सबैको भावना समेटेर विद्यालय शिक्षक विधेयक परिमार्जन गर्नुपर्छ : लेखक

मंगलबार, असोज ९, २०८०

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले सबैको भावना समेटेर संसदमा दर्ता भएको विद्यालय शिक्षकसम्बन्धी विधेयकलाई परिमार्जन गर्न नेपाली काङ्ग्रेसले भूमिका खेल्ने बताएका छन् ।
आज शिक्षक र नेपाली काङ्ग्रेसको संसदीय दलबीच भएको छलफलपछि उनले सबै शिक्षकहरूको माग शिक्षा विधेयकलाई समृद्ध बनाउने भएको भन्दै यसलाई परिमार्जन गरेर लाने बताए ।
उनले भने, ‘सबैको धारणा सुनेर यो विधेयकलाई समृद्ध गर्नको लागि, परिमार्जन गर्नको लागि के के आवश्यक हुन्छ त्यो सुझाव लिने र यसमा सबैको भावना समेटेर परिमार्जन गर्छौ । शिक्षा विधेयकलाई समृद्ध बनाउने कुरा भएको हुनाले नेपाली काङ्ग्रेसको तर्फबाट सांसदमा यो विधेयकलाई परिमार्जन गर्न भूमिका निर्वाह गर्छौं ।’
शिक्षाको क्षेत्रमा काम गरिरहेका २० वटा संस्थाहरूका २३ जना वक्ताहरूले आफ्नो धारणा राख्नु प्रस्तुत गरेको भन्दै यसलाई विशेषज्ञ र विधेयक बनाउँदा संलग्न  विज्ञहरूसँग बसेर पनि छलफल गर्ने बताए ।
उक्त छलफलमा बाल विकास शिक्षककी केन्द्रीय वरिष्ठ सहअध्यक्ष अम्बिका सुवेदीले ढलानबाट काम गरेर जगलाई कमजोर बनाउने प्रयास यो विधेयकले गरेको भन्दै यो मान्य नभएको बताइन् । 
उनले महासंघले पनि वार्तामा आफूहरूका मागहरू नराखेर घुमाउरो तरिकाले बाहिर राख्न खोजेको गुनासो गरिन् ।
उनले भनिन्, ‘नेपाल शिक्षक महासंघले आह्वान गरेको आन्दोलनमा समावेश भएको छौं । महासंघले हाम्रो मागको बारेमा बोल्छांै भनेको थियो तर वार्तामा जाने क्रममा हाम्रा कुराहरू राख्नु भएन,  हामीलाई घुमाउरो तरिकाले बाहिर राख्न खोज्नु भएको छ । यो हामीलाई मान्य छैन । विद्यालयको जग बालबिकास भन्ने अनि काम भने ढलानबाट गरेर जगलाई कमजोर बनाउने प्रयास यो विधेयकले देखाएको छ । यो मान्य हुँदैन ।’
यस्तै, नेपाल शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले पनि नेपाल शिक्षक महासंघले अझै खेल खेलिरहेको भन्दै त्यस्तो कार्य बन्द गर्न चेतावनी दिए । 
उनले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नका लागि अहिलेसम्म कुनै पार्टीले नगरेको काम नेपाली काङ्ग्रेसको संसदीय दलले गरेको भन्दै धन्यवाद व्यक्त गरे । 
उनले भने, ‘सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नका लागि अहिलेसम्म कुनै पार्टीले नगरेको काम नेपाली काङ्ग्रेसको संसदीय दलले गरेको छ । नेपाली काङ्ग्रेसका सभापतिले शिक्षकहरूको माग छिटो सम्बोधन गर्नका लागि निर्देशन दिनु भएको छ । तर नेपाल शिक्षक महासंघले अझै खेल खेलिरहेको छ ।’
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार