किन बेलाबेला नर्स र विरामी पक्षबीचको विवादले चर्चा पाउने गर्छ ?

नर्सहरूको आन्दोलन
बिहीबार, जेठ ११, २०८०

काठमाडौं । एक जना सामाजिक अभियानकर्मी र भरतपुर क्यान्सर अस्पतालका नर्सहरू बीचको चर्को विवादको घटनापछि नर्सहरू आफ्नो पेशागत मर्यादा लगायतका मागहरू सहित आन्दोलनमा उत्रिएका छन् । आफ्नो सहयोगमा अस्पताल पुगेकी नाबालिगको उपचारमा नर्सहरूले लापरबाही गरेको भन्दै ति अभियानकर्मीले टिकटकमार्फत् सार्वजनिक गरेको भिडिओमा भनेकी छन्, “बिरामीलाई साढे चार बजे खोप दिइएको भए पनि नर्सले त्यसलाई दुई बजेको रेकर्डमा राखेकी छन् ।” आफूले ”बिरामीको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन भन्दा नर्सहरू नै रिसाएको” उनको दाबी छ ।
नर्सले आफूमाथिको त्यस्तो आरोप खण्डन गरेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनको रोहबरमा दुवै पक्ष विवाद टुङ्ग्याउन राजी भएको नेपाल नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राईले जानकारी दिइन् ।
तर यो विवाद यी दुई पक्षबीच मात्र सीमित रहेन । टिकटक, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरू दुई ध्रुवमा बाँडिए । कतिपयले ती अभियानकर्मीको पक्षमा मत राखे भने केहीले घटनालाई नर्सको पक्षबाट पनि हेरिनु पर्ने बताए ।
केही मानिसले अस्पतालमा आफूले नर्सहरूबाट भोगेको तीतो अनुभव व्यक्त गरेका छन् भने केहीले उनीहरूबाट पाएको सेवा र सद्भावको प्रशंसा गरेका छन् ।

बिरामीको अनुभव
चितवनकी सुस्मिता शर्मा (आफ्नो वास्तविक नाम खुलाउन नचाहेको) ले भरतपुरस्थित अर्को सरकारी अस्पतालमा आफूले नर्सहरूबाट गलत व्यवहार भोगेको बताएकी छन् ।
“मलाई सन्तान जन्माउनु अघिको व्यथा सुरु भएको थियो । रातिको बाह्र बजे नर्सहरू धेरै थिएनन् । तर जति थिए उनीहरू चटपटे खानमै व्यस्त थिए । बल्लबल्ल बोलाउँदा आए तर ‘तीन घर मात्र खुलेको छ । कति आत्तिएको’ भने,” उनले सुनाइन् । दुखाई बढ्दै जाँदा आफूले शय्याको माथिल्लो भागमा समातेको तर नर्सले “बेड भाँचिने” भएकाले त्यसरी नसमात्न निर्देशन दिएको उनको आरोप छ । “मलाई असह्य पीडा भइरहेको थियो । उनीहरूलाई बोलाएँ तर आएनन्। अलि राहत मिल्छ कि भनेर उठेर हिँड्दै थिएँ बच्चा झर्‍यो । धन्न केही भएन,” उनले आफ्नो भोगाइ राखिन् । यद्यपि, त्यहाँ उपस्थित नर्सहरू मध्ये एक जनाले भने आफूसँग नम्र बोलेको उनी सम्झन्छिन् । "सबैले थाहा पाउनु पर्छ सबै जना सही हुँदैनन् र सबै खराब पनि हुँदैनन्,” उनले भनिन्। काठमाडौैकी बबी केसीको चाहिँ मिश्रित अनुभव छ । उनले आफूसँग नर्ससँग सम्बन्धित नमिठो अनुभव नभए पनि “अरूमाथि दुर्व्यवहार गरेको देखेको” बताइन् ।
“केही महिनाअघि पाँच दिनको अस्पताल बसाइमा मैले के महसुस गरेँ भने-जसले जस्तो व्यवहार गर्छ नर्सहरूले पनि त्यस्तै व्यवहार गर्छन् । त्यसैले हामीले पनि उनीहरूलाई बुझिदिनु पर्ने हो कि जस्तो लाग्छ । किनकि उनीहरूको काममा निकै दबाब हुन्छ,” उनले बताइन् ,
“हामीले पो सीमित नर्स देखेका हुन्छौँ तर उनीहरूले असङ्ख्य बिरामीहरूसँग व्यवहार गर्नु परिरहेको हुन्छ ।” उनले आफूले दया भाव राखेर मात्र नर्सहरूबाट पनि त्यस्तै अपेक्षा गर्न सकिने मत राखेकी छन् ।

एक नर्सको बिलौना

बुटवलकी अन्जु पाण्डे नर्स हुन् । उनले कामको चापबीच कहिले काहीँ आफू पनि बिरामीको आफन्तहरूसँग रिसाएको वा झर्किएको सम्झन्छिन् । लगत्तै प्रश्न गर्छिन्,”तर सोच्नुस् त यदि तपाईँले कोही व्यक्तिसँग नम्र भएर प्रश्न गर्नु भएको छ भने उसले झर्किएर जवाफ दिन्छ ?”
बिरामी वा कुरुवाहरूको गुनासो स्वाभाविक भए पनि केही बिरामीबाट आफूहरू स्वयं प्रताडित हुनु परेको उनको अनुभव छ । “बिरामीको आफन्तले रक्सी खाएर आउने अनि आफ्नो व्यक्तिगत सामानको ख्याल नराख्दिएको भन्दै गाली गरेको सहेको छु । एक जना कुरुवाले झ्यालबाट फाल्दिन्छु भनेर धम्की दिँदा त्रासबीच आफ्नो जिम्मेवारी निर्वाह गरेकी छु । एक जनाले त शौचालय सरसफाइ समेत नर्सले नै गर्नुपर्ने भन्दै कराएका थिए,” उनले आफ्नो अनुभव सुनाइन् ।
उनले भनिन्, ”धेरै पटक धेरै कुरा सहनु परेको छ । कति पटक बिरामी र बिरामी हेर्न आएकाहरूको व्यवहारले गर्दा ट्वाइलेटमा गएर रुनु परेको छ । अब हामीले पनि यी सबै घटनाको भिडिओ बनाउनु ?”
न्यून पारिश्रमिक, कामको चाप, कमजोर व्यवस्थापन, असुरक्षा र अपमानजस्ता समस्याहरू कै कारण नर्सहरू बिदेसिन बाध्य भएको उनको धारणा छ । सेवाग्राही पक्षबाट गुनासो र प्रश्न स्वीकार्य भए पनि आम मानिसले गालीगलौज र धम्की दिनु खेदजनक भएको बताउँछिन् नर्सिङ सङ्घकी अध्यक्ष राई । उनका अनुसार विभिन्न नर्सहरूलाई व्यक्तिगत एवं सामूहिक रूपमा सामाजिक सञ्जालदेखि फोनमार्फत् धम्की आइरहेका छन् । यसरी सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओकै आधारमा समग्र नर्सिङ पेसालाई नै बदनाम गराउने अभिव्यक्तिहरू आएको भन्दै नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएका नर्सहरू

कामको समयमा नर्स
उनीहरूले “कसैको चरित्र हत्या गर्न पाइँदैन”, “नर्सलाई सम्मान देऊ”, “कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस्”, “व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन” जस्ता नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गरेका छन् । “अश्लील गाली, अपशब्द र धम्कीहरू आउन थालेपछि नर्सहरू खबरदारी गर्न सडकमा निस्कनु भएको हो। समस्या समाधान भएन भने सङ्घ पनि प्रदर्शनमा उत्रन्छ,” राईले भनिन् ।
विवादपछि परिस्थिति उग्र बनेपछि सङ्घले सरकारको ध्यानाकर्षण गराउँदै सरकारी अस्पतालमा नर्सिङ जनशक्तिको दरबन्दी बढाउने, सेवामा रहेकाहरूको सुविधा बढाउनेलगायत माग अघि सारेको छ।
नर्स साँच्चै सधैँ झर्किन्छन् ?
राईका अनुसार नर्सहरूलाई पढाइका बेलामा पाठ्यक्रम अन्तर्गत नै नम्र भएर बोल्न, सेवाग्राहीसँग सुमधुर सम्बन्ध स्थापित गर्न, नझर्की सेवा प्रदान गर्न सिकाइन्छ। यद्यपि, व्यक्ति अनुरूप स्वभाव फरक पर्ने भएकाले “सबै नर्स सही हुन्छन् वा गलत भन्न नसकिने” उनले भनिन्।
“हामीले पढाउँदा नै यस्ता गुणहरू किन आवश्यक छ भन्ने बुझाउँछौँ । पढेका मध्ये कतिले आफ्नो व्यवहारमा आवश्यक परिवर्तन ल्याउँछन् कतिले ल्याउँदैनन् । त्यसैले हजारौँ नर्सहरूमध्ये एकरदुई जनाले झर्किफर्की गर्लान् तर त्यसो भन्दैमा सबैलाई एउटै घानमा हाल्न मिल्दैन,” उनले भनिन् ।
स्वभावबाहेक कतिपयलाई श्रम अनुरूप पारिश्रमिक प्राप्त नहुनु, कामको भार बढी हुनु, लामो समय एक जना नर्सले धेरै जना बिरामीको सेवा गर्न बाध्य हुनु, बिरामी पक्षबाट दबाब दिनुजस्ता कारणले पनि नर्सहरूको व्यवहारमा प्रभाव पार्ने राईको धारणा छ।
“नेपालमा नर्सलाई सम्मान त परको कुरा आराम र गरेको काम बापत तलब पनि पर्याप्त छैन । यस्तो अवस्थामा उनीहरूलाई पनि मानसिक रूपमा थकित महसुस हुनसक्छ । यस्तो अवस्थामा उनीहरूलाई व्यवस्थापन पक्षबाट उचित सहयोग आवश्यक हुनसक्छ,” राईले जिकिर गरिन् ।
यद्यपि, जुनसुकै अवस्थामा बिरामीको स्वास्थ्य महत्त्वपूर्ण हुने भएकाले कुनै नर्सबाट गल्ती भएको पाइएमा आफूहरूले कारबाही गर्ने उनले बताइन् ।
उनले भनिन्, “जसले गलत गर्छ उसले सजाय त भोग्नु पर्छ नै। तर अहिले सामाजिक सञ्जालमा जे भइरहेको छ त्यो नर्सिङ पेसाको प्रतिष्ठा विपरीत भइरहेको छ ।”-बीबीसी

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार