एमाले र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

जिल्ला निर्वाचन कार्यालय खारेजको विरोध
मंगलबार, असार १२, २०८०

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।  बैठक सुरु हुने वित्तिकै रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव फिर्ताको माग गर्दै उठेर विरोध जनाएका थिए ।  रास्वपा सांसदको विरोधपछि सभामुख देवराज घिमिरेले सांसद् सन्तोष परियारलाई बोल्न समय दिएका थिए ।  परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव लोकतन्त्रविरोधी भएकाले तत्काल सच्याउन माग गरे । 
“जिल्ला स्तरीय निर्वाचन आयोगलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने विषयमा हामीले मत जाहेर गर्दा पनि सुनुवाइ भएन”, उनले भने, “सरकारले उक्त निर्णय तत्काल फिर्ता लिएर गल्तीस्वीकार गरोस् अन्यथा यो सदनको कारबाही अगाडि बढ्न नदिन हामी बाध्य हुनेछौँ ।”
सभामुख घिमिरेले उठाइएको विषयमा सरकारको ध्यानाकर्षण हुने र जिल्ला निर्वाचन कार्यालय खारेजीलगायतका विषयमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेकाले कार्यसूचीमा जानका लागि आग्रह गरेका थिए । 
त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद्हरु पनि उक्त विरोधमा समर्थन जनाएका थिए । एमाले सांसद् सूर्यबहादुर थापाले जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालयको खारेजीको प्रस्ताव निष्पक्ष निर्वाचन र लोकतन्त्रको मूल मर्म विपरीत भएको जिकिर गरे । 
रास्वपाका सभापति रवि लामिछानेले संवैधानिक आयोगको क्षेत्राधिकारलाई सिडिओ कार्यालयमातहत ल्याउँदा निर्वाचनको निष्पक्षतामा आशङ्का उत्पन्न भन्दै यो संवेदनशिल विषय भएको बताए ।  
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार