कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई एमालेले विश्वासको मत दिने, राप्रपाले नदिने

बुधबार, कात्तिक १, २०८०

विराटनगर । आफ्नो समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका नेता केदार कार्कीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । राप्रपा भने विपक्षमा बस्ने भएको छ ।
कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने विषयमा छलफल भइरहेको छ । 
एमालेको कोशी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । 
प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पार्टीको धारणा प्रस्तुत गर्ने र कार्कीलाई विश्वासको मत दिइने उनले बताए ।
कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा गत शनिवार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 
यस्तै, नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि कार्कीलाई विश्वासको मत दिने जनाइसकेका छन् ।
राप्रपाले भने कार्कीलाई विश्वासको मत नदिने भएको छ । उसले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएको छ ।
राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाका अनुसार प्रदेश सभामा विपक्षी पनि चाहिने भएकाले आफूहरु विपक्षमा बस्ने बताए ।

मुख्यमन्त्रीले विश्वासको मत लिँदै 

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी सुरु भएको छ । 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।

Kedar karki_ CM_ Koshi (1)1697620215.jpg
माओवादीलाई सरकारको नेतृत्व दिने गठबन्धनका शीर्ष नेताहरूको सहमतिप्रति असन्तुष्टि जनाउँदै ‘विद्रोह’ गरी शेखर कोइराला समूहका कार्की एमालेको सहयोगमा मुुख्यमन्त्री बनेका हुन् ।
कार्कीले नेकपा एमालेका रामबहादुर राना र कांग्रेसका शमशेर राईलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएका छन् । 
प्रदेशमा ६ सिट रहेको राप्रपाले भने सरकारलाई विश्वासको मत नदिने र आफू प्रमुख प्रतिपक्षी भएर बस्ने जनाएको छ ।
कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ तथा जनता समाजवादी पार्टी, जसपाका एकजना सांसद छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार