इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु, १५० बढी घाइते 

बुधबार, असोज १०, २०८०

काठमाडौं । इराकको उत्तरी निनेभेह प्रान्तमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।  स्थानीय अधिकारी र आपतकालीन सेवाका अनुसार लागलागीमा परी ठूलो मानवीय क्षति भएको छ । निनेभेहका डेपुटी गभर्नर हसन अल–अल्लाकले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘अहिलेसम्म ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’ स्थानीय समयअनुसार मंगलबार राति करिब १०ः४५ बजे (१९ः४५ जिएमटी) आगलागी सुरु भएको बताइएको छ ।
निनभेहका प्रान्तीय गभर्नर नाजिम अल–जुबौरीले बुधबार बिहानसम्म आगलागीबाट हतातती हुनेको यकिन तथ्याङ्क आइनसकेको बताए । उनले मृत्युकको संख्या बढ्न सक्ने बताए । इराकको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले भने, ‘दुर्भाग्यपूर्ण दुर्घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन प्रयास भइरहेको छ ।’
इराकको आधिकारिक आइएनए समाचार एजेन्सीले सो प्रान्तको हम्दानियाह जिल्लाको एउटा कार्यक्रम हलमा भइरहेको विवाह समारोहमा आगलागी हुँदा १५० जना घाइते भएको बताएको थियो । हम्दानियाह राजधानी बगदादको उत्तरपश्चिममा लगभग ४०० किलोमिटर (करिब २५० माईल) उत्तरी शहर मोसुलको बाहिर रहेको छ ।
इराकको नागरिक रक्षाको प्रारम्भिक रिपोर्टहरूअनुसार उत्सवको समयमा प्रयोग गरिएको आतिशबाजीका कारण लागलागी भएको हुन सक्छ ।  ‘प्रारम्भिक जानकारीअनुसार विवाहको समयमा आतिशबाजीको प्रयोग भएको देखिएको छ, जसले हलमा आगो लाग्यो,’ नागरिक रक्षा अधिकारीहरूले बुधबार बिहान जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।
अल जजीराका महमूद अब्देलवाहेदले बगदादबाट रिपोर्ट गर्दै भने, ‘इराकमा विवाह समारोहहरूमा आतिशबाजी गर्नु सामान्य विशेषता हो र आगलागी हुँदा करिब एक हजार मानिसहरू उत्सवमा उपस्थित थए ।’
कार्यक्रम हलको निर्माणमा प्रयोग गरिएको अतिप्रज्वलनशील सामग्रीले आगो दन्कनका लागि मद्दत पु¥याएको थियो । अब्देलवाहेदले भने, ‘भवनमा आपतकालीन निकासहरूसहित उचित सुरक्षा उपायहरू उपलब्ध थिएन ।’
इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले आगलागीको छानबिन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले देशका आन्तरिक र स्वास्थ्य अधिकारीहरूलाई राहत उपलब्ध गराउन भनेको उनको कार्यालयद्वारा जारी अनलाइन विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार