भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले, राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको व्यक्तित्व र योगदानलाई चीरस्मरणीय बनाउन भक्तपुरको कटुञ्जेमा निर्माण गरिएको गणेशमान बाटिकामा रहेको सिंहको पूर्णकदको शालिक मंगलबार अनावरण समारोहमा उनले राजनीतिलाई सत्ता र शक्तिको साधन होईन्, राष्ट्र निमार्णको लागि जीवन समर्पित गर्ने कर्म हो भनेर वर्तमान र भावि पुस्तासम्म पु¥याउनु पर्ने बताएका हुन् ।

स्वर्गीय सिंहको जीवन दर्शनको सन्देश नै निष्ठाको राजनीति भएको बताएका उनले भने ‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन वचन र कर्मले गणेशमान सिंहले निर्वाह गर्नुभएको काम सबैका लागि प्रेरणा बन्ने छ । ’
कठिन समयमा पनि, लोकतन्त्रको पक्षमा उभिएका सिंहकै जीवनबाट आफूहरुलाई पनि क्रान्तिमा लाग्न र लोकतन्त्रका पक्षमा लड्न प्रेरणा मिलेको उनको भनाई छ ।
राष्ट्रपति पौडेलले लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाएर गणेशमान सिंहले देखाएको बाटोमा हिड्न सक्यौ भनेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले भने, “त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमानजीले निर्वाह गर्नुभएको काम सबैका लागि सँंधै प्रेरणा बन्नेछ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन राष्ट्रनिर्माणको लागि जीवन समर्पित गर्ने आदर्श, त्याग र निष्ठाको निष्काम कर्म हो भनेर प्रमाणित गर्ने गणेशमानजीको यही जीवन दर्शनको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ ।”
गणेशमानजीसँगको साथ र सान्निध्यता जुन मैले मेरो राजनीतिक जीवनमा पनि पाएँ र जुन आज मेरो स्मृतिमा पनि ताजै छन्, त्यसले आफूलाई सदैव सत्य, निष्ठा र आदर्शको बाटोमा हिड्न अभिप्रेरित गरिरहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

नेपालमा २००७ सालको क्रान्तिले एक सय चार वर्ष लामो मध्ययुगीन बन्द समाज र जहानीयाँं शासनको अन्त्य गरेसँगै प्रजातान्त्रिक युगको प्रारम्भ भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सातदेखि सत्र सालको दशक प्रजातन्त्र पल्लवित पुष्पित हुँदै नेपाललाई सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणसहित आधुनिक युगतर्फ डोर्याउने एउटा ऐतिहासिक कालखण्ड पनि थियो भने । “तर, सत्र सालको कू ले यो प्रगतिशील बाटोमा अवरोध सृजना ग¥यो । परिणामत तीस वर्षे लामो पञ्चायतको एक दलीय निरंकुश शासनमात्र होइन गरीवी, अशिक्षा र पछौटेपनको एउटा बन्दसमाजबाट फेरि नेपालीहरूले गुज्रन बाध्य हुनुप¥यो”, उनले भने ।
राणा र पञ्चायतजस्तो जहानीयाँं तथा एकदलीय शासन व्यवस्थालाई जरैसँंग उखेल्ने कठिन र दुरुह संघर्ष अनि त्याग र बलिदानका कैयौ कष्टकर दिनहरूमा आफूलाई न्यौछावर गरेर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र संगठनलाई नेपाली भूमिमा बलियो, सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त गणेशमान सिंह अविश्राम लागिपरेको उनको भनाइ थियो ।
 (3)1695128541.jpg)
“जेलनेल, निर्वासन र क्रान्तिका कठिन समयमा पनि लोकतन्त्रको पक्षमा सतिसाल झैं उभिने मात्र नभएर आफ्नो विचार र अडानमा अडिग रहने सिंहको स्वभाव हामीजस्ता लोकतन्त्रमा लाग्ने र लड्नेहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्यो र अझै बनिरहने छ”, राष्ट्रपति पौडेलले भने ।
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजाबाट प्रधानमन्त्री पदको लागि गरेको आग्रहलाई अस्वीकार गरी आफ्ना समकक्षीलाई त्यसको नेतृत्व सुम्पनुभएको प्रसङग स्मरण गर्दै उहाँले यस्ता महापुरुषका नाममा स्थापित गरिएको करिब एक सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको बाटिकामा रहेको विविध जातका रुख विरुवासहितको पूर्वाधार तथा मनोरम वातावरणले व्यस्त जीवनशैलीका उपत्यकावासीका लागि उन्मुक्त भएर स्वच्छन्द वातावरणमा रम्ने एउटा उपयुक्त स्थल बन्न सक्ने धारणा व्यक्त गरे ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बाटिकाको बाँकी काम सम्पन्न गर्न सरकारले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी सांसद प्रकाशमान सिंहले राजनीतिक परिवर्तनलाई दिगो बनाउनका लागि आर्थिक विकास अपरिहार्य रहेको भनेर गणेशमानले २०४६ सालपछि भनेको कुरा अझै सान्दर्भिक रहेको बताए ।
सो क्रममा बाटिका निर्माणमा महत्वपूर्ण सहयोग गरेको भन्दै पूर्व सांसद रामेश्वर ढुंगेललाई मरणोपरान्त सम्मान गरिएको थियो । त्यस्तै गणेशमान सिंहको शालिक बनाउने मूर्तिकार महेश तुलाधरलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।