नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा विद्युतको पोलसहित पहिरो खस्यो 

आइतबार, असार १७, २०८०

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने तीन नम्बर पुलमा शनिबार राति विद्युतको पोलसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा लेदो पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको छ । पहिरोमा विद्युतको तार पनि खसेको छ , पहिला विद्यत्को तार हटाउने कार्य गरिएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। बिहीबारदेखि यहाँ पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । 

वर्षेनी पहिरोको जोखिम नारायणगढ–मुग्लिन सडक
वर्षायाम सुरु हुने वित्तिकै नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध हुने घटना नौलो रहेन । यहाँ सामान्य वर्षा हुँदा पनि पहिरो गइहाल्छ । आखिर किन यस्तो भइरहन्छ ? भूगर्भविद्हरूले यसबारेमा खोजविन गरेका छन् । शनिबार राति तीन नम्बर पुलमा पहिरो खस्दा सडक खण्ड अवरुद्ध घएको छ । ३ नम्बर पुलसँगै नारायणगढबाट मुग्लिनतर्फ १४ किलोमिटर, १५ किलोमिटर र १६ किलोमिटरमा पहिराको जोखिममा छन् । १७ किलोमिटरमा पहिरो खसेको छ । १८ किलोमिटरमा पनि पहिरोको जोखिम नै छ । २० किलोमिटरमा पर्ने सेती दोभान र २१ दशमलव चार किलोमिटर मौरीपुल पहिरोको उच्च जोखिम क्षेत्र हुन् । तेइस किलोमिटरको सिमलतालमा पुलका लागि भित्तो काटिएकाले पहिराको जोखिम छ । गत वर्ष पहिरो नखसेको ३१ दशमलव पाँच किलोमिटरको चोरखोलामा यसवर्ष पहिरो खसेको छ । ३२ दशमलव चार किलोमिटरको नाम्सी पुल नजिक गत वर्षझै यस वर्ष पनि पहिरो खसेको छ । ३२ दशमलव ८ किलोमिटरको कालिखोला र ३३ दशमलव ८ को तुईन खोलामा पहिरो जोखिम भएका कार्कीले बताउनुभयो । सडकको माथिल्लो भागमा खोलिएका शाखा बाटो र भौगोलिक कारणले पहिराको जोखिम रहेको छ । 
गत शुक्रबार साँझ २८ घण्टापछि अवरुद्ध सडक सञ्चालनमा आए पनि शनिबार फेरि पहिरो जादा बाटो अवरुद्ध भएको छ । यहाँ अझै ढुङ्गा खस्न भने रोकिएको छैन । माथिबाट खसेका ढुङ्गा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन् ।  केही मानिसहरू ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि पनि देखिएका छन् । यस सडकखण्ड पहिरोका कारण प्रत्येक वर्ष अबरुद्ध हुँदै आएको छ । 
विश्व बैंकको पहिरो विज्ञसहितको प्राविधिक टोलीले दुईपटक गरेको अध्ययनमा मौरीखोला माथिको एकापट्टी डाँडाको भाग नै झर्न सक्ने जोखिम औँल्याएको थियो । सो ठाउँमा २५ हजार घनमिटर हाराहारीमा पहिरो खस्नसक्ने विज्ञ टोलीको अनुमान छ । पहिरो कतिबेला खस्छ थाहा नहुने भएकाले बर्खामा यससडकमा यात्रा गर्नु निकै जोखिमपूर्ण देखिएको छ । गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडो देखिएको थियो । डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिराको जोखिम बढ्दै गएको विश्लेषण गरिएको छ । 
सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो । भूगर्वविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झण्डै सात सय मिटर लम्बाइ क्षेत्र पहिरोमा संरचना बनेकाले चलायमान छ । यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरूले आँकलन गरेको उनको भनाइ छ । सो सडकखण्डको चार किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ । हाल ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएका छन् ।
ईच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पछिल्ला केही दिन यता पहिरोले दुःख दिइरहेको छ । नाम्ची पुलमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिगत तीन वर्षयता वर्षातको समयमा मौरी खोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । 
डिभिजन सडक कार्यालय चितवनले वर्षातको समयमा सो ठाउँमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ । सडकखण्डमा १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्तो काटिएका ठाउँमा पहिरो खस्न सक्ने सम्भावना छ । यो सडकमार्गमा काठमाडौँ, पोखरालगायत गन्तव्यका आवतजावतका लागि दैनिक १० हजार हाराहारी सवारी गुड्ने गरेका छन् । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार