कोदोबाट बनेको स्थानीय मदिराको ब्रान्डिङ गर्ने पालिकाको तयारी

बुधबार, कात्तिक १५, २०८०

विराटनगर । तेह्रथुमको छथर गाउँपालिकाले कोदोबाट बनेको रक्सीको ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि कानून बनाएर ब्राण्डिङ गर्ने तयारी उक्त पालिकाले सुरु गरेको छ ।

कोदोबाट बनेको स्थानीय रक्सीको उत्पादन, ब्राण्डिङ र बजारीकरणका लागि कानुन बनाउने काम भइरहेको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताएका छन् ।

गाउँपालिकाले आफ्नो वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा कोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम समेटेको थियो ।

कोशी प्रदेश सरकारले यसअघि घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण र प्रवर्द्धनका लागि योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको थियो । 

कार्यदललाई नेपाली मौलिक कौशल प्रयोग गर्दै कोदोबाट घरेलु मदिरा उत्पादन र उपभोग भइरहेकोले त्यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गर्नेबारे अध्ययन गरेर सुझाव पेस गर्ने जिम्मेवारी दिइएको थियो ।

कोदोको खेती, उत्पादन र त्यसबाट बन्ने घरेलु मदिराको उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ र बजारीकरण अवस्था लगायतका विषयमा गाउँपालिकाले अध्ययन गरिरहेको अध्यक्ष लिम्बुको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार