भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको भूमिका बिचौलियाको, २९ रोपनी भन्दा धेरै जग्गा हडपेको दावी

 सीआईबी प्रतिवेदन भन्छ, 'ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो’
बुधबार, असार १३, २०८०

काठमाडौं । ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन गुरुङले बिचौलियाको भूमिकामा निभाउनुका साथै उक्त क्षेत्रफल बराबरको जग्गा हडपेको खुलेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।
‘मीनबहादुरले २९ रोपनी जग्गा हडपेको खुल्छ’ बज्राचार्यले भनिन् । गुरुङमाथि मुलुकी ऐन २०२० अन्तर्गत सरकारी किर्तेमा कारबाही अगाडि बढ्ने उनले बताइन् ।
प्रहरीले ललिता निवास प्रकरणमा मंगलवार ७ जनालाई पक्राउ गरेको थियो । जसमा तीन जना छुटेका छन् भने भाटभाटेनीका सञ्चालक गुरुङसहित अरु ४ जना प्रहरी नियन्त्रणमै छन्। ललिता निवास किर्तेमा कसको भूमिका के भन्ने विषयमा सिआईबीले बुधवार बिहान पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
‘मीनबहादुर गुरुङले व्यवसायी, आफू र आफ्ना परिवारसमेतका नाममा जग्गा ल्याई सरकारी जग्गा आफ्नो बनाउने कार्यमा बिचौलियाको भूमिका निर्वाह गरी प्रत्यक्ष लाभसमेत लिएको, हाल निज मीनबहादुर गुरुङ र निजको परिवार तथा निजकी शेयर रहेको भाटभटनी डेभलपमेन्ट कम्पनी प्रालि समेतको नाममा करिब ३० रोपनी जग्गा कायम रहेको’ पत्रकार सम्मेलनमा प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । पूर्व निर्वाचन आयुक्त सुधीर शाहले जग्गा श्रीमतीको नाममा पारेको खुलेको छ।
‘तत्कालीन मालपोत कार्यालय भक्तपुरमा मालपोत अधिकृतको रुपमा कार्यरत रहि सरकारी जग्गामा सुवर्ण शमशरे जबरा, कञ्चन शम्शेर जबराका हकवालाहरू श्रीमती सुनीती राणा, शमशेर जबरा, श्रीमती शैलजा राणा, श्री हेमन शम्शेर जबरा, श्री हाटक शमशेर ज।ब।रा। हरुको नाममा अनाधिकृत रुपमा ना।सा। दा।खा। गरी गराई सो बापत सोही मध्येको जग्गा आफ्ना नातेदार श्रीमती उर्मिला शाहको नाममा हालै देखिको बकसपत्रको लिखत पारित गर्ने गराउने कार्य गरेको’ प्रहरीको प्रेस नोटमा भनिएको छ । त्यसैगरी तत्कालीन खरिदार गोपाल कार्कीले बालुवाटारस्थित ललिता निवास जग्गाको दुई वटा मिसिल नै गायब पारेको देखिन्छ ।
‘तत्कालीन खरिदार सरकारी जग्गा व्यक्तको नाममा दाखिला खारेज गर्ने क्रममा मालपोत कार्यालय डिल्लीबजारबाट तयार पारिएको १०१४ र १०२५ नं को मिसिल गायब पारेको',प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतमले भने कीर्ते गरी विभिन्न व्यक्तिको नाममा जग्गा नामसारी गरेको पाइएको छ।
यसैगरी सीआइबीले बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी यो जग्गा प्रकरणमा मङ्गलबार पक्राउ परेका चारजनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सीआईबीले हिजो उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो । स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, कलाधर  देउजा र हुपेन्द्रमणि केसीलाई भने प्रहरीले छाडेको छ । 
आज सार्वजनिक हुनेमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, काठमाडौँ महानगरपालिका–७ रातोपुलका ८० वर्षीय धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का ६० वर्षीय गोपाल कार्की र पूर्व निर्वाचन आयुक्त सुधीर शाह छन् ।
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार