देउवा एमालेसँग लचक हुँदा कांग्रेसमा ‘कोशी विद्रोह’को स्मरण

शुक्रबार, पुस २०, २०८०

काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई भाग दिन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लचक देखिएका छन् । तर इतर समूहका नेताहरु देउवाको लचकताप्रति रुष्ट छन् । इतर समूहका नेता डा।शेखर कोइराला एमालेलाई भाग दिन देउवा तयार भएपछि त्यसको विरोधमा छन् । कांग्रेस एक्लै लड्नुपर्नेमा शेखरको अडान छ । बिहीबार डा.शेखरले ट्वीट गर्दै सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको आलोचना गरेका छन् । ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’

डा.शेखरको उक्त अभिव्यक्तिले राष्ट्रिय सभामा सिट वाँडफाँटको विषय सत्ता गठबन्धनभित्र नभइ कांग्रेसभित्रै सहमति जुटाउन सकस हुने देखिएको छ । देउवाको लचकताप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि सन्तुष्ट छैनन् । राष्ट्रसभाका विषयमा उनीहरु मौन देखिपनि गठबन्धनका बैठकहरुमा महामन्त्रीलाई नबोलाएको र एकलौटी रुपमा छलफल भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । राष्ट्रिय सभाकै विषयमा विमती बढ्न थालेपछि सभापति देउवाले पुस २१ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका छन् । बैठकमा राष्ट्रिय सभाकै विषयमा छलफल हुने बताइएको छ ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच सिट वाँटफाँटको विषयमा छलफल हुन थालेपछि सभापति देउवा निकट केन्द्रीय सदस्य नैनसिंह महरले त्यसको आलोचना गरेका छन् । उनले लोकतन्त्र सत्ता र प्रतिपक्षी दल हुने भन्दै प्रतिपक्षविहीन व्यवस्था बनाउन खोजिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रिय सभामा सिटको भाग खोज्नु र सत्ता गठबन्धनका दलहरू भाग दिने पक्षमा सकारात्मक हुनु दुःखद भएको महरको भनाइ छ । वास्तवमा एमालेलाई भाग दिने विषयमा कांग्रेस नेताहरु सहमत देखिदैनन् । तर सभापति देउवा एमालेप्रति लचक भइसकेका छन् ।

सभापति देउवा र इतर पक्षका नेताहरुबीच दुरी बढ्न थालेपछि ‘कोशी विद्रोह’ स्मरण गर्न थालिएको छ ।  एमालेको शैलीप्रति असन्तुष्ट रहेका डा। शेखरले फेसबुकमा लेखेका छन्, ‘एमाले, एक–दुई सिटका लागि जे पनि हस् रु यदि यसो होइन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ?’ उनले लेखेका छन्, ‘संसदीय समितिका तीन सभापति र राष्ट्रियसभाका दुई÷तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्दामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण हो ।’

विशेषत एमालेलाई सिट बाँड्दा गठबन्धनका सबै दलको सिट घट्ने र कांग्रेसले क्षति व्यहोर्नुपर्ने भएकाले इतर पक्षका नेताहरु देउवाको लचकताप्रति सन्तोष मानिरहेका छैनन् । किनकी १० सिटको दाबी गरिरहेको कांग्रेसले सिट वाँडफाँट गर्दा इतर पक्षको पनि सिट घट्नेछ । जसको असर डा।शेखर समूहले व्यवहोर्नुपर्ने निश्चित छ ।

गत असोजको तेस्रो साता कोशी प्रदेशमा शेखर समूहका ८ सांसद र एमालेका ३९ सहितको हस्ताक्षर गरेर आफू निकटका केदार कार्कीलाई मुख्यमन्त्रीको कुर्सीमा पुर्याएका डा।शेखरले राष्ट्रिय सभा निर्वाचनमा पनि केही हलचल ल्याउन सक्ने अनुमान गरिन्छ । किनकी कार्की मुख्यमन्त्री नियुक्त भएपछि प्रचण्ड, देउवा र डा।कोइरालाबीच गठबन्धनलाई कायम राख्ने सहमति नै गर्नुपरेको थियो । शेखरले कोशीमा एमालेको सहयोगमा चालेको कदमले राष्ट्रिय सभामा काम गर्नसक्ने आकंलन गरिएपनि त्यो सहज भने छैन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार