकियौं । हामीभन्दा डेढ मिटर अगाडिको पहाडमा (देब्रेपट्टि) अड्किएको अजंगको ढुंगा सडकमा लामबद्ध भएका सवारीसाधनमाथि बज्रिन तयार थियो । हामी भाग्यमानी रहेछौं । २० सेकेण्डले त्यो ढुंगालाई हामीले छल्यौँ । त्यतिबेला हामीसँग कुनै उपाय थिएन भगवानको नाम जप्नु बाहेक । सान्त्वना र साहससहित हामी संयमित बन्यौं । हामीसँग त्यो बाहेक उपाय पनि के थियो र अरु । चारपाङग्रेबाट ओर्लौ, ओर्लेर कहाँ जाने ? एकतिर सुसेली रहेको कालीगण्डकी, अर्कोतिर अजंगको ढुंगा थामेर बसिरहेको पहाड । अगाडिबाट एक जनाले ‘ल ल गाडी गयो’ भनेपछि गुडेको हाम्रो चारपाङग्रेको अघिल्तिरको ऐनमा लेदो पहिरो थोरै प¥यो । त्यो ढुंगाबाट भने हामीले मुक्ति पायौं । मुस्ताङ पुग्ने म्याग्दीको बाटो धेरै नै अप्ठ्यारो हो । मुस्ताङको बाटो खासै अप्ठ्यारो रहेनछ । १५ वर्ष अघि जाँदा मैले जस्तो अनुभव गरेकी थिएँ सडक यात्रामा, अहिले पनि त्यस्तै भयो । साँघुरो सडक, पानी परेपछि त के चाहियो र । सडकको त दुर्दशा नै हुने रहेछ । हाम्रो उच्च मनोबलले धेरै सहयोग गर्‍यो, हतास नहुन । सडकको स्तरोन्नति नभएको भने होइन रहेछ । नदीको कटान र पहिरोको मारले मुस्ताङ पुग्ने म्याग्दी सडकको अवस्था खासै सुधार हुन सकेको रहेनछ । यो खण्डको सडक बलियो गरी बनाउन दुई वटा कुरा अत्यावश्यक देखेँ । पहिलो—वैज्ञानिक तरिकाले दक्ष र विज्ञ प्राविधिकको सल्लाह र निर्देशनमा सडक निर्माण गर्ने । दोस्रो—दृढसंकल्प र इच्छाशक्ति भएको सरकारले मुस्ताङ पुग्ने म्याग्दी सडक खण्ड समयसिमा तोकेर निर्माण थाल्ने । यी दुई बुँदामा केन्द्रित हुन सके मुस्ताङ पुग्ने म्याग्दीको सडकको यात्रा सहज हुन्छ, अन्यथा, त्यस्तै हो ।

WhatsApp Image 2023-10-09 at 21.09.401696901483.jpegतातोपानी, लेते, घाँसा, जोमसोम यी ठाउँ मुस्ताङको पर्याय जस्तै हुन् । घाँसा पुग्नै लागेका थियौं, हाम्रो चारपाङग्रे थोरै अस्वस्थ भयो । सडकको हिलोमा केही क्षण फस्यो । एक्कैछिन पछि त फेरि गति लिइहाल्यो । शान्त र नआत्तिने श्रीराम दाइको अनुहारमा देखिएको भावले अप्ठ्यारोमा छौ भन्ने भान मलाई परिहाल्यो । तर, त्यो अप्ठ्यारो लामो समयका लागि थिएन । त्यसैले, हामी सबैले लामो लामो श्वास लिएर भगवानको नाम पुका¥यौँ । वास्तवमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तिम क्षणतिर ‘आखिर श्रीकृष्ण रहेछ एक’ भनेर त्यसै भनेका होइन रहेछन् । मान्छेले अप्ठ्यारो पर्दा सम्झिने भनेको अखिर भगवान मात्रै रहेछन् । आफू जतिसुकै शक्तिशाली भएपनि अदृश्य शक्तिप्रतिको विश्वास नै जीवनको आधार हुनेरहेछ । केही मिनेट गुडेपछि हामी घाँसा पुग्यौँ । घाँसा पुग्दा अध्याँरो भइसकेको थियो । घाँसामा एकैछिन रोकिँदा म चियापसले बासँग भलाकुसारी गर्न पुगेँ । उनको बोलीले मलाई थप सहासिलो बनायो । उनले भने, ‘अबको बाटो त फिलिली, अप्ठेरो काटिसक्नु भयो ।’ ‘फिलिली’ त्यहाँ पनि  ‘कमन वर्ड’ रहेछ । उनको बोलीले हामीलाई ऊर्जा दियो । ती बाले भने झैं हामी पनि ‘फिलिली’ जोमसोम पुग्यौं बुधबार राति ९ बजेतिर । उता, जोमसोमबाट भने गाउँपालिकालका अध्यक्ष मोहनसिंहज्यूले हाम्रो यात्राको बारेमा खुब चासो र चिन्ता लिइरहनु भएको थियो । 

मोहनलाई मार्फाको माया 
घरपझोङ गाउँपालिकाको औपचारिक कार्यक्रम सकेपछि धुम्बक ताल र मार्फा जाने योजना बनाएका थियौं । धुम्बक ताल जोमसोमको ठिनी भन्ने ठाउँमा रहेछ । ठिनीलाई ठिमी बुझेर हामी जोमसोममा ठिमी खोज्दै हिड्यौं । जोमसोममा ठिमी खोजेर कहाँ पाउनु । भक्तपुरमा खोजेको भए पो हुन्थ्यो । ठिनीलाई ठिमी बुझ्ने हामी आफैंबीच हास्यँपात्र बनेका थियौं । धुम्बक तालमा लागेको हावाको कुरै नगरौं । मान्छे नै उडाउँला जस्तो । हावाबाट जोगिन र भोक मेटाउन तालसँगैकोे चियापसल पसेका थियौं । रोटी तरकारी नै खाने योजना थियो, तर, ती साहुनी दिदीले, ‘चाउचाउ मात्रै छ’ भनेपछि चाउचाउ रोजेका थियौं हामीले । चाउचाउ र अण्डा दिनभरको लागि गतिलो खाजा बन्यो ।

WhatsApp Image 2023-10-09 at 21.17.131696901423.jpegधुम्बक ताल धेरै ठूलो ताल होइन रहेछ । जोमसोम पुग्ने जो कोही पनि अचेल धुम्बक पुगेर फोटो खिचाउने रहेछन् । पोज पोजका फोटो खिच्न हामी पनि के कम थियौं र । धित मर्ने गरी खिचेको फोटो अहिले मोवाइल ग्यालरीमा प्रशस्तै छन् । धुम्बक तालबाट फर्कँदै गर्दा गाउँपालिकाका अध्यक्ष मोहनसिंहज्यूलाई मैले फोन गरेँ । उहाँलाई मार्फा जाने कुरा सुनाएँ । उहाँ एकदमै खुशी हुनुभयो । ‘त्यो त मेरो गाउँ हो नि, कफी पिएर मात्रै फर्कनुस् है’ उहाँको बोलीमा आफ्नो गाउँप्रतिको आत्मियता र अपनत्व झल्किए थियो । उहाँको गाउँको सम्मानमा हामीले मार्फामा कफी पियौँ । मार्फालाई स्याउको बगैंचा भनिन्छ । मार्फा छिर्ने बित्तिकै मार्फा प्यालेस किचन गार्डेनका साहुजीलाई मैले सोधेँ । यस्ता बगैंचा यहाँ कति वटा छन् ? उनले धेरै भएको जवाफ फर्र्काए । कति आम्दानी गर्नुुहुन्छ ? उनले भने, एक सिजनमा असी, नब्बे लाख । ठूलो बगैंचा हुनेले त तीन, चार करोड समेत कमाउने रहेछन् । उनले त्यसो भनिरहँदा काठमाडौंमा विदेशी स्याउ खोज्दै हिड्नेलाई सम्झेँ र धिक्कारेँ पनि । मुस्ताङको स्याउको प्रचारप्रसार र बजारिकरण गर्न नसकेकै कारण हामी विदेशी स्याउको खोजीमा भौतारिएका हौं । मुस्ताङे स्याउको खपत बढाउन सहर पिच्छे स्याउको प्रचारप्रसार आवश्यक देखेँ ।     
जलजला र ज्वज्वलपा
शुक्रवार (असोज १९) जतिसक्दो छिटो हामी पोखरा पुग्नु थियो । पोखरा पुग्न गुड्नुअघि मुक्तिनाथको दर्शन गर्ने हाम्रो ‘सेड्युल’ थियो । छिटो पोखरा पुग्न मुक्तिनाथ छिटो पुगेर छिटो फर्कनुपर्ने हुन्थ्यो । एकतिर ढिला हुँदा अर्कोतिर ढिला भै हाल्ने । बिहान सात बजे मुक्तिनाथ गुड्ने योजना मात्रै पन्ध्र मिनेटले ढिला भयो । हामी सवा सातमा जोमसोमबाट मुक्तिनाथ तर्फ गुड्यौं । धेरैजसो ग्राबेल (तर एकदमै सजिलो), थोरै पिच भएको सडक पार गरेर हामी जोमसोमबाट ४५ मिनेटमा मुक्तिनाथ पुगेका थियौं ।

WhatsApp Image 2023-10-09 at 21.05.551696901599.jpegमुक्तिनाथमा माग्नुपर्ने, भन्नुपर्ने विषय र कुरा केही थिएन । मान्छेहरु भगवानको दर्शन गर्न मन्दिर पुगेपछि ‘यो मागेँ, त्यो मागेँ’ भन्छन् । म त शून्य जस्तै हुन्छु । भन्ने कुरा केही छैन जस्तो लाग्छ, माग्नुपर्ने कुरा खासै छैनन् जस्तो भान हुन्छ । मुुक्तिनाथमा पनि त्यस्तै भयो मलाई । दर्शनपछि फेरि हामी जोमसोम हुइकियौँ । गाउँपालिका अध्यक्षसँग छोटो भेटघाट र भलाकुसारी गरेर मौका मिले फेरि भेटौंला भन्दै त्यही दिन १ बजे पोखराका लागि हाम्रो स्कोरपियो छुट्यो । सफा मौसम, कार्यक्रममा दमदार सहभागिता र प्रस्तुतिका कारण हामी त्यसै त्यसै पुलकित थियौं । बाटो राम्रो भए ६ घण्टामा पोखरा पु¥याउने वचन दिनु भएको थियो श्रीराम दाइले । उहाँले आफ्नो वचन पूरा गर्नुभयो । मौसम र चारपाङग्रेले उहाँलाई साथ दियो । जाँदा भन्दा आउँदाको यात्रा रमाइलो भएको थियो । विषय र प्रसंगमा वीरेन्द्र दाइले कुरा मिसाइदिँदा यात्रा अझै रमाइलो बन्थ्यो । स्कोरपियो गुडिरहेको थियो, पर्वत आइपुगेछौं, थाहै भएन । स्टेरिङमा हात भएका श्रीराम दाइको आँखा जलजला गाउँपालिकाको बोर्डमा पुगेछ । उहाँले जलजलालाई ज्वज्वलपा गाउँपालिका भन्नुभयो । हाम्रो चारपाङग्रेभित्र अट्टहास छुट्यो । ठिनीलाई ठिमी, जलजलालाई ज्वज्वलपा भन्ठानेपछि हामी जहाँ पुगेपनि आफ्नो ठाउँ र भाषालाई नबिर्सने रहेछौं भन्ने पुष्टि भयो । ठिनी र ठिमी, जलजला र ज्वज्वलपाले हाम्रो यात्रालाई निकै रमाइलो बनाएको थियो । पोखरा भित्रिदाँ झमझम पानी परिरहेको थियो । त्यसो त प्रत्येक मान्छे स्वार्थी हुन्छ, हामी पनि थोरै स्वार्थी बन्यौं । यो पानीसँग हामीलाई ‘बाल मतलब’ थिएन । किनकी हामी पोखरामा थियौं । मुस्ताङमै भएको भए, त्यो पानी हाम्रो लागि कति धेरै बेइमानी हुन्थ्यो होला । पानीलाई छिचोल्दै पोखराको लेकसाइड आइपुग्दा घडीमा आठ बजेको थियो । त्यतिबेला हाम्रो चारपाङग्रेमा कुछ ना कहाँे, कुछ भिना कहोँ, समयका ए पल धम्सा गया हे ...गीत बजिरहेको थियो । 

स्कोरपियो जस्तै हल्का भए .......
शनिबार हाम्रो लागि थोरै फुर्सदिलो बिहान थियो । मोवाइलमा फेसबुकको खाता पल्टाउने बित्तिकै वीरेन्द्र दाइको जन्मदिन भएको थाहा भयो । जन्मदिनको शुभकामना दिएर दिनको सुरुवात भयो । यो दिन हाम्रो लागि मुस्ताङ यात्राको समीक्षा गर्ने दिन थियो । पोखरादेखि काठमाडौंसम्मको यात्रा ‘मुस्ताङको साहसिक यात्रा’को समीक्षा गर्ने यात्रा बन्यो । सडक फराकिलो बनाउने काम तीब्र गतिमा भइरहेकाले कुनै ठाउँमा सडक धुलाम्य थियो भने कतै कतै जमेको पानीका कारण हिलो सडकलाई समेत हामीले फेरि बेहो¥यौँ । धुलो सडकमा ‘रोड वाटर स्प्रिङकलले पानी हालेको देख्दा हामीले अर्कोपटक ललितपुर महानगरपालिका सम्झियौँ । केही महिनाअघि मात्रै महानगर प्रमुखले महानगरको सडक सफा राख्न खरिद गरेको स्प्रिङकलको उद्घाटन गर्नुभएको थियो । हिलाम्य र धुलाम्य सवारीसाधन पखाल्न कुरिनटार कटेपछि पानीको फोहोराको व्यवस्था गरिएको रहेछ । झण्डै १० किलोमिटर टाढाको खोलाबाट पानी पाइपमा ल्याएर फोहोरा बनाएको त्यहाँ खटिने श्रमिकले सुनाए । हामीले मुक्तिनाथको एक सय ८ धारामा स्नान गरेजस्तै हाम्रो स्कोरपियोले त्यो फोहोरामा स्नान गर्‍यो ।

WhatsApp Image 2023-10-09 at 21.12.591696901446.jpeg
१०८ धारामा नुहाएपछि हामीले जस्तो चंगा र हल्का महसुस गरेका थियौं, चारपाङग्रे पनि पखालेपछि चलाउँदा हलुंका भएको थियो रे श्रीराम दाइले भन्नुभएको । शरीर नुहाएपछि चंगा भएजस्तै, चारपाङग्रे पखालेपछि हलुका भएजस्तै सम्बन्धमा देखिने चिसोपन, मनमा पलाएको एक अर्काप्रति तुषपनि मन माँझेर कुरा गर्दा जाने भए कति जाति हुन्थ्यो होला । समयसँगै त्यो चिसोपन न्यायोपनमा परिणत हुने भए क्या गज्जब हुन्थ्यो होला । मेरो मनमा यस्तै यस्तै कुरा खेलिरहेको थियो, नागढुंगा पो आइसकेको रहेछ । महादेववेसी (नौबिसे नजिकै) माइती भएकी मेरी हजुरआमा भन्नुहुन्थ्यो, ‘नागढुंगा पसेपछिको हावा नै अर्को हुन्छ ।’ शायद मैले पनि त्यस्तै अनुभव गरेँ । अनि, भगवान सम्झेँ  । थानकोट, कलंकी हुँदै ललितपुर प्रवेश गर्दा ललितपुर महानगर प्रमुखले भन्नु भएको त्यो वाक्य मैले फेरि सम्झेँ । उहाँले हामी मुस्ताङ जानुअघि भन्नुभएको थियो, ‘डराएर हुन्छ, प्लेनमा जानुस्, सजिलो हुन्छ ।’ उहाँलाई मैले मुस्ताङबाट फर्केपछि भनेँ, ‘मेयरज्यू हामी साँच्चै डराएनौँ, हामी त साहसी पो रहेछौं ।’ 

WhatsApp Image 2023-10-09 at 21.11.121696901462.jpeg

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार