काठमाडौं महानगरका ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना हुँदै

चिकित्सकसहित ११ जनशक्तिद्वारा सेवा दिइने 
बुधबार, कात्तिक १, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन  केन्द्रबाट महानगरबासीलाई स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरका बासिन्दाहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने मुख्य लक्ष्यमा साथ ती स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाइएको हो । काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेलका अनुसार २४ केन्द्र बनिसकेका छन् भने अरु बन्न बाँकी छ । 
नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवा ग्यारेन्टी गर्ने प्रमुख लक्ष्यका साथ यसप्रकारको स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट आधारभुत ल्याबसम्बन्धी सबै प्रकारका सेवा, फिजियोथेरापीसम्बन्धी सबै प्रकारका सेवा, आधारभूत स्वास्थ्य परीक्षणसम्बन्धी सबै सुविधा, मातृ शिशु तथा परिवार कल्याणसम्बन्धी सबै सुविधा, आधारभूत एक्सरे सेवा,  साथै चिकित्सकसहितको ओपीडीसम्बन्धि सबै प्रकारका सेवा पाइनेछ ।  
२४ स्वास्थ्य प्रवर्द्धन  केन्द्र बनिसकेको भएपनि  हाल ८ वटा मात्रै सञ्चालनमा छन्। जनशक्ति, औषधि तथा औजार खरिदको प्रक्रिया सुर भएकोले २४ वटै केन्द्रबाट सेवा दिनका लागि अझै ३–४ महिना समय लाग्नसक्ने पौडेलले बताए। 
स्वास्थ्य प्रवर्द्धन  केन्द्रमा मेडिकल अफिसरसहित ११ जना जनशक्ति हुने उनले बताए ।  जसमा, मेडिकल अधिकृत, ल्याब टेक्निसियन,फिजियो टेक्नििसियन, रेडियो ग्राफर,स्टाफ नर्स २  लगायतका जनशक्तिले सेवा दिनेछन् । 

कहाँ–कहाँ बन्यो स्वास्थ्य प्रवर्द्धन केन्द्र ?
सत्य साई स्वास्थ्य प्रवर्द्धन केन्द्र नक्साल, वडा नं २ कार्यालय, लाजिम्पाट, महाराजगञ्ज, हाँडीगाउँ, रामहिटी दमकल, बौद्ध, मैजुबहाल, जयबागेश्वरी,गौशाला साविकको ९ नं वडामा केन्द्र संचालनमा छन्। यसैगरी  लाखेचौर, बबरमहल, टेकु पचली वडा कार्यालय १२, गणेश मन्दिर कुलेश्वर, बालाजु नयाँबजार, छत्रपाटी निःशुल्क चिकित्सालय, नरदेवी वडासँगै, कंकेश्वरी, भिमसेनस्थान, लगन, सुन्धारा, वडा कार्यालय लैनचौर,लुनिभा क्लब इनबहाल, बागबजार,ज्ञानेश्वर, भिनसेनगोला लगायतका स्थानका स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माण कार्य सम्पन्न भइसकेको छ। 

कसरी आयो अवधारणा ?
पूर्व स्वास्थ्यमन्त्री  गगनकुमार थापाले  नेपालमा पहिलोपटक काठमाडौं महानगरपालिका–३० मा  शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन ल्याएका थिए। उनले आफू स्वास्थ्यमन्त्री हुँदा श्रीलंका भ्रमणका क्रमा त्यहाँका जनताहरुले स्वास्थ्य प्रवर्द्धन केन्द्र मार्फत् सेवा पाएको देखेपछि नेपालमा पनि शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको योजना ल्याएका थिए ।
उनकै योजनामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनको निर्देशिका तयार पारिएको थियो । त्यतिबेला नै काठमाडौं महानगरपालिकासँग सम्झौता गरी काठमाडौंको १० स्थान र  बूढानीलकण्ठमा केन्द्र स्थापनाका लागि सम्झौता पनि भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार