सुन व्यापारीसँग ‘घुस’ लिएका डिएसपी ठगबहादुर केसी बर्खास्त

बुधबार, साउन १०, २०८०

काठमाडौँ । सुन व्यापारीसँग ‘घुस’ लिएको घटना बाहिरिएपछि निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ ।  डिएसपी केसीलाई गृहले भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई बर्खास्त गरेका हुन् । प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न गृहमा सिफारिस गरेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटनामा उनलाई निलम्बन गरिएको थियो ।
आमा छोरा पक्राउ
होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको हो ।
घटना शङ्कास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी थालिएको छ । शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरि अस्पताल र आवश्यक परेमा पोखरासमेत पठाइने प्रहरीको भनाइ छ ।  आशा होटल एण्ड खाजा घरमा प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार