कामीरिता शेर्पा २८औँ पटक सगरमाथामा

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ । पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन् । आज विहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । 

योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन् । यो वर्षको वसन्त ऋतुमा उहाँको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । 
कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् । 
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण  गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन् । 
सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत

घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।लुक्लाबाट काठमाडौँ आएका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन् । 
भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् । 

sudan1684847297.jpg
स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाउनुभएको भन्दै हार्दिक बधाइ दिए ।
“हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ”, मन्त्री किरातीले भने, “उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।” 
आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिए । “आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरू मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उनले भने, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पु¥याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन ।” 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार