शवगृह विस्तार गर्न पाटन अस्पताललाई ललितपुर महानगरको सहयोग

शुक्रबार, जेठ ५, २०८०

ललितपुर । ललितपुर महानगरले पाटन अस्पतालमा शवगृह विस्तार गर्नका लागि आर्थिक सहयोग गरेको छ । ललितपुर महानगरले शवगृह विस्तार गर्न पाटन अस्पताललाई ५० लाख सहयोग गरेको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. रवि शाक्यलाई चेक हस्तान्तरण गरे ।
यसका साथै कार्यक्रममा शवगृह विस्तार गर्ने सम्बन्धमा ललितपुर महानगर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर समेत भयो ।
महानगर प्रमुख महर्जनले महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । कोरोनाको बेलामा महानगरको सहयोगबाट पाटन अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट धेरैजना लाभान्वित भएको बताए । पाटन अस्पतालको आवश्यकता पहिचान गरेर शवगृह विस्तारको लागि सहयोग गरेको उनको भनाई थियो ।
पाटन अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. रवि शाक्यले पाटन अस्पतालमा रहेको ४ वटा मात्रै शव राख्न मिल्ने शवगृहमा २० वटाभन्दा धेरै शव राख्नु परेको बाध्यता सुनाए । उनले भने, ‘अस्पतालकै, बाहिरबाट केही दिन राखिदिनुस न भन्दै आउने अनुरोध र बेबारिसे लाशले गर्दा अहिलेको शवगृह भरिभराउ भइरहेको छ, लाश खप्टेर राख्नु पर्ने बाध्यता छ ।’ शवगृह विस्तारपछि यो समस्याको अन्त्य हुने उनले बताए । लाश खप्टेर राख्दा नमज्जा लागेको सुनाउँदै उनले भने, ‘त्यसरी लाश राख्नु वैज्ञानिक पनि होइन ।’ ललितपुर महानगरले अभिभावकको भूमिका निर्वाह गरेकोमा धन्यवाद दिदैं उनले खुशी व्यक्त गरे ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताइन् । अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।

344566588_267653608953495_5649497461827803572_n1684481612.jpg
यसैगरी महानगरले त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रलाई पनि आर्थिक सहयोग गरेको छ ।
महानगरले रक्त अनुसन्धान केन्द्र सञ्चालन तथा रक्त सेवा प्रवाहका लागि सहयोग पुगोस् भन्दै केन्द्रलाई  ५० लाख सहयोग गरेको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीलाई चेक हस्तान्तरण गरे ।
यसका साथै कार्यक्रममा ललितपुर महानगर र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रबीच समझदारी पत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीले महानगरबाट प्राप्त सहयोग प्रविधि विस्तारमा प्रयोग गरिने बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार