नारायणगढ–मुग्लिन पहिरो नियन्त्रणमा अर्बाै रुपैयाँ खर्च, तर समस्या वर्षेनी उस्तै 

शनिबार, असार १६, २०८०

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको विस्तार र स्तरोन्नति गरे पनि सास्ती रोकिएको छैन । अघिल्लो वर्षजस्तै यस वर्ष पनि पहिरोले पटकपटक लामो समयसम्म बाटो अवरुद्ध हुने घटना दोहरिन थालेको छ ।
आज विशान उक्त सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।  अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् । ३६ किलोमिटर लामो उक्त सडक खण्डमा नयाँ–नयाँ जोखिमहरू देखा परेका छन् र तीमध्ये केही चुनौतीपूर्ण मानिएका छन् ।
निर्माण कम्पनीले काम सम्पन्न गरेर उक्त सडक तीन वर्षअघि सरकारलाई हस्तान्तरण गरेको हो ।
“निर्माण सकिएपछि पहिरो जाने सम्भावित ठाउँ पहिचान गरेर भिरालो जमिन संरक्षण गर्ने काम गरिएको थियो । त्यसपछि २७–२८ ठाउँमा नियन्त्रण भयो,” सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले भने, “अहिले नयाँ–नयाँ ठाउँमा पहिरो देखा परेको छ, पछिल्लो पहिरो पनि नयाँ ठाउँमा आएको हो ।”

कस्ता छन् नयाँ जोखिम ?
२० वर्षअघि करिब ७५ ठाउँमा पहिरो झरेको थियो । यातायात पूर्ण सञ्चालनमा आउन कैयौँ दिन लागेको थियो । सडक विभागले २१ किलोमिटर भनिने मौरी खोला र १८ किलोमिटर भन्ने स्थानलाई त ‘चुनौतीपूर्ण जोखिम रहेको’ भनी पहिचान गरेको छ । पौडेल भन्छन्, “मौरी खोला क्षेत्रको अध्ययन भइरहेको छ, त्यहाँ पहाड नै खस्किरहेको छ, १८ किलोमिटर भन्ने ठाउँको माथि नगरपालिकाले बाटो खनिदिएकाले लेदो बगेर झर्ने गरेको छ । तीन-चार ठाउँमा त्यस्तो समस्या छ ।”
पछिल्लो पटक बिहीवार तुइन खोलानजिक चट्टानका टुक्राहरू झरेका छन् । यसअघि समस्या नदेखिएको त्यस स्थानबारे पनि अध्ययन गर्नुपर्ने अवस्था बनेको अधिकारीहरूले जनाएका छन् ।

विश्‍व बैंकले मौरी खोला क्षेत्रको अध्ययन गराइरहेको छ । एक हप्ताअघि त्यस क्षेत्रमा पुगेका सडक विभागका पूर्वमहानिर्देशक इन्दु शर्मा ढकालले ‘प्रकृतिमा आधारित समाधान’ (नेचर–बेस्ड सोलुसन वा एनबीएस) को डिजाइन भइरहेको जानकारी दिए ।
उनले भने, “यो वर्षापछि त्यहाँको स्थलगत अध्ययनपछि अन्तिम डिजाइन तयार हुन्छ, समस्या ठूलै देखिए पनि समाधान हुन्छ ।”
ढकालका अनुसार पानीको निकासको बाटो बनाउने, पहाडी क्षेत्रको टुप्पो केही काट्ने, केही संरचना बनाउने र वृक्षारोपण गर्ने लगायतका काम गर्नुपर्ने हुन्छ ।
त्यसको निम्ति करिब १० करोड रुपैयाँ खर्च हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सडकको माथिल्लो भागबाट विभिन्न ठाउँमा झर्ने पहिरो नियन्त्रणको प्रयास पटक–पटक भएका थिए।
निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम सम्पन्न गरेपछि तीन वर्षमा विभिन्न कम्पनीले पहिरो नियन्त्रणको काम गरेका छन्। त्यसमा करिब एक अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
चट्टान झर्न नदिन रड गाडेर जाली लगाउनेदेखि सडक भत्किन नदिन नदी किनारमा पाइलिङ गर्ने र आरसीसी वाल लगाउने काम गरिएको अधिकारीहरूले जनाएका छन्।
तर सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार त्रिशूलीको धारले बाटोको तल्लो भागमा बर्सेनि गर्ने कटान चुनौतीपूर्ण देखिन्छ ।
“त्यसले गर्दा पाँच–छ ठाउँमा बाटो दबेको छ र पहाड नै खस्किएको देखिएको छ”, उनले भने, “माथिबाट झरेको पहिरो त फालौँला वा चट्टानहरू रोक्न सकिन्छ, तर बाटोको तल त्रिशूलीले बिस्तारै काट्दा आउने जोखिम चुनौतीपूर्ण देखिन्छ ।”

छिर्कनमा लेदोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा शनिवार वर्षाका कारण पहिरो खसेको हो ।
पहिरोले बाटो बन्द भएपछि एम्बुलेन्ससहितका सवारी साधनहरु बाटोमै रोकिएका छन् । लामो तथा छोटा दुरीका सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । लेदोसहितको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।
देशभर मनसुनको प्रभाव कायमै छ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्‍याएको छ।
 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार