ललितपुर महानगरद्धारा आगामी बजेटबारे सांसदहरुसँग छलफल 

सार्वजनिक जग्गा प्रयोग हुने योजना अघि नबढाउन आग्रह 
मंगलबार, जेठ १६, २०८०

ललितपुर । ललितपुर महानगरले आर्थिक वर्ष २०८०-२०८१ को वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका लागि ललिपुर जिल्लाका सांसदहरुसँग छलफल गरेको छ । महानगरद्धारा आयोजित प्रि–बजेट छलफलमा ललितपुरबाट प्रतिनिधित्व गरेका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो । छलफलमा ललितपुर क्षेत्र नं १ का संघीय सांसद उदय शम्शेर राणा, क्षेत्र नं २ का सांसद प्रेम महर्जन तथा क्षेत्र नं ३ की संघीय सांसद डा. तोसिमा कार्की सहभागी थिइन् । यसैगरी छलफलमा बागमती प्रदेश सभा सदस्यहरु उर्मिला लामा, प्रेमभक्त महर्जन तथा रघुनाथ महर्जन सहभागी भएका थिए । 
छलफलमा ललितपुर क्षेत्र नंं.१ का सांसद उदय शमशेर राणाले आफूले योजनाहरु छनोट गर्दा ललितपुर महानगरसँग समन्वय गर्ने बताए । तीन तहको सरकार बीच योजनामा डुप्लिकेसन रहेको सांसद राणाले स्वीकार गरे ।
महानगरभित्र सार्वजनिक जग्गा अतिक्रमण धेरै भएको स्पष्ट पार्दै उनले ललितपुर महानगरले पार्किङलाई अबको आर्थिक वर्षको योजनामा प्राथमिकता राख्नुपर्ने सुझाव दिएका छन् । 

350102990_1240983433289581_6824520650424763630_n1685453226.jpg
आगामी आर्थिक वर्षदेखि बजेट साइकल बदलिएको जानकारी दिँदै उनले भने, 'पूँजीगत खर्चका लागि बजेट साइकलले सहयोग गर्छ । बजेट साइकल अब १२ प्लस ४ महिनाको हुने छ ।' 
ललितपुर क्षेत्र नंं.३ की सांसद तोसिमा कार्कीले हजारौ नेपाली नागरिक दिनहुँ विदेसिएको अवस्था इंगित गर्दै महानगरलाई ‘पार्ट टाइम जब’को अवधारणा ल्याउन सुझाव दिइन् । ‘एक घर एक रोजगारी’ को अवधारणालाई कार्यान्वयन गर्न महानगरले विशेष योजना ल्याउनु पर्छ उनले भनिन् । 
ललितपुर महानगरको वडा नंं. १४ मा रहेको उमामहेश्वर स्वास्थ्य सेवा केन्द्र तथा परिवार नियोजन संस्थागत क्लिनिकमा भएका स्वास्थ्य उपकरण वर्षौदेखि प्रयोगविहीन भएको औल्याउँदै सांसद डा.कार्कीले वडामा रहेको स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गर्न सुझाव दिइन् । उनले भनिन्, ‘वडामा चिकित्सक हुँदा, सामान्य चिरफार र औषधि उपचारका लागि पाटन अस्पताल नै पुग्नु पर्दैन, वडामा नै डाक्टर व्यवस्था हुँदा पाटन अस्पतालमा बिरामीको घुइँचो हुँदैन ।’
तीन तहको सरकारबीच याेजना छनाेटमा समन्वय होस् भनेर छलफल कार्यक्रम आयोजना गरेकोमा सासंद डा.कार्कीले महानगरलाई धन्यवाद दिएकी छन् । 

350365394_918095762755164_6547649069914879814_n1685453222.jpg
ललितपुर क्षेत्र नंं. २ का सासंद प्रेम महर्जनले नागरिकले अनुभूति गर्न सक्ने गरी विकास गतिविधि सञ्चालन गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए । महानगरकाभित्र कृषिजन्य जमिन धेरै रहेको औल्याउँदै ती जमिनको उपयोग गरी कृषि उत्पादन बढाउने योजनालाई प्राथमिकता दिन उनले महानगरलाई सुझाव दिएका छन् । उनले भने, ‘यसले आयातलाई रोक्छ, आत्मनिर्भर बनाउँछ ।’
महानगर भित्र सार्वजनिक जग्गा अतिक्रमण धेरै भएको उल्लेख गर्दै उनले संरक्षणमा महानगरले प्राथमिकता दिनुपर्ने बताए ।
बागमती प्रदेश सभाका सदस्य प्रेमभक्त महर्जन तथा रघुनाथ महर्जनले सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने, पर्यटकलाई आकर्षित गर्न होम स्टे निर्माण गर्नुपर्नेमा जोड दिए । खानेपानी, फोहोर व्यवस्थापनलगायतका विषयलाई प्राथमिकता दिनुपर्नेमा उनीहरुको जोड रहेको छ । 
प्रदेश सांसद उर्मिला लामाले ललितपुर महानगरभित्रको विकास असन्तुलित देखिने बताइन् । उनले भनिन्, ‘भित्री वडाहरुमा अभूतपूर्व विकास भएको देखिन्छ । चक्रपथ बाहिरका वडाहरुमा जाँदा विकास केही पनि नभएको जस्तो देखिन्छ ।’ चक्रपथबाहिरका वडावासीले महानगरवासी भएको अनुभूति गर्न नपाएको बताउँदै उनले त्यहाँको विकासलाई प्राथमिकतामा राख्न अनुरोध गरिन् । योजना डुप्लिकेशन हुँदा नागरिक लाभान्वित नहुने उनको धारणा थियो । 
महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र योजना सञ्चालन गर्न संघीय र प्रदेश सासदहरुलाई महानगरसँग समन्वय गर्न अनुरोध गरेका छन् । 

350381985_152561687802578_6301550393988456456_n1685453222.jpg
ललितपुर महानगरको सार्वजनिक जग्गामा प्रदेश र संघबाट आउने बजेट प्रयोग नगर्ने उनले बताए । महानगर भित्र ३ प्रतिशत खुल्ला जमिन रहेको बताउँदै महानगर प्रमुख महर्जनले दुरदृष्टि राखेर सार्वजनिक जग्गा प्रयोग हुने कुनै पनि योजना अघि नबढउन अनुरोध गरे । उनले मुलुकको आर्थिक अवस्थाका कारण यस पटक महानगरको बजेट थोरै साघुँरिएको बताउँदै भने, ‘करीब साँढे ६ अर्बको बजेट ल्याउने तयारी गरेका छौं ।’
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पर्यावरण र सार्वजनिक जग्गा संरक्षणका लागि बजेट विनियोजन नगरिदिन हुन अनुरोध गरिन् । तीन तहको सरकारबीच योजनाका बारेमा छलफल हुनुपर्नेमा उनले जोड दिइन् । 
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले संघमा प्रतिनिधित्व गर्ने  सासंदहरुलाई आठ मिटर चौडा बाटो स्तरोन्नति गर्ने विषय पेचिलो ढंगबाट उठाइदिन अनुरोध गरेका छन् । उनले भने, ‘आठ मिटर चौडा बाटो स्तरोन्नतिको विषय महानगरको क्षेत्राधिकार भित्र पर्दैन, तर नजिकको सरकारको दृष्टिले  गाली महानगरले खानुपर्छ ।’
फुँयालले पाटन अस्पतालमा बिरामीको चाप अत्यधिक रहेकाे जानकारी गराउँदै महानगरभित्र अर्को सरकारी अस्पताल निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । 
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरभित्र सञ्चालन गरिने योजनामा तीन तहकै सरकारबीच सहकार्य–समन्वय होस् भन्नका लागि छलफल आयोजना गरिएको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार