भारतमा लाइभ अन्तर्वार्ता चल्दै गर्दा प्रहरी घेरामा रहेका पूर्व सांसद र उनका भाइको हत्या

आइतबार, वैशाख ३, २०८०

नयाँदिल्ली । भारतमा अपहरणमा दोषी ठहर गरिएका एक जना पूर्व राजनीतिज्ञलाई उनका भाईसँगै टेलिभिजनमा प्रत्यक्ष कुराकानी गरिरहेको बेलामा हत्या गरिएको छ । अतिक अहमद र उनका भाइले पत्रकारहरूसँग सुरक्षा घेरामा कुरा गरिरहँदा एक जना बन्दुकधारीले अलाहवाद पनि भनिने प्रयागराजमा उनको टाउकोमा गोली हानेका हुन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार हमलाकारी पत्रकारको भेषमा थिए। उक्त हत्यापछि तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका सुरक्षा निकायलाई ‘उच्च सतर्कता’मा राखेका छन् ।
विपक्षी नेताहरूले सुरक्षामा भएको उक्त लापरबाहीले कानुनी शासनमाथि प्रश्न खडा गरेको टिप्पणी गरिरहेका छन् ।

भारत

को हुन अतिफ अहमद
अपहरणमा दोषी ठहर गरिएका अतिक अहमदमाथि हत्या र आक्रमणहरू गरेका अभियोग छ । उनले नौ वर्षअघि सांसद पदबाट राजीनामा दिएका थिए । अहमदका छोरालाई केही दिनअघि प्रहरीले गोली हानी हत्या गरिदिएका थिए ।
भिडिओमा अहमद र उनका भाइ असरफले हतकडी लगाएको र उक्त घटना हुनु केही सेकेन्डअघि पत्रकारहरूसँग बोलिरहेको देख्न सकिन्छ ।
स्वास्थ्य जाँचका लागि अस्पतालमा लगिएको समयमा पत्रकारहरूसँग कुरा गरिरहँदा उनीहरूमाथि गोली प्रहार गरिएको थियो ।
सामाजिक सञ्जाल र टेलिभिजन च्यानलहरूमा व्यापक रूपमा साझा भइरहेको फुटेजमा अहमदलाई छोराको अन्तिम संस्कारमा सहभागी भए या नभएकोबारे सोधिएको छ ।
क्यामेरामा उनले बोलेका अन्तिम शब्दहरू थिए, “उनीहरूले हामीलाई लगेनन् त्यही भएर हामी गएनौँ ।”
पत्रकारको भेषमा आएका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकारको भेषमा आएका भनिएका तीन सन्दिग्ध हमलाकारीहरू घटनास्थलमा मोटरसाइकल चढेर आएको प्रहरीले बताएको छ । घटनास्थलमा अर्का एक पत्रकार र एक जना प्रहरी घाइते भएका छन् ।  शनिवार रातिको उक्त घटनापछि मूख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको आदेश दिँदै उत्तर प्रदेशका जिल्लाहरूमा ठूला भीडहरूमाथि प्रतिबन्ध लगाएका छन् ।
अहमदले हत्या र आक्रमणको अभियोग खेपिरहेको उत्तरप्रदेशको प्रयागराजमा प्रहरी हिरासतमा रहेका उनी र उनका भाइलाई ल्याइएको थियो ।
दुवै जना गएको एप्रिलमा महिनामा फेब्रुएरीमा हत्या गरिएका उमेश पालको मुद्दासँग जोडेर पक्राउ परेका थिए । सन् २००५ मा बहुजन समाज पार्टीका सांसद राजु पालको हत्या गरिएको घटनामा उमेश मुख्य प्रत्यक्षदर्शी थिए । अहमदलाई सन् २०१९ मा अपहरणमा दोषी पाइएपछि जेलमा थुनिएको थियो । हत्या आरोपमा खोजी गरिएका अतिक अहमदका छोरा असद र अर्का व्यक्ति अघिल्लो हप्ता प्रहरीसँगको झडपमा मारिएको भनिएको थियो ।

विपक्षी पार्टीको आरोप

अघिल्लो महिना भारतको सर्वोच्च अदालतले अहमदको निवेदनमा सुनुवाइ गर्न अस्वीकार गरेको थियो । त्यसमा उनले प्रहरीबाट आफ्नो ज्यान जोखिम रहेको बताएका थिए ।
उत्तर प्रदेशमा हिन्दु राष्ट्रवादी बीजेपी दलले शासन गरिरहेको छ र विपक्षी दलहरूले उक्त हत्या सुरक्षा लापरबाहीका कारण भएको टिप्पणी गरेका छन् ।
“यूपीमा अपराध शिखरमा पुगेको छ र अपराधीहरूको मनोबल उच्च छ,” विपक्षी समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले लेखेका छन् ।
उनले प्रहरीको सुरक्षा घेरा भित्र गोली हानेर कसैको ज्यान लिन सकिने अवस्थाले सर्वसाधारणको सुरक्षामा प्रश्न खडा गरेको सङ्केत गरेका छन् ।
उक्त घटनाले भयको वातावरण उत्पन्न गराएको भन्दै उनले केही व्यक्तिहरू योजनाबद्ध रूपमा नै त्यसो गर्न लागिपरेको हुनसक्ने बताए । पछिल्लो ६ वर्षमा उक्त राज्यमा विभिन्न अभियोग खेपिरहेका १८० भन्दा बढी मानिसहरू पक्राउ परेका छन् । अधिकारवादीहरूले गैर न्यायिक हत्यामा प्रहरी संलग्न रहेको आरोप लगाए पनि राज्यका अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।-एजेन्सी

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार