सचिव टेकनारायण पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरण
आइतबार, वैशाख २४, २०८०

काठमाडौँ ।  नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भुटानी शरणार्थी नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो । उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखि अनुसन्धान भइरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्न माग
नेपाल कम्युनिष्ट पार्टीले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ । सो पार्टीले प्रकरणमा सङ्लन कुनै पनि व्यक्तिलाई राजनीतिक संरक्षण हुन नहुने भन्दै यथार्थ छानबिन गरी दोषी सबैलाई कडाभन्दा कडा दण्ड सजाय गर्नुपर्नेसमेत माग गरेको छ ।  
“नेपालबाट गैरभुटानी नेपालीलाई भुटानी शरणार्थी बनाइ विदेश पठाउने अन्तर्राष्ट्रिय जगतमा नै राष्ट्रको घोर बेइज्जत हुने ठगी तथा भ्रष्टाचार काण्डको पर्दाफास भएको छ, त्यसको यथार्थ छानबिन गरी दोषी सबैलाई कडाभन्दा कडा दण्ड सजाय गर्न माग गर्दछौँ”, आज जारी विज्ञप्तिमा भनिएको छ ।
विगतमा भ्रष्टाचारका ठूलठूला घोटालाबारे केही समय हो–हल्ला चलाएर ती सबैलाई ढाकछोप गर्ने र भ्रष्टाचारीलाई चोख्याउने जुन गलत परम्परा रहेको भन्दै जुनसुकै दल निकट व्यक्ति वा उच्चपदस्थ भए पनि ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सलग्न दोषीलाइ उम्कन दिन नहुने सो पार्टीको भनाइ छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार