लम्पी स्किनको राहतमा ढिला भएको कृषिमन्त्रीद्वारा स्वीकार(भिडियो)

सोमबार, भदौ १८, २०८०

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन रोग प्रभावित किसानलाई उपलब्ध गराउने राहत मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन् । 
मन्त्रालयमा आाइतबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रक्रिया लम्बिएका कारण मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको र किसानलाई राहत उपलब्ध गराउन ढिला भएको स्वीकार गरेका हुन् । 
उनले भने, ‘लम्पी स्किनको राहत मापदण्डमा गृह र अर्थको आनाकानी हो कि भन्ने जिज्ञासा छ । त्यत्ति धेरै छैन । तर हाम्रो प्रक्रिया लम्बिएको नै छ त्यसमा स्वीकार गर्नुपर्छ । तीव्र रफ्तारका रूपमा हुनुपथ्र्यो हुन सकेको छैन । मन्त्रालयबाट पठाइएको प्रस्ताव अर्थ र गृह मन्त्रालयमा प्रक्रियामा रहेको र यो प्रक्रियागत कामका कारण ढिलाइ भएकै हो ।’
उनले सरकारले लम्पी स्किनको खोप देशमै उतपादन गर्ने तयारी गरिरहेको पनि जानकारी दिए । अहिले लम्पी स्किन थपिने क्रम नरहेको भन्दै अर्को वर्षको नियन्त्रण गर्ने तयारी गर्नुपर्ने उनको भनाई छ । 

‘कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड’
मन्त्री भुसालले कृषि क्षेत्र नेपालको मेरुदण्ड भएको बताएका छन् । 
कृषि संरचनाको डिजिटल उद्घाटन समारोहमा उनले देशको उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि कृषिबाट नै सम्भव भएको भन्दै कृषि देशको मेरुदण्ड भएको बताए । 
उनले भने, ‘कृषि क्षेत्र हाम्रो मुलुकको एउटा मेरुदण्ड हो, त्यसकारण हामीले अहिले उत्पादन वृद्धि गर्ने हो, आयातलाई प्रतिस्थापन गर्ने, निर्यात वृद्धि गर्ने हो भने यो सबै कृषिबाट नै सम्भव छ । कृषि उत्पादन वृद्धि गरेर नै सम्भव छ ।’
उनले देशमा कृषिमा सबैभन्दा ठूलो समस्या अझै पनि सिँचाईमा नै भएको भन्दै यसको न्यूनिकरणको लागि सरकार लागि रहेको बताए । 
उनले भने, ‘कृषिमा सबैभन्दा ठूलो समस्या अझै पनि सिँचाईमा नै छ । अहिले पनि हाम्रो खेती योग्य जमिन आधा मात्रै पनि सिँचाई हुन सकेको छैन् । आधाभन्दा पनि कम ४८ प्रतिशत जमिन सिञ्चित त्यो पनि वर्खायाममा मात्रै बाह्रै महिनाको कुरा गर्ने हो भने १७, १८ प्रतिशतभन्दा बढि छैन् । अहिले पनि सिँचाईको नै बढि समस्या छ ।’
कृषि क्षेत्रमा उन्नतशील बिउको विकास गर्ने, यान्त्रिकरणमा जाने, बजारको व्यवस्थालगायत धेरै समस्याहरु पनि क्रमश सुधार गर्दै लानुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ । 
यस्तै, मन्त्रीले यस विषयमा प्रधानमन्त्रीसँग छलफलको साथै कृषि क्षेत्रको उत्पादन वृद्धि र प्रभावकारी उपलब्धिको लागि अभियानमा लागेको पनि बताए । 
उनले भने, ‘यस विषयमा प्रधानमन्त्रीसँग छलफलमा पनि जाने छौ । कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि कुनै न कुनै प्रभावकारी खालको उपलब्धी दिन सक्ने खालको अभियानमा जानै पर्छ भनेर हामी लागि रहेका छौ ।’ 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार