ढाकाकुमारको सांसद पदसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

बुधबार, जेठ १०, २०८०

काठमाडौं । ढाकाकुमार श्रेष्ठको सांसद पदसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले यस अघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।
मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले कारबाही गरेको थियो । सो कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।
ढाकाकुमारले सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल ढाकाकुमारको सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
ढाकाकुमारको पद खारेज गर्दै रास्वपाले उनको ठाउँमा बिन्दावासिनी कंसाकारलाई सिफारिस गरेको थियो । निर्वाचन आयोगले बिन्दावासिनीलाई सांसदको प्रमाणपत्र पनि दिएको थियो । तर, सर्वोच्चको आदेशसँगै उनले शपथ लिन पाएको थिइनन् । अब भने उनलाई सांसद पद ग्रहण गर्न बाटो खुलेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार