थाईल्यान्डलाई ४४ रनमा अल आउट गर्दै नेपाल सेमिफाइनलमा

बुधबार, असार १३, २०८०

काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो ।
जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो । थाईल्यान्डका ईशानले १२ बलमा ३ चौकासहित सर्वाधिक १६ रन बनाए । नेपालको घातक बलिङ सामु थाईल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
नेपालका स्पिनर सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । सन्तोषले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै अशोक धामीले ३ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । अभिषेक तिवारीले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालको जितमा निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनमा आउट भए । उनी स्पिनर ईशान बानेर्जीको बलमा जित सादाबाट क्याच हुन पुगेका थिए । उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए ।
नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर जितको बलमा सुर्यांशु ५५ बलमा ३ चौकासहित ४० रनमा बोल्ड आउट भए । सुर्यांशु स्कुप सट खेल्ने धुनमा बोल्ड आउट भएका थिए ।
नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहे । सन्तोष यादव ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । आषिश लुहार १३, अशोेक धामी ५ र अभिषेक तिवारी १४ रनमा आउट भए ।
थाईल्यान्डका निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । ईशान बानेर्जीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए । पनुवातले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।
समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ए को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । त्यसैले समूह ए बाट नेपाल र मलेसिया दुबै सेमिफाइनलमा पुगेका छन् । नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार