रक्षामन्त्री र गृहमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल 

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । 
आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव,  प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव ,  सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यबाहक प्रमुख सहभागी थिए । 
छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग  देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए । खड्काले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा समाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिनु भएको छ । साथै बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने ब्यवस्था मिलाउन, कालाबजारी र कृत्रिम अभाव तथा मूल्य वृद्धि हुनै नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न निर्देशन दिएका थिए । 
नेपालीहरूका महत्वपूर्ण चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाइ समेत थप प्रभावकारी बनाउँदै कहिकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिएका थिए । 
सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 
कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको  छलफलका क्रममा राजनीतिक र अपराधिक घटनाहरु समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा अपराधिक गतिविधि हुन सक्ने कुरामा ध्यान दिन निर्देशन दिएका छन् ।
छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा  जानकारी गराएका थिए । 
यस्तै आजै सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गरेका थिए । 
राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर कार्यवाहक  प्रधानमन्त्री खड्काले देशको समसामयिक बिषयमा  राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी  गराएका हुन् । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार