महालक्ष्मीका किसानलाई निःशुल्क जै घाँस वितरण (भिडियो)

बुधबार, असोज १७, २०८०

लुभु (ललितपुर) । महालक्ष्मी नगरपालिकाले पशु पालनमा आवद्ध किसानलाई जै घाँसको बीउ निःशुल्क उपलव्ध गराएको छ । महालक्ष्मी नगरपालिकाको पशु सेवा शाखाले नगरपालिका वडा नं ९ का पशुपालक किसानलाई लक्षित गरी जै घाँसको बीउ उपलव्ध गराएको हो । लामाटारस्थित पशुसेवा शाखाबाट आज बुधबार ९४ जना किसानले जै घाँसको बीउ लिएका छन् । 
आज वडा नं ६, ७, ८ र ९ नं वडाका कृषकहरूलाई बीउ वितरण गरिएको हो । बीउ वितरण कार्यक्रम २१ गते सम्म नै जारी रहने पशु सेवा शाखाका शिवलाल अधिकारीले शब्दपाटीलाई जानकारी दिनुभयो । 
नगरपालिकालेको पशु सेवा शाखाले नगरपालिका भित्र पशु पालन कार्यमा सहभागी ४५६ जना किसानलाई लक्षित गरी घाँसको बीउ उपलव्ध गराउने योजना बनाएको छ ।
आर्थिक वर्ष ०८०÷०८१ को नगरपालिकाको पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउँदे जै घाँसको बीउ वितरण गरिएको हो । शाखाले हिजो वडा नं १० को कार्यालयमा बीउ वितरण गरेको थियो । शाखाले यो वर्षको स्वीकृति कार्यक्रम भित्र रहेर ३१५० केजी घाँसको बीउ उपलव्ध गराउने योजना बनाएको छ । 
प्रत्येक वर्ष हिउँदको समयमा पशुपालक किसानलाई घाँसको अभाव हुने हुँदा त्यति बेला किसानलाई सहज होस भनेर बीउ उपलव्ध गराइएका अधिकारीले जानकारी दिनुभयो । 
किसानलाई जै घाँस वितरण समारोहकी प्रमुख अतिथि नगर उपप्रमुख लक्ष्मी महर्जनले किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले सानै भएपनि सहयोग गरेको भन्दै यसलाई सदुपयोग गर्न आह्वान गर्नुभयो । 
कार्यक्रमका सभापति एवम् वडा नं ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीले महालक्ष्मी नगरपालिकाको ९ नं वडा पशुपालन गर्ने किसानको बसोबास स्थल रहेको जनाउँदै पशुपालनको संख्या हेरेर बीउ उपलव्ध गराइएको जानकारी दिनुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पशु सेवा शाखाका शिवलाल अधिकारीले नगरपालिकाले निःशुल्क उपलव्ध गराएको बीउलाई जगर्ने गरी अर्को वर्षलाई आफैं बीउ उत्पादन गर्नेतर्फ उन्मुख हुन आह्वान गर्नुभयो । 
किसानलाई निःशुल्क जै घास वितरण समारोहमा वडा नं ९ का निर्वाचित जनप्रतिनिधि, कार्यापालिका सदस्य, तथा नगरपालिकाका कृषि, स्वास्थ्य शाखाका कर्मचारीहरूसहित स्थानीयको उपस्थिति रहेको थियो । 
यसैबीच पशु सेवा शाखाले रेबिज डेको सन्दर्भ पारेर नगरपालिका वडा नं ४, ५, ६, ७ मा रहेका ५५१ वटा सामुदायिक कुकुरहरूलाई रेविजविरुद्धको सुई लगाएको शाखाका शिवलाल अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार