बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवन शिलान्यास (भिडियो) 

आइतबार, भदौ ३१, २०८०

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास भएको छ ।  संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बज्रबाराही अस्पतालको प्रस्तावित भवनको शिलान्यfस गर्नु भएको हो । 
भवन शिलान्यस समारोहमा अर्थमन्त्री डा.महतले सरकारको लगानीबाट चल्ने अस्पताल ललितपुरको दक्षिण भेगका लागि अति आवश्यक भएको औंल्याउनुभयो । 
उहाँले उपयुक्त स्थानमा अस्पताल निर्माण हुन लागेको भन्दै अस्पतालमार्फत ललितपुरका दक्षिणी भेगका पहाडी भूभागका बासिन्दाले सेवा सुविधा पाउने भएकाले विशिष्ठ महत्व हुने बताउनुभयो ।
“देशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक छ, क्षमताभन्दा हाम्रो आवश्यकता बढी छ, गत वर्ष राजश्व कम उठेको थियो, जसले मागअनुसार सम्बोधन गर्न केही कठिनाइ भइरहेको छ, अहिले अवस्था सुधार हुँदैछ, यति हुँदाहुँदै पनि भएको स्रोतलाई परिचालन गर्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्ने कुरामा प्रतिबद्ध छौँ”, अर्थमन्त्री डा.महतले भन्नुभयो । 
आर्थिक गतिविधिको चक्र चलायमान बनाउन देशभर सबैको आत्मविश्वास बढाउनु आवश्यक रहेको उल्लेख गर्दै महतले यसमा सबै नागरिकहरूको भूमिका रहेको धारणा राख्नुभयो । 
बागमती प्रदेशका उद्योग,वाणिज्य, भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बज्रबाराही अस्पतालका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
कार्यक्रममा  बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले बज्रबाराहीमा जिल्ला अस्पताल ल्याउन आफूहरुले धेरै नै मिहिनेत गरेको स्मरण गर्दै यो अस्पतालले दक्षिण ललितपुरका पहाडी भूभागसहित ठेचो, सुनाकोठी तथा धापाखेलसम्मका नागरिकलाई सेवा दिइरहेको बताउनु भयो । 
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले घना बस्तीका जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिन भवन चाँडै बन्नु आवश्यक रहेकामा जोड दिनुभयो । 
गोदावरी नगरपालिकाका प्रमुख  गजेन्द्र महर्जनले अस्पताल भवन दोस्रो पटक शिलान्यास भएको जानकारी दिँदै यस पटकको शिलान्यसमा रकम अभाव नहुनेतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । 
१७ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने यो भवन निर्माणका लागि यस वर्ष बागमती प्रदेश सरकारबाट तीन करोड ५० लाखको बोलपत्र आह्वान गरिएको जानकारी दिँदै नगर प्रमुख महर्जनले भन्नुभयो, यो रकमबाट भवनको बेस मात्रै बन्छ भन्ने ठेकेदारको भनाइ छ ।  शिलान्यस भएको अस्पताल भवन यस पटक रकम अभावमा अलपत्र नहोस भन्न चाहन्छु ।’ 
जिल्ला अस्पतालको सेवासमेत प्रदान गर्ने बज्रवाराही चापागाउँ अस्पतालमा बहिरङ्ग सेवा र आकस्मिक, दन्त सेवा लगायतका सेवा सञ्चालन भइरहेका छन् । 
कार्यक्रममा अस्पतालका चिकित्सकले कोठा अभावमा आफूहरूले एउटै कोठामा दुई जना चिकित्सकलाई राखेर उपचार सेवा दिइरहेको जानकारी गराउनु भएको थियो । 
बागमती प्रदेश सरकारले अस्तालमा बेड तथा खाना निःशुल्क गरेपछि बिरामीको चाप बढेको भन्दै भवन निर्माण भएपछि सेवालाई सहज ढंगले अघि बढाउन सम्भव हुने चिकित्सकले बताउनुभयो ।
.उहाँहरुले अस्पतालमा औषधी  सकिँदा तत्काल उपलव्ध गराइहाल्ने संयन्त्रका लागि पहल गरिदिन पनि आग्रह गर्नुभयो । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार