नेपाल र यूएईबीच खेलको अन्तिम अवस्थामा उत्पन्न भएको नाटकीय परिस्थिति खासमा के थियो ?

शनिबार, चैत ४, २०७९

काठमाडौं । बादलले कीर्तिपुर मैदानमाथिको आकाश छोपिसकेको थियो । पानी पर्छ कि पर्दैन भन्ने कौतूहलताका कारण खेलाडीदेखि दर्शकसम्मले पटक पटक आकाशतर्फ हेरिरहेका थिए ।
पानी पर्ने सम्भावनाबारे ज्ञात नेपाल र यूएईका खेलाडीहरू त्यही अनुरूप मैदानमा रणनीति बुन्दै गरिरहेका थिए ।
पानी दर्की हालेमा भाग्न अप्ठेरो हुनसक्ने खतरालाई मोल्दै १५ हजार समर्थकहरू दर्शक दीर्घामा हुटिङ गरिरहेका थिए ।
'जुनसुकै बेला जे पनि हुनसक्ने' एउटा रोमाञ्चक क्रिकेट भिडन्तको प्रत्यक्षदर्शी बन्ने अवसर उनीहरूले खेर फाल्न चाहेको देखिएन ।
त्यस्तो अवस्थामा मैदानभित्र यस्तो नाटकीय अवस्था सृजना हुँदै गयो जुन नेपाली क्रिकेटमा लामो समयसम्म स्मरणयीय रहनेछ । कुनै कथाकारलाई रच्न दिएको भए पनि सायदै उनले यति रोचक पटकथा कोर्न सक्ने थिए ।
यूएईको नेपाल विरुद्धको उच्च शक्ति प्रदर्शन, थामिनसक्नुको दर्शक, नेपालका लागि हालसम्मकै विशाल लक्ष्य, बादल र वर्षाको लुकामारी, पानी बोकेर मैदान प्रवेश गर्ने नेपाली सन्देशबाहक खेलाडीहरूको हतारो, दर्शकलाई संयमता अपनाउन राष्ट्रिय खेलाडीहरूले गरेको अपिल, यूएईको गुनासै गुनासो अनि मधुरो प्रकाशका कारण अम्पायरहरूले गरेको निर्णय ।
यी सबै परिघटनाका माझ जित निकाल्दै नेपाली टोली विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्न सफल भयो ।
र, दर्शकहरूले सामूहिक स्वरमा गाए 'रातो र चन्द्र सूर्य...जङ्गी निशान हाम्रो ।' उक्त गीतमा नेपाली खेलाडीहरू मैदानमै धेरै बेर नाचिरहे, रमाइरहे ।

चार छक्कापछि बल गायब
दिउँसोको पारिलो घाममा यूएईले छक्काको वर्षा गर्दै ३११ रनको लक्ष्य नेपाल सामु तेर्स्याउँदा लागेको थियो खेल अब नेपालको हातबाट छुट्यो। त्यति धेरै रन नेपालले पछ्याउन सकेको इतिहास पनि त थिएन ।
लाग्थ्यो यूएईले नेपालसँग लगातारको हारको रिस अन्तिम खेलमा पोख्दै थियो ।
आसिफ खान एक्लैले ११ छक्का प्रहार गरे र कम बलमा छिटो शतक प्रहार गर्ने चौथो खेलाडी बन्न सफल भए ।
चार दिनअगाडि मात्र नेपाल सामु ७१ रनमा अलआउट हुनुपर्दाको चोट यूएईलाई कम्ती थियो होला र ?
४९औँ ओभरमा त खानले सन्दीप लामिछानेको बलमा लगातार चार छक्का हानिदिए । सहन नसकेका दर्शकहरू पनि के कम । चौथो छक्का खाएपछि दर्शकले त्यो बल फिर्ता नै गरेनन् ।
त्यसपछि अम्पायरले अर्को बल ल्याउनु पर्‍यो । त्यो नयाँ बल भने उडेर मैदान पार भएन ।

मैदानमा ढल्दै विपक्षी
पानी पर्ने सङ्केत देखेपछि रणनीतिक खेल सुरु भयो । यूएईले ढिलो बलिङ गर्ने रणनीति अपनायो ।
किनकि पानी परिहाल्यो र खेल रोकियो भने डक वर्थ लुइस प्रणाली (डीएलएस) मार्फत हुने जित हारको फैसलामा यूएई अगाडि थियो ।
अम्पायरले त्यसको सचेत गराए पनि युएईका खेलाडीहरूले जानाजान ढिलो बलिङ गरिनै रहे ।
युएईले साढे तीन घण्टा भित्र बलिङ गरिसक्नुपर्ने थियो । तर चार घण्टा बितिसक्दा पनि छ ओभरको खेल अझै बाँकी थियो । खेल डीएलमार्फत आफ्नो पक्षमा आओस् भनेर उनीहरूले निकै प्रयास गरे। खेलाडीलाई चोट लागेको भन्दै दुई पटक त मैदानमा नै उपचार गर्नुपर्ने अवस्था उनीहरूले सृजना गरे ।
युएईका खेलाडीहरूले दर्शकहरूले बोतल फ्याँकेको भन्दै अम्पायरसँग गुनासो गर्दै पनि समय घर्काउन खोजे ।

uae_cricket_team1678983404.jpg

पानी ‌‌ओसार्ने खेलाडीको हतारो
हरेक घट्दो ओभरले डिएलएसको गणित फेरिरहेको थियो । त्यसको जानकारी र नेपाली ब्याटिङको रणनीति मैदानमा रहेका ब्याटरहरूलाई बुझाउने काम मैदान बाहिर रहने १२ औँ खेलाडीको थियो । त्यस बेला ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जिसीको व्यस्तता हेर्न लायकको थियो ।  
ओभर सकिनासाथ उनीहरू १०० मिटर दौडका स्प्रिन्टर जसरी मैदानमा पुग्थे । प्रशिक्षकको सन्देश पुर्याउँथे र फर्किन्थे । एक पटक त जीसी ओभर नसकिँदै मैदानमा छिरे । अम्पायरले रोकेपछि उनी बीचबाटै फर्किनुपर्‍यो । यो क्रम यति धेरै पटक दोहोरियो कि त्यस्तो हुन नदिन जगेडा अम्पायर विनय झाले हस्तक्षेप नै गर्नुपर्‍यो ।

सन्देश चाहिँ के थियो ?
खेलपछि कप्तान रोहित पौडेलले भने- 'हरेक ओभरको फरक स्थिति थियो । मुख्यतः विकेट नगुमाइकन खेल्ने सन्देश थियो ।'

फास्ट बलर, स्लो ओभर

लगातार तीव्र गतिका बलरहरू उतारेर यूएईले अर्को रणनीति अपनायो।
त्यसबाट दुई फाइदा उनीहरूले उठाए । एउटा त यसले खेलको समय लम्ब्याउने काम गर्‍यो ।
अर्कोतर्फ मौसमका कारण मैदानको प्रकाश मधुरो भइसकेको थियो । त्यस्तोमा नेपाली खेलाडीहरूलाई तेज बलरको सामना गर्न गाह्रो हुन्थ्यो ।
यो रणनीति सफल देखियो । क्रिजमा रहेका आरिफ शेख र गुलशन झा रन जोड्न सङ्घर्ष गरिरहेका थिए । यूएई नेपालको रन रेट रोक्न सफल देखियो ।

cirpm1679028814.jpg
दबावको यो बेला ४० ओभरमा आरिफको विकेट लिन पनि पाहुना टोली सफल भयो ।
डीएलएसमा नेपालको लक्ष्य फेरी बढ्यो।
खेलको खास पटाक्षेप चाहिँ ४२औँ ओभरमा भएको हो । गुलशन झाले उक्त ओभरमा २० रन जोडेर यूएईको सपना चकनाचुर पारिदिए । बलिङ गर्न आएका मोहम्मद वासिमलाई झाले ओभरको तेस्रो बलमा छक्का हाने । त्यसपछिको लगातार तीन बलमा तीन चौका ठोकिदिए । यसपछि एकाएक खेल नेपालको पक्षमा ढल्कियो। डीएलएसमा नेपाल अगाडि आयो ।

मुस्तफाको महँगो मिस फिल्ड
इपीएल, डिपीएल देखि पीपीएलसम्मको नेपाली फ्रेञ्चाइज प्रतियोगिता खेलिसकेका रोहन मुस्तफा नेपाली क्रिकेटमा परिचित नाम हुन् ।
बाउन्ड्री लाइनमा फिल्डिङ गर्ने मुस्तफालाई दर्शकहरूले बारम्बार जिस्काइरहे । गुलशनले ४२ ओभरको अन्तिम बलमा प्रहार गरेको सट लङ अफमा बसिरहेका मुस्तफाले सहजै जोगाउन सक्थे । बल सिधै उनको हातमा आएको थियो । तर लगातार तीन बाउन्ड्री कटिसकेको अवस्थामा दबावमा परेका मुस्तफाले मिस फिल्ड गर्न पुगे र बल चौकामा परिणत हुन पुग्यो । मैदानबाहिर बसिरहेका उनका साथीहरूको निराशा त्यति बेला हेर्न लायकको थियो ।

 

nep1678614386.jpeg

४५ औँ ओभरमा के भयो ?
पहिले ढिलो बलिङ गरेको यूएईलाई त्यसपछि आपत् पर्‍यो। उनीहरू आफ्नै चक्रव्यूहमा फस्न थालेका देखिन्थे । डीएलएसमा पछि पर्नासाथ यूएईका खेलाडीहरू एकाएक हतारिए । ४५ ‍औँ ओभरमा यूएईले स्पिनरको प्रयोग गर्नै लागेको थियो । तर कथा अर्कै तिर मोडिन पुग्यो ।
खराब प्रकाशका कारण अम्पायर बुद्धि प्रधान र श्रीलङ्काका रवीन्द्र विमलसिरीले छलफल गरे र खेल अगाडि बढाउन नसक्ने निर्णय गर्दै बेल झारिदिए । युएईका खेलाडीहरू अलमल्लमा देखिए ।

तनाव
निर्णयमा असन्तुष्ट देखिएका यूएईका खेलाडीहरूले मैदानमा केही बेर अम्पायरसँग विवाद गरे । खासमा त्यहाँ के विषयमा विवाद भयो त ? दर्शकहरूलाई लाग्न सक्छ उनीहरू खेल पूरै ५० ओभर खेल्न पाउनुपर्छ भन्दै विवाद गरिरहेका थिए । तर त्यो साँचो होइन।
क्रिकेटमा अम्पायरको निर्णयमा विवाद गर्न पाइँदैन । गरिहाले कडा जरिवानाको सामना गर्नुपर्ने हुन्छ ।
युएईका खेलाडीहरू बीचमा एक जना खेलाडी रन आउट भएको भए पनि आफूहरूको पक्षमा निर्णय किन गरिएन भन्ने विषयमा अम्पायरसँग उल्झिएका रहेछन् । तर विवादको अर्थ के रह्यो र ? नेपाली खेलाडी र दर्शकहरू खुसीयालीमा झुम्न थालिसकेका थिए ।-बीबीसी

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार