संविधानको भावनाअनुसार प्रदेश विकासको काम गर्छु : मुख्यमन्त्री कार्की

बुधबार, कात्तिक १, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको भावनाअनुसार आफूले सबैको सहयोगमा प्रदेशको विकासका लागि काम गर्ने बताएका छन् ।

कोशी प्रदेशसभामा बुधबार सांसदहरुसँग विश्वासको मत माग्दै बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

जनता आन्दोलनको भावनाअनुसार, सशस्त्र युद्ध, मधेश आन्दोलनको भावना अनुसार जनताको अधिकार स्थापित गर्ने र जनतालाई दरिद्रताबाट मुक्ति दिन शिक्षा, समानता र राज्यको हरेक निकायमा जनताको पहुँच पुर्याउनका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

आफूलाई प्राप्त सांसदहरुको विश्वासलाई ध्यानमा राखेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रदेशको आर्थिक विकासको दायित्व आफूहरुमा आएको भन्दै कार्कीले सुशासन कायम गर्दै  प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने जिम्मेवारी पूरा गर्ने बताए । सांसदहरुले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने प्रतिबद्धता जनाएको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार