कार्यवहाक  प्रधानमन्त्री खड्काद्वारा मन्त्रिपरिषद् सदस्यहरुसँग छलफल

मंगलबार, असोज २, २०८०

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीतथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । रक्षा मन्त्रालयमा सोमबार सबै मन्त्रीहरूसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले आ-आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्ने कुरामा जोड दिएको उनको सचिवालयले जनाएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवाप्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको उनको सचिवालयको भनाई छ । 
छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले देशको शान्तिसुरक्षामा खलल र्पुयाउने र नागरिकमा वितृष्णा फैलाउने तत्त्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्ति-सुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महंगी नियन्त्रणमा नतिजा आउने गरी तथा आमनागरिकले राहत महसुस गर्ने गरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । 
यस्तै, छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ । 
बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजनाबनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा कार्यवाहक प्रधानमन्त्री खड्काले जोड दिएका छन् ।

छलफलमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्ति-सुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ-आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको मन्त्री खड्काको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार