प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्ने

शनिबार, जेठ १३, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहिलो विदेश यात्रा भारतबाट हुने भएको छ । प्रचण्डको भारत यात्रा आगामी बुधबारदेखि (जेठ १७ देखि २० गते, मे ३१ देखि जुन ३ तारिख) सुरु हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
प्रचण्डको भारत भ्रमणको मिति तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीसँगै भ्रमणमा मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने छन् ।
वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने छन् । भारतीय प्रधानमन्त्री मोदीले नेपालका उनका समकक्षीसहित उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । उनले जेठ २० गते काठमाडौँ फर्कनुअघि मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार