शनिबार थपिए एक हजार ६६ मा सङ्क्रमित, १६ जनाको मृत्यु

आइतबार, असोज ३, २०७८

काठमाडौं । देशभर शनिबार थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५  परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या  सात लाख ८३ हजार ९१० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८८ हजार ८९० रहेको छ । पछिल्लो समय थप एक हजार २३४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ४८ हजार ८०० पुगेको छ । निको हुनेदर ९५ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । हाल नेपालमा २३ हजार ६३६ जना होमआइसोलेशन, एक हजार ४४६  संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ३८९ आइसीयू र १२१ जना  भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ६३६ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २४६ रहेको छ ।

१६ जनाको मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्युदर १.५ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ७० हजार ३१७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना सङ्क्रमण झापामा सबैभन्दा बढी

प्रदेश नं १ को झापामा सबैभन्दा बढी ९० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सो अवधिमा सुनसरीमा २७, मोरङमा २२, इलाममा छ, धनकुटामा तीन, भोजपुरमा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशभरमा २१६ जनामा कोरोना सङ्क्रमण भएकामा ५३१ को पिसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ को रिपोर्ट पोजेटिभ पुष्टि भएको बताइएको छ । स्थानीय तहअनुसार सबैभन्दा बढी झापाको दमकमा १९, सुनसरीको धरानमा १९ र बिर्तामोडमा १६ जना सङ्क्रमित भएका छन् ।
झापाकै अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा छ÷छ, बाह्रदशी र बुद्धशान्तिमा दुई÷दुई, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा एक÷एक गरी १२ वटा पालिकामा कोरोना सङ्क्रमित भएका छन् ।
यस्तै सुनसरीको  इटहरीमा चार, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा एक÷एक, मोरङको विराटनगरमा १५, बूढीगङ्गामा तीन, उर्लाबारीमा दुई, कटहरी र सुनवर्षीमा एक÷एक, इलामको इलाम नगरपालिका, सूर्योदय र माईमा दुई÷दुई, धनकुटाको धनकुटा नगरपालिका, छथर जोरपाटी र पाख्रिबासमा एक÷एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै २८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त  हुनेमा महिला र  पुरुष बराबर छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित पाँच जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा ४६ जनामा सङ्क्रमण, एकको मृत्यु
सुदूरपश्चिम प्रदेशमा आज थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९२७  जनाको नमूना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
छयालीसमध्ये ४४ जनामा पीसीआर र  दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर  विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा ३८ र   डडेल्धुरा अस्पतालमा  छ  जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर १९ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको पुर्नवास नगरपालिकाका ५० वर्षीय पुरुष रहेका छन् । यसअघि शुक्रबार सुदूरपश्चिमका ३० जनामा  सङ्क्रमण पुष्टि हुँदा १८ डिस्चार्ज भएका थिए । 

कोरोनाले बढायो स्वास्थ्य सचेतना

कोरोनाका कारण नागरिकमा स्वास्थ्यप्रतिको चासो बढ्दै गएको छ । पछिल्लो समय स्वास्थ्य चेतना बढ्दै जाँदा कोरोना सङ्क्रमण दर मात्रै होइन, सरुवा रोगसमेत घट्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
कोरोना सङ्क्रमण फैलन थालेको पछिल्लो दुई वर्षयता सरुवा रोगमा कमी आएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउने, नियमित हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, घरमै बनाएको परिकार खान थालेपछि सरुवा रोगमा पनि कमी आएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
तथ्याङ्कमा यकिन सङ्ख्यामा यति कमी भयो भन्ने नभए पनि पछिल्लो दुई वर्षयता झाडापखाला, आऊ, हैजा र टाइफाइडको बिरामी नगन्य मात्रामा मात्रै फेला परेको उनको भनाइ छ । “अस्पतालमा उपचारका लागि आउने बिरामीको रोग हेर्दासमेत यस्ता कुरा सहजै स्वास्थ्यकर्मीले अनुमान लगाउन सकिन्छ, अहिले टाइफाइड, झाडापखाला, आऊ र हैजाजस्ता रोगका बिरामी निकै कम आएको पाइयो”, स्वास्थ्यकर्मी खनालले भने, “कोरोनाका कारणभन्दा पनि कोरोनाले हात धुने, स्यानिटाइजर तथा मास्कको अनिवार्य प्रयोग गर्ने नागरिक बढेसँगै यस्ता सरुवा रोग सर्न पाएन, पछिल्लो समय स्वास्थ्यप्रति धेरै नागरिक सजग भएकोसमेत पाइएको छ ।”
नेपालमा बर्खायाममा झाडापखलाको महामारीका कारण गाउँ नै सखाप हुने अवस्था रहे पनि अहिले त्यस्तो समाचार खासै नसुनिएको खनालको भनाइ छ । बागलुङमा कोरोनाअघि धवलागिरि अस्पतालमा झाडापखाला र टाइफाइडका बिरामीको सङ्ख्या धेरै देखिने गरे पनि अहिले निकै कम सङ्ख्यामा आउने गरेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यसम्बन्धी सजगता, बासी, सडेगलेका खानेकुरा नखाने, नियमित हात धुने तथा मास्कको प्रयोगले खाना र हावाको माध्यमबाट सर्ने रोगमा कमी आउन थालेको छ । कोरोनाले दुई वर्षको अन्तरालमा नागरिकमा स्वास्थ्यसम्बन्धी चेतना बढेको र आफ्नो तथा परिवारको स्वास्थ्य सुरक्षा सचेततालाई जीवनशैली बनाउन थालेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौं बताउँछन् ।
उनका अनुसार स्वास्थ्य सचेतना बढ्दा स्वास्थ्यसम्बन्धी विभिन्न रोगमा कमी आउने अनुमान छ । जिल्लामा पहिलो कोरोनाको लहरमा एक हजार र दोस्रो लहरमा ७४० पुगेको सक्रिय सङ्क्रमणको दर घटेर जम्मा ७६ पुगेको र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।
कोरोना सङ्क्रमण दर कम भएसँगै जिल्लामा चहलपहल हुन थालेको छ भने लामो समयदेखि बन्द रहेका विद्यालय तथा पार्टी प्यालेस र धार्मिक क्षेत्र खुलासमेत गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

बागलुङमा ३६ प्रतिशत नागरिकलाई पूर्ण खोप
कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएयता जिल्लामा हालसम्म ३६ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले सार्वजानिक गरेको तथ्याङ्कानुसार जिल्लामा १८ वर्षमाथिका ३६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गरेका छन् । त्यसैगरी जिल्लामा हालसम्म ४२ प्रतिशत नागरिकले पहिलो डोज प्राप्त गरिसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म १८ वर्षमाथिका कक्षा ११ र १२ अध्ययन गर्ने दुई हजार ६६६ विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा कूल ६६ हजार ९९२ जनाले पहिलो डोज खोप लगाएका छन् भने ५६ हजार ७०८ नागरिकले पूर्ण खोप प्राप्त गरेको कार्यालय प्रमुख गुरौंले बताए ।
जिल्लामा अघिल्लो वर्षको तुलनामा प्रसूतिपश्चात हुने जाँच गर्ने महिलाको सङ्ख्या भने बढ्दै गएको छ । अघिल्लो वर्षदेखि सुत्केरीपश्चात स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रम सञ्चालन भएसँगै आव २०७६÷७७ मा ११ प्रतिशत रहेकामा गत आवमा १८ प्रतिशत पुगेको गुरौंले बताए ।

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार