नानिभाउको बिचल्ली

बिहीबार, कात्तिक ३०, २०८०

मुगु । मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडानम्बर-५ ढुमगाँउकी ४० वर्षिय नानीभाउ बि.कको शरीरको तल्लो भाग अपाङ्ग छ । जन्मजातै शरीरको तल्लो भाग अपाङ्ग रहेकी उनलाई गाउँमा सबैले फोहोरी अपाङ्ग भनेर हेप्ने गर्छन् । दिशा, पिसाव गर्न समेत समस्या भएपछि उनका बुबाले १० बर्ष पहिलानै गमगढी ताल्च सडकको छेउमा सानो टिनको टहरा बनाई राखेका छन् । अपाङ्ग भएकै कारण बोझ भई भनेर आफ्नै परिवारबाटअपहेलित हुनु परेको अपाङ्ग बिक बताउँछिन् । 
गाउँघरमा सबैले अपाङ्गी भनेर हेप्ने गरे पछि बुवाले अर्काको जमिनमा सानो टिनको टहरमा बनाएर राखेको भन्दै एक्लै बस्दा बिरामी हुँदा हिड्न, खान, बस्न, दाउरा पानी ल्याउन पनि निकै समस्या भएको उनको भनाई छ । 
उनले भनिन्, ‘म जन्मजातै अपाङ्ग भएको आमा बुवाले बताउँछन् । आमाको मृत्यु भई सक्यो, भाई बुहारी अलग बस्छन् र कहिले काहीँ सहयोग गरेपनि,बोझ भई भनेर हेप्छन्, गाउँघरमा सबैले अपाङ्गी भनेर हेप्ने गरे पछि बुवाले अर्काको जमिनमा  सानो टहरा बनाई दिएको १० बर्ष बित्यो, अहिले म ४० बर्ष पुगेंतर बिरामी हुँदा हिँड्न,खान, बस्न, दाउरा पानी ल्याउन पनि निकै समस्या हुन्छ ।’

IMG_77271700143877.JPG
हिउँदका दिनमा धेरै चिसो, बर्खामा हिलो र पानी टहरा भित्र आउने गरेको गुनासो गर्दै उनले थप भनिन्, सडकको छेउमा बास हुँदा गाडी, बसको धुवाँधुलोले स्वास्थ्यमा थप समस्या हुने गरेको छ । 
नानीभाउका बुबा धर्मसिंह कामीले आफैँलाई खान, लाउन समेत समस्या भएको कारण छोरीलाई केही गर्न नसकेको भन्दै सहयोगको लागि आग्रह गरेका छन् । 
उनले भने, ‘सडकको बास छ । कोठा भित्र धुवाँ, धुलो र पानी आउने गरेको छ । आमा छैन, म बुढेस कालको बुबामलाई आफैं खान छैन ,यहाँ छोरीको बिचल्ली छ कुनै मनकारी व्यक्तिले केहीगास, लत्ताकपडा र बासको सहयोग गरी दिन आग्रह गर्दछु ।’
चिसो लागेसँगै दाउरा लिन, पानी भर्न पनि समस्या हुँदा नानीभाउलाई कहिले काहीँ भोकै रात कटाउनु पर्ने बाध्यता रहेको उनका छिमेकीहरुको भनाई छ । 
सरकारले २०७२ सालमा जारी भएको संबिधानमा समानुपातिक, समावेशि, सहभागितामूलक सिद्धान्तका आधारमा विभेदरहितआर्थिक  समानता, समृद्घ र न्यायपूर्ण समाज निर्माण गर्ने संकल्पसहित संबिधानको धारा ३९ को उपधारा ९ मा ‘असहाय, अनाथ, अपांगताभएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।’ भनिएको र धारा ४२ को उपधारा ३ मा ‘अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहितमर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ ।’भनिएता पनि मुगुकी नानीभाउ जस्तै अपाङ्ग भएकै कारण नागरिकहरु बिचल्लीमा पर्ने गरेका छन् ।
नेपालको जनगणना २०७८ अनुसार मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा कुल जनसंख्या २४ हजार ५ सय २७जना रहेकोमा अपाङ्गता भएकाहरु ६ सय ३७ जना रहेका छन् । 
छाँयानाथ रारा नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायाकाअनुसार पालिकाभर अपाङ्गता भएका नागरिकहरुको पहिचानका लागि न्यायीक समितिले छुट्टै संयन्त्र बनाई काम गरिरहेको र अपाङ्गहरुको वर्गीकरण समेत गरिएको छ । 
उनले चुनाव पश्चात पालिकाभर एकपटक अपाङ्गता भएकाहरुलाई विभिन्न लत्ताकपडा तथा आवश्यक सामग्रीहरु वितरण गरिएको र नियमित रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दाबी गरेका छन् । 
नानीभाउ एक नमूना मात्र हुन्, देशभर राज्यका तीनै तहका नीतिनिर्माणकर्ताहरुले यस्ता धेरै नागरिकहरुलाई महत्वका साथ नहेरेको देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार