रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज

बिहीबार, जेठ ११, २०८०

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदैछ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । 
भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो ।
किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।
मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।
भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ। यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानेछन् । 

काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा मा सार्वजनिक बिदा दिईएको हो ।

ph1684985888.jpg
मन्त्रालयद्वारा सूचनामा भनिएको छ, विसं २०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार