जिल्ला आयुर्वेद केन्द्रको स्वस्थ्य जीवन प्रवर्धन कार्यक्रममा सहभागीको स्वास्थ्य परीक्षण

जीवनशैलीले रोग निम्ताउने हुँदा सचेत रहन आह्वान
शुक्रबार, जेठ ५, २०८०

ललितपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले दुई दिने स्वथ्य जीवन प्रवर्धन कार्यक्रम आयोजना गरेको छ । जिल्ला समन्वय समिति ललितपुरको सभाहलमा आयोजित उक्त कार्यक्रममा सहभागीलाई योगा गराउनुका साथै नसर्ने रोग एवम् जीवनशैलीका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा सहभागीहरुको मधुमेह, रक्तचाप, उचाई तथा तौल मापन गरी स्वथ्य भए नभएको परीक्षण गरिएको थियो । कार्यक्रममा ललितपुरका स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिसहित सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
यसअघि उद्घाटन सत्रका प्रमुख अतिथि जिल्ला समन्वय समिति ललितपुरका अध्यक्ष ऋषिदेव फुयाँलले आयुर्वेद कार्यालय ललितपुरले पालिकाहरुसँग समन्वय गरी यस्ता कार्यक्रम गर्न सके स्वस्थ्य जीवन प्रवर्धनका लागि अझ प्रभावकारी हुने धारणा व्यक्त गरे ।

342377178_625931199175010_2941805820007633197_n1684452928.jpg
अहिले सरकारका सबै निकायहरु बजेटका कारण खुम्चनु परिरहेको अवस्था रहेको औल्यउँदै बागमती प्रदेश सरकारले यस्ता निकायहरुका लागि पर्याप्त बजेट व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उनले खानपान, योग तथा शारीरिक व्यायम गर्न गर्न मानव शरीर स्वथ्य हुने बताएका थिए ।
कार्यक्रममा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले संघीयता कार्यान्वयनपछि अस्तित्वमा आएका प्रदेश सरकारका कारण आयुर्वेद कार्यालयहरु सक्रिय भएको उल्लेख गर्दै स्वस्थ्य जीवन शैलीका लागि शारीरिक तन्दुरस्ती तथा मानसिक सन्तुतल ठिक हुनुपर्नेमा जोड दिए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख आयुर्वेद चिकित्सक श्रृष्टि श्रेष्ठले पछिल्लो समय खानपान, रहन सहनका कारण नसर्ने रोगको प्रकोप बढ्दो रहेको जनाउँदै नसर्ने रोगकै कारण कुल मृत्युदर पनि बढिरहेको जानकारी दिइन । "७१ प्रतिशत मृत्यु नसर्ने रोगकै कारण भएको छ", उनले भनिन्, "नसर्ने रोगको रोक थाम भनेकै स्वस्थ्य जीवन शैली हो ।" आफ्नो स्वास्थ्यको जिम्मेवार व्यक्ति स्वयम् नै हुने औल्याउँदै उनले प्रत्येक व्यक्ति सचेत नभएसम्म स्वस्थ जीवन शैली नहुने बताइन् ।
पाँच हजार वर्ष अघि आयुर्वेद पद्धतिले भनेको कुरा अहिले साँचो भएको उनले औल्याइन् । "खानपान र जीवन शैलीकै कारण शरीरमा मोटोपना देखिने गरेको हो उनले भनिन, "पछिल्लो समय मोटोपनाबाट पुरुषको तुलनामा महिलाहरु बढी पीडित छन् ।"
२०५६ सालमा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले उपचारात्मक, जनचेतनामूलक तथा स्वास्थ्य प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । केन्द्रले आयुर्वेद स्वास्थ्य सेवालाई जिल्ला अन्तर्गत पर्ने विभिन्न स्थानीय निकायमा विस्तार गरिरहेको छ ।
केन्द्रले ओपिडी, योग सेवा, ल्याब सेवा, सशुल्क फार्मेसी, स्तानपायी आमाहरुको लागि मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन  सेवा तथा पञ्चकर्म पूर्वकर्म सेवा प्रदान गर्दै आइरहेको छ ।
केन्द्रका वरिष्ठ कविराज निरीक्षक ईश्वरीप्रसाद ढकालले सहजिकरण गरेकाे कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरका व्यवस्थापन समिति अध्यक्ष सूर्यमान श्रेष्ठको सभापतित्वमा आयोजना भएकाे हाे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार