कोसीमा मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, विपक्षमा राप्रपा

बुधबार, कात्तिक १, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।‌ प्रदेशसभाको बुधबार बसेको बैठकबाट कार्कीले विश्वासको मत प्राप्त गरेका हुन् ।
कार्कीले पक्षमा ८६ मत प्राप्त गरे ।‌ मत विभाजनमा ९१ सांसद उपस्थित थिए । राप्रपकाका सांसदले भने कार्कीको पक्षमा मत दिएनन् ।‌
कार्कीलाई नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का सांसदले पक्षमा मतदान गरे । बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गरेकी थिइन् ।‌

कोसी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव पेस गर्दै कार्कीले प्रदेशको जटिल राजनीतिक अवस्थाबीच आफूले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको बताए । 
उनले भने, “मध्यावधि निर्वाचन रोक्न र प्रदेशमा स्थिरता कायम गराउन सरकारको प्रमुख भूमिका रहने छ । हामी त्यसमा सक्रिय हुनेछौँ ।”
कार्कीले प्रदेशको विषयमा उठेका आशा र प्रश्नहरुको उचित सम्बोधन गर्न प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।
कार्कीले संघीयता कार्यान्वयन र प्रदेशको संस्थागत विकासको कार्यभार पूरा गर्ने चुनौती रहेको बताए । उनले भने, “गणतन्त्रको संस्थागत विकासको लागि नयाँ संकल्प गर्नुपरेको छ ।”
कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।‌ कार्कीलाई सरकार गठनमा एमालेका ३९ र कांग्रेसका आठ सांसदले समर्थन गरेका थिए ।
कांग्रेसका उद्धव थापाले भदौ ४ गते मुख्यमन्त्रीमा विश्वासको मत लिँदा सभाध्यक्ष समेतको मतगणना गरेपछि त्यो प्रक्रियालाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । सर्वोच्चको परमादेशपछि एमालेका हिक्मत कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमालेका कार्कीले असोज २० गते राजीनामा दिएका थिए ।‌ त्यसपछि, उपधारा ५ बमोजिम सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।‌

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार