तनहुँ गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु, ताप्लेजुङ्मा बेपत्ता भएकाहरू अझै फेला परेनन् 

मंगलबार, असार ५, २०८०

पोखरा । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताए । 
ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए । 

ताप्लेजुङ्को मेहेल पहिरोमा बेपत्ता अझै भेटिएनन्
गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार जनाको बगाएको थियो । चार जनामध्ये आइतबार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका परिवारको तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक  राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार जारी रहेको जानकारी दिए।
जिल्ला प्रहरीका अनुसार आइतबार बिहान सिदिङ्वा–६ मेहेलेमा पहिरामा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ । गएको पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो । सोही पहिरामा परी  ४५ वर्षीय राजकुमार राई गग्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फ उद्धार गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार प्रतिकूल मौसमका कारण पाँचथर जिल्लामा आकस्मिक अवतरण गरेर पाँचथरमै उपचार भएको थियो । घाइते राईलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाका हेलिकोप्टरमार्फत विराटनगरको न्यूरो अस्पतालमा पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार