लेलेमा आयोजित दन्त शिविरमा १ हजार वडावासीले लिए सेवा 

बुधबार, साउन १७, २०८०

लेले(लतिपुर) । गोदावरी नगरपालिका वडा नं ५ को पहलमा लेले प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शिविरमा  १ हजार १६ जना दाँतका बिरामीले उपचार गराएका छन् । 
ज्येष्ठ नागरिक, बालबालिका लगायत अन्य उमेर समूहका वडावासीले शिविरबाट सेवा लिएका थिए । चिकित्सकले बिरामीको दाँतमा फ्लोराइड राख्ने, दाँत सफा गर्ने, किरा लागेका दाँत झिकेका थिए । 
दुबईमा रहेको होप कलिङ नामक संस्थासँग आवद्ध दुबई र कुवेतका चिकित्सकहरूसँगको सहकार्यमा गोदावरी नगरपालिका वडा नं ५को सहयोगमा निः शुल्क दन्त शिविर राखिएको हो । 
एलिट डेन्टल क्लिनिकले आयोजना गरेको शिविरमा लेले प्राथमिक स्वास्थ्य केन्द्र र  डेन्टल क्लिनिकका चिकित्सक पनि सहभागी थिए ।   
दाँत र मुखको स्वास्थ्यको बारेमा सचेत गराउन  शिविर आयोजना गरेको नगर प्रवक्ता तथा ५ नंं. वडाका अध्यक्ष मिलन सिल्वालले बताए । 
गोदावरी नगरपालिकाले नगरवासीको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय स्वास्थ्यलाई प्राथमिकता दिएको प्रष्ट पारे । एलिट डेन्टल क्लिनिकका डा.निशान राजभण्डारीले होप कलिङ र गोदावरी नगर वडा नं ५ सँग सहकार्य गरेर शिविर आयोजना गरेको बताए । 
लेले प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. रोशन कर्णले लेलेका स्थानीयवासीका लागि लक्षित गरी आयोजना गरिएको शिविर फलदायी भएको दाबी गरे । 
होप कलिङका क्याम्पेन संयोजक अनन्त न्यौपानेले वडा कार्यालयसँगको सहकार्यमा शिविर आयोजना गरिएको बताए ।
होप कलिङ दुबइका चिकित्सकले गोदावरी नगरपालिका वडा नं ५ लाई  दन्त शिविर आयोजना गरेकोमा धन्यवाद दिए । आफूहरूको टोलीमा २८ जना चिकित्सक रहेको जनाउँदै तीन दिनसम्म दाँतको उपचार र सचेतना जगाउने कार्य गरेको बताए । 
होप कलिङमै आवद्ध रहेकी कुवेतकी दन्त चिकित्सकले  आफ्नो संस्कृति रहन सहन फरक रहेको ठाउँमा आएर सेवा दिन पाएको खुशी लागेको बताइन् ।
शिविर समापनका अवसरमा वडा अध्यक्ष मिलन सिल्वालले शिविरमा सहभागी स्वदेशी तथा विदेशी चिकित्कसलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए । 
शिविरमा दन्त मञ्जन, ब्रससहित स्वास्थ्य सामग्री पनि वितरण गरिएको थियो । दन्त शिबिरका लागि दुबई तथा कुबेतबाट २९ जना दन्त चिकित्सकको टोली नेपाल आएका थियो । होप कलिङले यसअघि ५ वटा स्वास्थ्य शिविर नेपालका विभिन्न स्थानमा सम्पन्न गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार