सुनकोशी नदीमा बेपत्ता तीनजनाको पहिचान खुल्यो

तनहुँका कृष्णबहादुर केसी, पूर्वीनवलपरासीका यमप्रसाद घुर्तेल र इलामका भानु पौडेल बेपत्ता
शुक्रबार, जेठ १९, २०८०

काठमाडौं । सुनकोशी नदीमा खसेर बेपत्ता भएको स्कार्पियोमा सवार तीन जना यात्रुको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेका थिए । ती मध्ये चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएको थिए बाँकी तीन जना बेपत्ता छन् । 
बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतप्पा नगरपालिका–५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन् ।
सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको छ । उनको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।  
मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको हो । जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार