जब दुईजना वडाध्यक्ष एकैसाथ गोदावरी खोलामा उत्रिए......

बिहीबार, कात्तिक १६, २०८०

ललितपुर । काठमाडाैं र भक्तपुरको सीमाना जोडिएको ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ र ७ का अध्यक्ष ललितपुरको उत्तर पूर्व हुँदै बग्ने गोदावरी खोलाको किनारमा निर्माण गर्न लागिएको करिडोरको लागि एकैसाथ गोदावरी खोलामा उत्रिएका छन् । 
हाल बगिरहेको गोदावरी खोलाको सीमानालाई आधार मानी त्यसको दायाँबायाँ १०÷१० मिटर चौडाईको करिडोर बनाउन वडा नं ५ का अध्यक्ष कपिल केसी र वडा नं ७ का अध्यक्ष बाबुराजा महर्जन बुधबार गोदावरी खोलामा उत्रिएका हुन् । 
दुबै वडाध्यक्षहरु आआफ्नो वडाका अरु जनप्रतिनिधि र स्थानीय वासिन्दासँग छलफल गरी करिडोर निर्माण कार्य तत्काल अघि बढाउनका लागि वडाध्यक्षद्वय खोलामा उत्रेका थिए ।
महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष अधिवक्ता कपिल केसीका अनुसार भक्तपुर जिल्लाको बालकोट र ललितपुरको टिकाथली जोड्ने गोदावरी पुलको दक्षिणतर्फ हुँदै टिकाथलीदेखि लुभु पुलसम्म गोदावरी करिडोर निर्माण गर्न लागिएको हो । 
सो करिडोर निर्माण भएपछि १० मिनेटमै भक्तपुरको कौशलटारबाट गोदावरी खोलाको किनारै किनार लुभुसम्म पुग्न सकिन्छ ।
सो करिडोर निर्माणको लागि संघिय सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिको नाउँमा चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

kapill1698917525.jpg
तिहार लगत्तैदेखि गोदावरी खोलाको दायाँबायाँ (दुबै वडातर्फ) एकैसाथ करिडोर निर्माणको काम शुरु गर्नलागत इस्टिमेट तयार गर्न र सरकारद्वारा विनियोजित बजेट निकासका लागिअधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिसंग तत्काल पहल गरिने वडाध्यक्ष केसीले बताए । 
सरकारी मापदण्ड अनुसार हाल बगिरहेको गोदावरी खोलाको सीमानालाई आधार मानेर करिडोर निर्माण गर्दा १०÷१० मिटर चौडा क्षेत्रफल भित्र पर्ने जुनसुकै अस्थायी या स्थायी संरचना भत्काउने र अन्य विवाद भएमा दुवै वडाका जनप्रतिनिधिले मिलाउने पनि वडाध्यक्ष केसीले बताए । 

kaapil1698917523.jpg
अध्यक्ष केसीका अनुसार करिडोर निर्माण भएर कुनै ठाउँमा पर्ति या सार्वजनिक जग्गा बाँकी रहेमा सो ठाउँमा वडा कार्यालयले सार्वजनिक पार्क बनाउन सक्नेछ । 
करिडोर निर्माणको छलफल कार्यक्रममा वडा नं ५ का वडा सदस्य निरोज महर्जन र वडा नं ७ का सलस्य विराट सिलवालको साथै दुवै वडाका वासिन्दा र प्राविधिक समेतको सहभागिता थियो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार