सकियो दुई दिने बुङमति पर्यटन महोत्सव (भिडियो) 

आइतबार, भदौ ३१, २०८०

ललितपुर । ललितपुर महानगरपालिका २२ नं वडा बुङमतिमा आयोजित बुङमति पर्यटन महोत्सव २०८० भव्य रुपमा सम्पन्न भएको छ । 
विश्व पर्यटन दिवसको सुअवसरमा अस्ति शुक्रबार र हिजो शनिबार दुई दिनसम्म बुङमति पर्यटन महोत्सव २०८० आयोजना गरिएको हो ।
ललितपुर महानगरपालिका अन्तर्गतको उद्योग तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोगमा २२ नं वडाको अगुगाईमा बुङमति पर्यटन सहकारी संस्था लिमिटेटको आयोजनामा महोत्सव आयोजना गरिएको हो ।  महोत्सवमा हस्तकला प्रदर्शनी, सम्पदा पदयात्रा, भेज, भेगन खाना चिनारी, घरेलु प्रदर्शनी, नेवाः खाना महोत्सव, नेवा परम्परा बाजा प्रदर्शनी, विविध संस्कृतिक कार्यक्रम, ऐतिहासिक फोटो प्रदर्शनी गरिएको थियो । 
महोत्सव उद्घाटनकै बेला बुङमतिलाई चिनाउने स्मारिका पनि विमोचन गरिएको थियो ।  
ललितपुर महानगरपालिका २२ नं वडाका वडाअध्यक्ष सागर तुलाधारले दुई दिने महोत्सव सफलता पूर्वक सम्पन्न भएको शब्दपाटीलाई जानकारी दिनुभयो । छोटो समयको तयारीमा महोत्सव सफलता पूर्वक सम्पन्न भएको छ उहाँले भन्नुभयो, स्थानीय तथा आगुन्तकको बुङमति प्रतिको उत्साहले हामीलाई थप कार्यक्रम ल्याउन हौसला मिलेको छ उहाँले भन्नुभयो  । बुङमति पर्यटन महोत्सवको महानगरका प्रमुख चिरीबाबु महर्जन, वडा अध्यक्ष तथा महानगरका कर्मचारीसहित स्थानीयले अवलोकन गरी राखिएका स्टलबारे अभिरुचीपूर्वक अवलोकन गरेका थिए । 
बुङमति पर्यटन महोत्सव २०८० को उद्घाटन बागमति प्रदेशका उद्योग,वाणिज्य, भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गर्नु भएको थियो । उद्घाटन सत्रमा प्रदेशका मन्त्री चित्रकारले बुङमतिको संस्कृति सम्पदाबारे चिनाउन महोत्सव उपयुक्त माध्यम हुने विचार व्यक्त गर्नुभयो । 
रातो मच्छिन्द्रनाथको मूर्ति ६ महिनासम्म बुङमतिमा राखिने स्मरण गराउँदै मन्त्री चित्रकारले बुङमति सम्पदा संस्कृतिसँग जोडिएको मौलिकता रहेको औंल्याउनु भयो । 
उद्घाटन समारोहमा बागमती प्रदेश सभा सदस्य प्रेमभक्त महर्जनले बुङमतिको पहिचानका लागि महोत्सव उपयुक्त रहेको धारणा व्यक्त गर्दै ३–४ वर्षयता बुङमतिको पहिचानलाई जीवन्त पार्न धेरै काम भइरहेको जनाउनु भयो । 
महानगरपालिकाको उद्योग तथा संस्कृति संरक्षण समितिका संयोजक तथा वडा नं ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले विश्व पर्यटन दिवसका अवसरमा आयोजित महोत्सवले ललितपुरलाई नै चिनाउन महत्वपूर्ण हुने धारणा राख्नुभयो । 
कार्यक्रममा युएन ह्याविट्याटका प्रतिनिधिले आफूहरूले ५ वर्षदेखि बुङमतिका सम्पदा बस्तीलाई जीवन्त पार्न काम गरिरहेको बताउनु भयो । 
उद्घाटन सत्रमा वडाअध्यक्ष सागर तुलाधरले बुङमतिको ऐतिहासिक सामाजिक रहन सहनलाई बुङमतिमा मात्रै नभइ नेपाल भर एवम् विश्व भर नै फैलाउन महोत्सव आयोजना गरिएको बताउनु भयो । 
कार्यक्रमका सञ्चालक वडा सचिव सुनिल महर्जनले बुङमतिको कला, संस्कृति राष्ट्रिय स्तरमा परिचित गराउन महोत्सव आयोजना गरिएको बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार